लघु अनुसन्धान परियोजना अन्तर्गत हरेक वर्ष प्रदान गर्ने गरी शब्दयात्रा प्रकाशनमा संस्थापित विद्वतवृत्तिहरू २०८२ सालका लागि पाँचजना अनुसन्धातामा समर्पण गरिएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभा सुभाष खड्का र उहाँको स्मृतिमा स्थापित संस्था सुभाष स्मृति प्रतिष्ठानसँग सम्बन्धित विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धाताका लागि सुभाष स्मृति प्रतिष्ठानको आर्थिक व्यवस्थापनमा संस्थापित ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ साहित्यकार, शिक्षासेवी, समाजसेवी तथा पूर्वप्रशासक चन्द्रबहादुर खड्काद्वारा लिखित कृतिहरूको विश्लेषण गरी कविता विधाको पुस्तक तयार पार्न मुरहरि रायमाझी (काभ्रेपलाञ्चोक) मा समर्पण गरिएको छ । उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट हरि मञ्जुश्रीले समर्पण गर्नुभएको थियो ।
नेवाः सभ्यताका विषयमा अध्ययन–अनुसन्धान गर्ने अनुसन्धाताका लागि साहित्यकार तथा लेखाविज्ञ लोकमान मास्केको आर्थिक व्यवस्थापनमा संस्थापित ‘शब्दयात्रा प्रतापमान–झरना मास्के नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति’ ‘नेवाः सभ्यताको परिचय’ विषयमा प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्न प्रकाश उज्ज्वल बनेपा (प्रकाशबहादुर कायस्थ, काभ्रेपलाञ्चोक) मा समर्पण गरिएको छ । उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र कोष व्यवस्थापक लोकमान मास्केले समर्पण गर्नुभएको थियो ।
काभ्रेपलाञ्चोक जिल्लासँग सम्बन्धित रहेर शब्दयात्रा प्रकाशनले तोकेको विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धाताका लागि बनेपा घर भई हाल अमेरिका बस्ने विदुर विष्टबाट आफ्ना दिदी–भिनाजुको स्मृतिमा आर्थिक व्यवस्थापन गरेर संस्थापित ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ काभ्रेपलाञ्चोक जिल्लामा रहेको नीलकण्ठेश्वर महादेव मन्दिर र नीलकण्ठेश्वर धामसँग सम्बन्धित परिचयात्मक पुस्तक तयार पार्न दामोदर घिमिरे (खोटाङ) मा समर्पण गरिएको छ । उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र विदुर विष्टका तर्फबाट हरि मञ्जुश्रीले समर्पण गर्नुभएको थियो ।
साहित्य, साझा–सहकारी, रेडक्रस, महिला सशक्तीकरण, ज्येष्ठ नागरिक सेवा, मानव–अधिकार आदि क्षेत्रमा नेपाली महिलाहरूले गरेका योगदानका विषयमा अनुसन्धान गर्ने अनुसन्धाताका लागि सावित्री जङ्गम थापाको आर्थिक व्यवस्थापनमा संस्थापित ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ सहकारी क्षेत्रमा सावित्री जङ्गम थापाको योगदानका विषयमा अन्वेषण गरी प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्न शारदा घिमिरे भैल (काभ्रेपलाञ्चोक) मा समर्पण गरिएको छ । उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र सावित्री जङ्गम थापाका तर्फबाट हरि मञ्जुश्रीले समर्पण गर्नुभएको थियो ।
भोजपुर जिल्लाको शैक्षिक इतिहासका विषयमा अनुसन्धान गर्ने अनुसन्धाताका लागि भोजपुर जिल्लाका शैक्षिक तपस्वी प्रा. केदारनाथ श्रेष्ठको आर्थिक व्यवस्थापनमा संस्थापित ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ भोजपुर दिङ्लामा अवस्थित षडानन्द बहुमुखी क्याम्पसको इतिहास र त्यससँग सम्बन्धित विवरणसहित प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्न दण्डपाणि अधिकारी (भोजपुर) मा समर्पण गरिएको छ । उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र कोष व्यवस्थापक प्रा. केदारनाथ श्रेष्ठले समर्पण गर्नुभएको थियो ।
यी विद्वतवृत्तिहरू यही मङ्सिर २७ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा समर्पण गरिएका थिए ।
पाँचजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण