पानी मनकी रानी
सरस्वती सानैदेखि कविता लेख्थिन्, गीत लेख्थिन्, कथा लेख्थिन् । विद्यालय पढ्दाका साथीहरूलाई देखाउँथिन्, सुनाउँथिन् । ‘उः कवयित्री’ भनेर साथीहरू जिस्क्याउँथे । तर उनी प्रकाशनतिर लागिनन् । लेखिन् र थुपारिन् मात्रै । कुन–कुन विधामा कति–कति लेखिन् र थुपारिन्, उनैलाई थाहा भएन । कुनै दिन साँच्चैकी कवयित्रीका रूपमा प्रस्तुत हुन पाउँला भन्ने उनलाई लागेकै थिएन । आफूभित्रको प्रतिभा थाहा पाउन नसकेका, आफ्नो क्षमतालाई पत्याउन नसकेका र आफ्नो गुण चिन्न नसकेका प्रतिभाशाली अधिकांश नेपालीजस्तै उनी पनि आफैँ सुवासित पुष्प बनेर सुवास खोज्दै हिँडिन् । शब्दयात्रा प्रकाशनसँग उनको सम्पर्क भएपछि यस संस्थाले उनलाई उनैसँग चिनाइदियो । त्यसपछि उनले दुईवटा कापी उपलब्ध गराइन् । यो सङ्ग्रह तिनै दुई कापीको उतार हो ।