विशेष योजनाका साथ शब्दयात्रा प्रकाशनलाई अस्तित्वमा ल्याएको यो जेठ महिनामा ११ वर्ष पूरा भएको छ । यस संस्थामार्फत गर्न खोजिएको काम ‘शब्दकलाका नायक’ पुस्तकमा लेखिएको छ । यस अवधिमा के–के काम गरिएछ भनेर हेर्दा — (क) गीता मञ्जुश्री अधिकारीको घरको भुइँतला कार्यालयका लागि ३ वर्षसम्म निःशुल्क प्रयोग गरिएछ । (ख) नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशकत्व रामचन्द्र हुमागाईंबाट निःशुल्क प्राप्त गरिएछ । (ग) रश्मि मञ्जुश्री अधिकारीबाट अक्षरधाम साहित्यिक पत्रिका प्राप्त गरिएछ । (घ) कृष्णमणि कुइँकेलबाट बनेपामा ५ आना जग्गा दानस्वरूप प्राप्त गरिएछ । (ङ) कृष्णमणि कुइँकेलकै सौजन्यबाट नीलकण्ठेश्वरधाम संरक्षण समितिको घर कार्यालयका लागि निःशुल्क प्राप्त गरिएछ । (च) हरिगोपाल प्रधान र अन्य विभिन्न सहयोगीहरूबाट आर्थिक सहयोग तथा कार्यालयका सामग्रीहरू प्राप्त गरिएछ । (छ) अक्षयकोषमा २५ लाख रुपियाँ जम्मा गर्न सकिएछ । (ज) किरीट, अभिवन्दनापत्र र नगदसहित १ सय ७२ जनालाई सम्मान गरिएछ । (झ) अतिरिक्त सम्मान ४ जनालाई समर्पण गरिएछ । (ञ) विभिन्न क्षेत्रका ८ जनालाई पुरस्कृत गरिएछ । (ट) काभ्रेपलान्चोक जिल्लाका १८ जना सक्रिय पत्रकारलाई कदरपत्र प्रदान गरिएछ । (ठ) छात्रवृत्ति दिएर ४ जना छात्रछात्रालाई पढाइएछ । (ड) विभिन्न व्यक्तिका ६ वटा सालिक स्थापना गरिएछ । (ढ) बुद्ध मानन्धरको सहयोगमा शब्दयात्रा स्तम्भ बनाइएछ । (ण) करिब १० हजार पुस्तक भएको पुस्तकालयको स्थापना गरिएछ । (त) भरत जङ्गम, हिरण्यकुमारी पाठक र नवीना श्रेष्ठको सहयोगमा सरस्वतीको मन्दिर बनाइएछ । (थ) वर्षको १६ वटाभन्दा बढीका दरले १८० वटा पुस्तक प्रकाशन गरिएछ । (द) आजीवन सदस्य ३६ जना भएछौँ । (ध) विभिन्न साहित्यिक कार्यक्रम, निःशुल्क स्वास्थ्यशिविर र अन्य शिविरहरू सञ्चालन गरिएछ । (न) विचारप्रधान साप्ताहिक पत्रिका र मासिक साहित्यिक पत्रिका प्रकाशन गरिएछ । (प) शिव बन्जाराले निःशुल्क कार्यक्रम उत्पादन गरिदिएकाले ५ वर्षसम्म रेडियो कार्यक्रम चलाइएछ । (फ) डा. भास्कर हुमागाईंबाट वेबसाइटका लागि निःशुल्क सर्भर प्राप्त गरिएछ । (ब) सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीको सहयोग लिई सर्जक र सिर्जनालाई विश्वभरि फैलाउन सकिएछ । (भ) कार्यक्रममा किरीट, पट्ट आदिको प्रयोगजस्ता नयाँ–नयाँ शैलीहरू थप्न सकिएछ । (म) सावित्री जङ्गम थापाबाट गृहनिर्माणको कार्य प्रारम्भ गरिएपछि सकुल थापा, हरिगोपाल प्रधान, कृष्णमणि कुइँकेल आदिको सहयोगमा तीनतले भवन निर्माण हुँदै गरेको छ । यी सबै कामहरू सरकारी निकाय र विदेशीसँग आर्थिक सहयोग नलिईकन नेपाली दाताहरूको विश्वास जितेर गरिएका हुन्, सामूहिक शक्ति लगाइएकाले भएका हुन् । शब्दयात्रा प्रकाशनलाई स्नेह गरेर आआफ्ना तर्फबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुभएका सबैप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।