शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ नेपाली लोकसङ्गीतका अन्वेषक तथा मौलिक लोकभाकाहरूका सङ्कलक तथा गायक नवीन खड्का र गायिका पुस्तका खड्कालाई संयुक्त रूपमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । थुप्रै गीतिएल्बम र यु–ट्युबबाट पूर्वेली लोकभाका र अरुण उपत्यकाका लोकगीतका रूपमा उहाँहरूका गीतहरू सुन्न सकिनेछ । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । सङ्खुवासभा जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी लेखिका तथा समाजसेवी लीलादेवी श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।