शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसी (भोजपुर) लाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गरेको छ । शिक्षण पेशामा आबद्ध रहँदारहँदै पनि नेपाली वाङ्मयको उत्थान गर्ने क्रममा ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’, ‘पाहुर’ जस्ता लघुकथासङ्ग्रहहरूका माध्यमबाट लघुकथा विधामा योगदान दिनुभएकोमा उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, शब्दयात्रा पट्ट, अभिवन्दनापत्र र ५ हजार ५ रुपियाँ भेटीसहितको उक्त पुरस्कार समर्पण गरिएको हो ।
साहित्यकार अम्बिका धितालद्वारा पितामाताको स्मृति र सम्मानमा व्यवस्थापित यो पुरस्कार मङ्सिर २७ गते शनिबार पहिलोपटक समर्पण गरिएको हो ।
पुरस्कार समर्पण गर्न आयोजित समारोहमा समुपस्थित सम्पूर्ण सहभागीहरूका तर्फबाट पुरस्कृत व्यक्तित्व लता केसीको वाङ्मयिक कीर्तिपताका निरन्तर फैलिरहोस् भनी शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित सम्पूर्ण देवीदेवता र पितृहरूसँग प्रार्थना गरिएको बेहोरा अभिवन्दनापत्रमा उल्लेख छ । अभिवन्दनापत्रमा पुरस्कार कोषका व्यवस्थापक अम्बिका धिताल, चयन समितिका सदस्य निर्मला श्रेष्ठ र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको हस्तखत रहेको छ ।
पुरस्कार समर्पण गर्ने क्रममा कृष्णमणि कुइकेलले माला, निर्मला श्रेष्ठले उपहार, कालिका त्रिपाठी पन्तले शब्दयात्रा पट्ट, अम्बिका धितालले भेटी र हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।