आफूले आर्जन गरेको सबै सम्पत्ति समर्पण गरेर दुई दशकअघि चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ मा ‘असहाय बृद्ध कल्याण समाज’ खोल्नुभएकी तथा शारीरिक रूपमा अशक्त र ९१ वर्षकी बृद्धा भएर पनि १३ जना बृद्धबृद्धाको पालनपोषण र सेवा गरिरहेर समाजसेवाका क्षेत्रमा अरूका लागि प्रेरणाको अजस्र स्रोत बन्नुभएकी नीरकला शर्मा अधिकारी (चितवन) लाई ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान, २०८१’ समर्पण गरिएको छ । उहाँको प्रतिनिधिका रूपमा उपस्थित निर्मला कार्कीलाई पदम दाहालले माला, रोमा न्यौपानेले उपहार, बेलप्रसाद श्रेष्ठले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था प्रसिद्ध समाजसेवी बेलप्रसाद श्रेष्ठ (काभ्रेपलान्चोक) ले गर्नुभएको हो ।