शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई समर्पण गर्ने भएको छ । उक्त छात्रवृत्ति यही जेठ २४ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा समर्पण गरिनेछ । उक्त छात्रवृत्ति श्रीखण्डपुर माध्यमिक विद्यालय श्रीखण्डपुरमा अध्ययनरत कक्षा १ की छात्रा सन्ध्या वि. क., कक्षा २ की छात्रा आयुषा गोले तामाङ र कक्षा ३ की छात्रा सनिशा गोलेलाई, आजाद माध्यमिक विद्यालय बालुवामा अध्ययनरत कक्षा ४ की छात्रा रश्मि नेपाल र कक्षा ५ की छात्रा मेलिना बिसुङ्खेलाई समर्पण गरिनेछ । यसै गरी पञ्चकन्या आधारभूत विद्यालय धुलिखेलमा अध्ययनरत कक्षा ६ की छात्रा रचना प्रजा र कक्षा ७ की छात्रा रीता भण्डारीलाई, पूर्णसञ्जीवनी लङ्खनामाई माध्यमिक विद्यालय धुलिखेलमा अध्ययनरत कक्षा ८ की छात्रा अरुणिमा भुजेललाई, मानव कल्याण समाजमा रही अध्ययनरत कक्षा ९ का छात्र सम्राट मानवलाई र सर्वमङ्गला माध्यमिक विद्यालय पाँचखालमा अध्ययनरत कक्षा १० की छात्रा निरुता वि. क. लाई पनि उक्त छात्रवृत्ति समर्पण गरिनेछ । काभ्रेपलाञ्चोक जिल्लाका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमध्ये आर्थिक रूपमा विपन्न तर पढाइमा अब्बल रहेका कक्षा १ देखि १० सम्मका १० जना विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयको सिफारिसका आधारमा हरेक वर्ष यो छात्रवृत्ति समर्पण गर्ने गरिन्छ । यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन काठमाडौँको चाबहिल शान्तिगोरेटो निवासी शिक्षासेवी शेखरप्रसाद ढुङ्गानाले आफ्ना मातापिता दिव्यवती ढुङ्गाना र कान्तुप्रसाद ढुङ्गानाको स्मृति तथा सम्मानमा गर्नुभएको हो । हाम्रो आग्रह स्वीकार गरी छात्रवृत्तिका लागि रकमको व्यवस्था गरिदिनुभएकोमा शेखरप्रसाद ढुङ्गानाप्रति हार्दिक कृतज्ञता अर्पण गर्दै छात्रछात्राको नाउँ उपलब्ध गराइदिएकोमा सम्बन्धित विद्यालयहरूप्रति आभार व्यक्त गर्दछौँ र छात्रवृत्ति प्राप्त गर्ने छात्रछात्राहरूमा बधाई ज्ञापन गर्दछौँ ।