आआफ्ना विधाबाट योगदान गर्नुभएका आठजना विशिष्ट साधकलाई शब्दयात्रा प्रकाशनले विभिन्न सम्मान समर्पण गरेको छ ।
सम्मान समर्पण समारोहमा ज्योतिष शिरोमणि अधिवक्ता प्रा. डा. बलराम उपाध्याय रेग्मी (पर्वत) लाई ‘शब्दयात्रा काशीनाथ मायादेवी राष्ट्रझङ्कार सम्मान’ समर्पण गरियो । उहाँलाई माला र उपहार कोष व्यवस्थापक आध्यात्मिक लेखक कृष्णहरि मैनालीले, किरीट हरि मञ्जुश्रीले र अभिवन्दनापत्र साहित्यकार लीलादेवी श्रेष्ठले समर्पण गर्नुभएको थियो । समारोहमा साहित्यकार जलेश्वरी श्रेष्ठ (काठमाडौँ) लाई कोष व्यवस्थापक द्रोणप्रसाद श्रेष्ठका तर्फबाट शारदाप्रसाद श्रेष्ठले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र प्रा. डा. बलराम उपाध्याय रेग्मीले अभिवन्दनापत्रका साथमा मनका श्रेष्ठको स्मृतिमा स्थापित ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ समर्पण गर्नुभएको थियो । यसै गरी आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल (दोलखा) लाई ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक लेखक सम्मान’ समर्पण गरियो । कोष व्यवस्थापक गीता अधिकारीका तर्फबाट लोकेन्द्र ढकालले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र जलेश्वरी श्रेष्ठले अभिवन्दनापत्र उहाँमा समर्पण गर्नुभएको थियो ।
उक्त समारोहमा आध्यात्मिक स्तम्भकार तथा लेखक महेश्वर खनाल (काठमाडौँ) मा कोष व्यवस्थापक सुदर्शन आचार्यका तर्फबाट कृष्णमणि कुइकेलले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र ढुण्डिराज पोखरेलले अभिवन्दनापत्र हस्तान्तरण गरी ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ समर्पण गरियो । ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ जीवन विज्ञान (काभ्रेपलाञ्चोक) नामक आध्यात्मिक संस्थामा समर्पण गरियो । संस्थाको प्रतिनिधिका रूपमा उपस्थित मीरा पौडेललाई कृष्णमणि कुइकेलले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र महेश्वर खनालले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । यसै गरी कोष व्यवस्थापक हरिगोपाल प्रधानले माला र उपहार, हरि मञ्जुश्रीले किरीट तथा मीरा पौडेलले अभिवन्दनापत्रका साथमा फोटो पत्रकार सागर श्रेष्ठ (सिन्धुपाल्चोक) मा ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ समर्पण गरिएको थियो ।
समारोहमा उपस्थित हुन नसक्नुभएका अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) हाल अमेरिकामा रहनुभएकाले उहाँ फर्किएपछि उहाँको घरैमा लगी समर्पण गर्ने गरी उहाँमा समर्पण गरिने ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ को अभिवन्दनापत्र, किरीट, रुद्राक्षमाला, उपहार आदि सामग्री उहाँका तर्फबाट लेखक सकुल थापाले ग्रहण गर्नुभएको थियो । उल्लिखित सम्मान सामग्रीहरू कोष व्यवस्थापक सुनील सापकोटाका तर्फबाट शिक्षासेवी पूर्णबहादुर कर्माचार्यले समर्पण गर्नुभएको थियो ।
यसै गरी समारोहमा उपस्थित हुन नसक्नुभएका स्तम्भकार नगेन्द्रप्रसाद आचार्य (कालिकोट) को घरैमा लगी समर्पण गर्ने गरी उहाँमा समर्पण गरिने ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ को अभिवन्दनापत्र, किरीट, रुद्राक्षमाला, उपहार आदि सामग्री उहाँका तर्फबाट उहाँका भाइ लक्ष्मीप्रसाद आचार्यले ग्रहण गर्नुभएको थियो । उल्लिखित सम्मान सामग्रीहरू कोष व्यवस्थापक हरिगोपाल प्रधानले समर्पण गर्नुभएको थियो ।
समारोहमा सम्मान्य व्यक्तित्व चयन समितिका संयोजक पूर्वप्रशासक तथा लेखक चन्द्रबहादुर खड्काले सम्मानित व्यक्तित्वहरूको चिनारी गराउनुभएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८२ असोज ११ गते शनिबार आयोजना गरिएको थियो ।