सावित्री जङ्गम थापा
भक्तपुरमा २००१ सालमा जन्मिएर स्नातकोत्तर तहसम्मको शिक्षा पूरा गरी पाँच दशकभन्दा बढी समय सामाजिक क्षेत्रमा योगदान गर्नुभएकी सावित्री जङ्गम थापा लेखन क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । २१ वर्ष नपुग्दै स्नातकोत्तर पूरा गरेकाले सानो उमेरमा विद्यावारिधि गर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबाट अनुमति नपाएपछि पढाइ रोकेर नेपाल रेडक्रस सोसाइटीमा संलग्न हुनुभएकी उहाँले १२ वर्षसम्म नेपालस्थित तिब्बती शरणार्थीहरूको इन्चार्जका रूपमा काम गर्नुभयो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, समाज कल्याण परिषद्, विभिन्न वृद्धाश्रमहरू, महिला तथा विकास केन्द्र तथा महिला सुरक्षा दबाब समूह उहाँकै सक्रियतामा खुलेका हुन् । उहाँ ‘साझा’ नामक संस्थाको सदस्य सचिव र महाप्रबन्धक हुनुभएको थियो । उहाँ नेपालको प्रथम महिला महाप्रबन्धक हुनुहुन्छ ।
नरेन्द्रबहादुर श्रेष्ठ
काठमाडौँको यटखामा २००४ साल असोज ९ गते जन्मिनुभएका र ५ दशकभन्दा बढी समयसम्म चित्रकला, साहित्य र व्यापार–व्यवसायमा आबद्ध हुनुभएका नरेन्द्रबहादुर श्रेष्ठ नेपालका एक मात्र जराकलाकार हुनुहुन्छ । विद्यालयमा अध्ययन गर्दागर्दै २०१८ सालमा ‘झर्ना’ कविता छपाएर आफ्नो सिर्जनात्मक क्षमता देखाउन थाल्नुभएका उहाँले रूखका जराबाट कलाकृति सिर्जना गरेर नेपालमा जराकलाको बीजारोपण गर्नुभएको छ । उहाँद्वारा निर्मित जराकलाकृतिहरूको प्रदर्शनी पनि भइसकेको छ र त्यसका बारेमा विभिन्न पत्रिकाहरूमा लेखिएको पनि छ । उहाँका जराकलाकृति हेरेर विभिन्न कवि–कवयित्रीहरूले कविता लेखेका छन् । १५० भन्दा बढी सङ्ख्याका पुस्तकमा आवरण चित्र बनाउनुभएका उहाँले विभिन्न पुस्तक–पत्रिकाहरूको लेखन, सम्पादन तथा अनुवाद गर्नुभएको छ ।
द्रोणप्रसाद श्रेष्ठ
भोजपुरको देउराली मुन्डाघरमा लक्ष्मीदेवी श्रेष्ठ र चण्डिप्रसाद श्रेष्ठका जेठा छोराका रूपमा १९९६ साल मङ्सिरमा जन्मनुभएका र तीन दशकभन्दा बढी सरकारी सेवामा संलग्न हुनुभएका द्रोणप्रसाद श्रेष्ठले राजनीतिशास्त्रमा स्नातकोतर, कानुनमा स्नातक र डेभलपमेन्ट प्लानिङमा प्रोस्टग्राजुएट डिप्लोमा गर्नुभएको छ । उहाँका प्रकाशित कृतिहरू ‘नेपालमा निजामती प्रशासन ः एक परिचय’ (संयुक्त रूपमा), ‘मेरो सम्झनामा चन्द्रलाल श्रेष्ठ’, ‘मेरा पिता र म’, ‘चण्डिप्रसाद परिक्रमा’ (सम्पादन), ‘रचनापछिका विवेचना’ (सम्पादन) र ‘केही दृष्टि केही दृष्टिकोण’ (निबन्धसङ्ग्रह) हुन् । ‘नेपालभूमि’ लगायतका विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित गराउनुभएका उहाँले आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरी ‘शब्दयात्रा महिला प्रतिभा सम्मान’ को आर्थिक व्यवस्थापन गर्नुभएको छ ।
नरेन्द्रकुमार अधिकारी
नरेन्द्रकुमार अधिकारी हाल कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । उहाँ झापा जिल्लाको विर्तामोडमा बसोवास गर्नुहुन्छ । झापा जिल्लामा दर्ता भएको कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानले उहाँकै सक्रियतामा छोटो अवधिमा नै साढे ५ दर्जन जिल्लाहरूमा शाखा विस्तार गरिसकेको छ र उक्त संस्थामा हजारौँ सङ्ख्यामा कश्यपगोत्रीय अधिकारीहरू सङ्गठित भएका छन् । । नेपालभरि छरिएर रहेका कश्यपगोत्रीय अधिकारी बन्धुहरूको विवरण सङ्गलन गर्न उहाँले आफ्नै खर्चमा नेपालको भ्रमण गर्नुभएको थियो । उहाँले मेचीदेखि महाकालीसम्म भ्रमण गरेर १ हजारभन्दा बढी पृष्ठको कश्यपगोत्रीय अधिकारी वंशावली तयार पार्नुभएको छ । उहाँकै सङ्कलन तथा सम्पादनमा अधिकारी वंशावली प्रकाशित भएको हो ।
सुभाष स्मृति प्रतिष्ठान
युवा राष्ट्रसेवक सुभाष खड्काको स्मृति र सम्मानमा काठमाडौँमा स्थापना भई काभ्रेपलाञ्चोक जिल्लालाई कार्यक्षेत्र बनाएको सुभाष स्मृति प्रतिष्ठानले अध्यक्ष चन्द्रबहादुर खड्काको नेतृत्वमा शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना जस्ता क्षेत्रमा काम गर्दै आएको छ । समाजमा उत्कृष्ट योगदान गर्ने विकासप्रेमी व्यक्ति तथा संस्थालाई सम्मान गर्ने, पुस्तक–पत्रिका प्रकाशन गर्ने, हरेक वर्ष विपन्न तर जेहेन्दार १०–१० जना विद्यार्थीलाई छात्रवृत्ति दिने, विशेष स्वास्थ्यशिविर सञ्चालन गर्ने, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक कृत्रिम हातखुट्टा वितरण गर्ने, विकट बस्तीका लागि स्ट्रेचर बाँड्ने, सीपमूलक तालिम दिने आदिलगायतका समाजोपयोगी काम गरिरहेको यस प्रतिष्ठानले नेपालका मौलिक लोकसंस्कृतिका बालन नृत्य, खैँजडी भजन आदिको संरक्षणमा पनि काम गरिरहेको छ ।
रामप्रसाद अधिकारी
काभ्रेपलाञ्चोक जिल्लाको मङ्गलटार छापमा २००७ साल असोज १० गते जन्मिनुभएका र चार दशकभन्दा बढी समयसम्म सरकारी–सामुदायिक विद्यालयहरूमा शिक्षण सेवा गर्नुभएका रामप्रसाद अधिकारीले नेपालको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएको छ । अध्ययन गर्दागर्दै १७ वर्षको उमेरमा शिक्षकमा नियुक्ति पाउनुभएका रामप्रसाद अधिकारीले विभिन्न विद्यालयको भौतिक संरचना निर्माण गर्न र विद्यार्थीहरूको शैक्षिक गुणस्तर उकास्नका लागि पनि ठूलो योगदान गर्नुभएको छ । शिक्षकहरूको हकहितका लागि सधैँ सङ्घर्षरत उहाँले ६० वर्षे उमेरको हदबाट सेवानिवृत्त भइसकेपछि पनि २०६७ सालयता काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, धुलिखेल क्याम्पसका सल्लाहकार एवं नैमिषारण्य संस्कृत गुरुकुलम्का अध्यक्ष रहेरसमेत शिक्षासेवा गरिरहनुभएको छ ।