शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते पुस्तक तथा गीत सार्वजनिकीकरण तथा छात्रवृत्ति समर्पण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा प्रा. डा. कुलप्रसाद कोइरालाद्वारा लिखित ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ नामक पुस्तक र लेखक स्वयम्भू शाक्यद्वारा लिखित ‘च्यातिएका पाना’ नामक पुस्तकलाई सार्वजनिक गरियो । सुनील सापकोटाको लेखन, हरि मञ्जुश्रीको सङ्गीत र रश्मि हुमागाईंको स्वर रहेको ‘अझै आएनन् उनी’ गीतलाई पनि त्यही कार्यक्रममा सार्वजनिक गरियो । यसै गरी शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद छात्रवृत्ति काभ्रेपलाञ्चोक जिल्लाका गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरूमा समर्पण गरियो ।
कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा प्रमुख अतिथि हुनुहुन्थ्यो भने प्रा. डा. उषा ठाकुर र डा. मधुसूदन लामिछाने अतिथि हुनुहुन्थ्यो । हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कृष्णमणि कुइकेलले गर्नुभएको थियो । ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ नामक पुस्तकलाई प्रा. डा. कुलप्रसाद कोइराला, मच्छेश्वर सापकोटा र प्रा. डा. उषा ठाकुरले सार्वजनिक गर्नुभएको थियो भने ‘च्यातिएका पाना’ लाई स्वयम्भू शाक्य, हरि मञ्जुश्री र डा. मधुसूदन लामिछानेले सार्वजनिक गर्नुभएको थियो । ‘अझै आएनन् उनी’ को सार्वजनिकीकरण रश्मि हुमागाईंले गर्नुभएको थियो भने विद्यार्थीहरूलाई छात्रवृत्ति र प्रमाणपत्र तथा विद्यार्थीको नाउँ सिफारिस गर्ने विद्यालयहरूलाई आभारपत्र समर्पण दाता शेखरप्रसाद ढुङ्गाना र उद्धवप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा साहित्यकार महेश्वर खनालले शब्दयात्रा प्रकाशन सङ्ग्रहालयका लागि केही सिक्का र नोटहरू तथा पुस्तकालयका लागि केही पुस्तकहरू उपहार दिनुभएको थियो ।
मुरहरि रायमाझी र गोविन्दबहादुर खड्काले कविता वाचन गर्नुभएको उक्त कार्यक्रममा प्रा. डा. कुलप्रसाद कोइराला ७१ वर्ष लाग्नुभएकोमा शब्दयात्रा प्रकाशनका तर्फबाट जन्मदिवसको शुभकामनापत्र समर्पण गरिएको थियो । शुभकामनापत्रको बेहोरा पदम दाहालले पढ्नुभएको थियो भने डा. इन्दुल केसी, लोकेन्द्र ढकाल र अमृत अधिकारीले संयुक्त रूपमा समर्पण गर्नुभएको थियो ।
प्रजापति तिमिल्सिनाले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट चन्द्रबहादुर खड्काले टोपी लगाइदिनुभएको थियो । कार्यक्रममा इ. रोशन मञ्जुश्री अधिकारीले छायाङ्कन तथा स्वराङ्कन, कालिका त्रिपाठी पन्तले चेतनाथ धमलाले पठाउनुभएको कविता वाचन र अच्युत अधिकारीले अतिथिहरूमा उपहार समर्पण गर्नुभएको थियो ।