साहित्यकार ललिता दोषी (गुल्मी) र गायिका सरस्वती सापकोटा (काभ्रेपलान्चोक) लाई २०८१ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ संयुक्त रूपमा समर्पण गरिएको छ । विभिन्न विधाका साहित्यिक कृतिहरूको सिर्जना तथा प्रकाशन गरी नेपाली साहित्यको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा साहित्यकार ललिता दोषीलाई र बागमती क्षेत्रका विभिन्न लोकलयलाई सुमधुर स्वर र गायकीका माध्यमबाट नेपालभरि विस्तार गरेर नेपाली गीति क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा गायिका सरस्वती सापकोटालाई ८–८ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र उपहारसहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कोषको व्यवस्थापन पितामाताको स्मृतिमा कवि अमर त्यागीले गर्नुभएको हो । पुरस्कार समर्पण गर्दा कोष व्यवस्थापक नेपालबाहिर हुनुभएकाले उहाँका तर्फबाट उपहार र भेटी ललिता दोषीलाई गीता अधिकारीले तथा सरस्वती सापकोटालाई निर्मला श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो भने प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, प्रेमकण्ठ माकजू श्रेष्ठले ललिता दोषीलाई र ललिता दोषीले सरस्वती सापकोटालाई शब्दयात्रा पट्ट र केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।