लेखक तथा चिन्तक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल) लाई २०८१ सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । नेपाली राष्ट्रिय परिवेशको भावभूमिमा साहित्य, संस्कृति, दर्शन र सामाजिक अध्ययनलाई आधार बनाई विचारशील र राष्ट्रप्रेमयुक्त कृतिहरूको लेखन–प्रकाशन गरेर नेपाली समाजको सकारात्मक रूपान्तरणका लागि वाङ्मयका माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र उपहारसहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कर्मयोगी बद्रीविक्रम थापाका स्ुपुत्र समाजसेवी किरण थापाको सक्रियतामा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले कोषको व्यवस्थापन गरेको छ । पुरस्कार समर्पण गर्दा प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, लीलादेवी श्रेष्ठले शब्दयात्रा पट्ट, गीता अधिकारीले उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।