पूर्वन्यायाधीश मोहनमणि दाहालद्वारा लिखित ‘विगतमाथि आलेख (संस्मरणात्मक लेखसङ्ग्रह)’ र लेखक केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘गोत्रदर्पण (प्रवरसहितको गोत्रावली)’ नामक दुई पुस्तकलाई आज २०७९ साल फागुन २४ गते बुधबार शब्दयात्रा प्रकाशनको आयोजनामा कार्यक्रम गरी सार्वजनिक गरियो । शिक्षासेवी, लेखक तथा समाजसेवी चन्द्रबहादुर खड्काको सभापतित्व, भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमको प्रमुख आतिथ्य र लेखक डा. बालचन्द्र मिश्रको आतिथ्यमा सम्पन्न आजको कार्यक्रम भक्तपुरको बालकोटमा आयोजना गरिएको थियो । ‘विगतमाथि आलेख’ लाई भरत जङ्गम, मोहनमणि दाहाल र उहाँकी धर्मपत्नी रुक्मिणी दाहालले तथा ‘गोत्रदर्पण’ लाई भरत जङ्गम, डा. बालचन्द्र मिश्र र केदारनाथ तिमल्सिनाले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । कृतिकारहरूको चिनारी पदम दाहालले र कृतिको परिचय जयनारायण नेपालले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीबाट गरिएको थियो । कार्यक्रमको दिन कृतिकार मोहनमणि दाहालको ८६ औं जन्मदिवस पनि भएकाले उहाँलाई शब्दयात्रा प्रकाशनका तर्फबाट डा. इन्दुल केसीले रुद्राक्षमाला, सुनील सापकोटाले पुस्तक तथा शिव बन्जाराले शुभकामनापत्र समर्पण गर्नुभयो भने गीता अधिकारीले रुक्मिणी दाहाललाई उपहार समर्पण गर्नुभयो । प्रजापति तिमिल्सिनाले स्वस्तिवाचन, दामोदर घिमिरेले ब्राह्मणपूजन, योगेन्द्रमणि दाहालले स्वागत मन्तव्य र सुशीला दाहालले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा सङ्गीता केसीले सामग्री व्यवस्थापन र प्रकृति प्याकुरेलले छायाङ्कन तथा स्वराङ्कन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका तर्फबाट प्रमुख अतिथि र अतिथिलाई शकुन्तला बन्जाराले उपहार समर्पण गर्नुभएको उक्त कार्यक्रममा डा. शिशिर बन्जाराले कविता प्रस्तुत गर्नुभएको थियो । यी दुई पुस्तकसहित शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या २ सय पुगेको छ ।