समाजसेवी सुमित्रा चौलागाईं अथवा सुमी मानव (मकवानपुर) लाई २०८१ सालको ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदर्शी नेतृत्व पुरस्कार’ समर्पण गरिएको छ । ‘मानव कल्याण समाज सेवाघर’ नामक सामाजिक संस्था खोली आफ्ना परिवारजन, नातासम्बन्धी र जनस्तरका उदारमना स्वदेशी दाताहरूसँग सहयोग मागेर बाल–बृद्ध–असहायहरूलाई खाने, बस्ने, पढाउने, औषधोपचार गर्ने र धार्मिक संस्कार गर्नेसमेत व्यवस्था गर्नुका साथै जनस्तरकै सहयोगमा त्यस संस्थालाई दिगो बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र उपहारसहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कोषको व्यवस्थापन रश्मि हुमागाईं र इन्जिनियर रोशन अधिकारीले संयुक्त रूपमा गर्नुभएको हो । सुमित्रा चौलागाईं नेपालबाहिर रहनुभएकाले उहाँको प्रतिनिधित्व गर्दै मानव कल्याण समाजका केन्द्रीय सचिव विजयकुमार पोखरेल कार्यक्रममा उपस्थित हुनुभएको थियो । पुरस्कार समर्पण गर्दा कोष व्यवस्थापकका हजुरबुबा दण्डपाणि अधिकारीले अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला विजयकुमार पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो ।