पुराना पत्रकार बलदेव थापाले शब्दसाधक अतिथिगृहमा बसेर लेख्नुभएको पहिलो पुस्तक ‘कुराको सास्ती’ (व्यङ्ग्यकवितासङ्ग्रह) लाई २०८२ जेठ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा कृतिकार र उहाँका नाति उमङ्गदेव थापाले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।
‘कुराको सास्ती’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २५३ औँ पुस्तक हो । यसमा ३८ वटा कविता र २८ वटा मुक्तक छन् । यी कविता र मुक्तकहरूमा देशको अवस्थामाथि संवेदनशील नागरिकको चिन्ता प्रकट भएको छ । राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा देखापरेका अनेक प्रकारका विकृति र विसङ्गतिहरूलाई उहाँले यस सङ्ग्रहमा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति, विद्युत, मानवीय प्रवृत्ति आदिजस्ता विषयहरू पनि यस सङ्ग्रहभित्रका कवितामा व्यङ्ग्यका वस्तु बनेका छन् । यसमा लेख्य भाषामा भन्दा कथ्य भाषामा बढी जोड दिइएको छ । कविताहरू छोटा–छोटा छन् । मुक्तकहरू चाहिँ छ हरफका छन् ।
कुराको सास्ती सार्वजनिक