शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ वैज्ञानिक प्रा. डा. राजेन्द्र ज्ञवाली (कपिलवस्तु) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँले नेपालमा पाइने जडिबुटीहरूको वैज्ञानिक परीक्षण गरी अर्बुद रोग (क्यान्सर) का कोशिकाहरू नष्ट गर्ने जडिबुटीजन्य वनस्पतिहरूको पहिचान गरेर नेपालको विज्ञान–प्रविधि विधामा हुने अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ । उहाँजस्ता सक्रिय वैज्ञानिक तथा अनुसन्धातामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन रामकृष्ण स्मृति प्रतिष्ठानका तर्फबाट निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. डा. राजेन्द्र ज्ञवालीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।