विभिन्न जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कार समर्पण गर्ने क्रममा शब्दयात्रा प्रकाशनले रसुवा जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कृत गर्ने व्यवस्था पनि मिलाएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ राखिएको छ । यो पुरस्कार रसुवा जिल्लामा जन्मेर वा रसुवा जिल्लालाई कार्यक्षेत्र बनाएर वाङ्मयका कुनै पनि विधाबाट राष्ट्रिय स्तरको योगदान गर्ने व्यक्ति वा संस्थालाई हरेक वर्ष समर्पण गरिनेछ । पुरस्कारको राशी २५ हजार रुपियाँ रहनेछ । पहिलोपटक यो पुरस्कार यही वर्षको माघ महिनामा समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ५ बनुवामा जन्म भई रसुवा जिल्लाको प्रथम विद्यावारिधि उपाधिप्राप्त गणितज्ञका रूपमा सुपरिचित व्यक्तित्व काठमाडौँ विश्वविद्यालयमा कार्यरत एसोसिएट प्रोफेसर डा. सरस्वती आचार्यले गर्नुहुनेछ । यस विषयमा डा. सरस्वती आचार्य र शब्दयात्रा प्रकाशनका बीच सम्झौता भइसकेको छ । सम्झौतापत्रमा कोष व्यवस्थापकका रूपमा डा. सरस्वती आचार्यले र शब्दयात्रा प्रकाशनका तर्फबाट कार्यसम्पादन समितिका सदस्य डा. भास्कर हुमागाईंले हस्ताक्षर गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनले यसअघि ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रौतहट, महोत्तरी, भोजपुर, सङ्खुवासभा आदि जिल्लाका राष्ट्रिय प्रतिभाका लागि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिसकेको छ ।
यहाँ राखिएको तस्बिर आफ्ना मातापिताको स्मृति र सम्मानमा रसुवा प्रतिभा पुरस्कारका लागि कोषको व्यवस्थापन गरेर आदर्श छोरीको उदाहरण बनेकी रसुवाली गौरव डा. सरस्वती आचार्यको हो । शब्दयात्रा प्रकाशनमा आफ्नो जिल्लाका राष्ट्रिय प्रतिभाका लागि पुरस्कारको कोष व्यवस्थापन गरिदिनुभएकोमा शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
रसुवा जिल्लाका प्रतिभालाई शब्दयात्रा प्रकाशनबाट पुरस्कृत गरिने