शब्दयात्रा प्रकाशनमा शिक्षासेवी तथा साहित्यकार माधवी अधिकारीको नाउँबाट ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ का लागि अक्षयकोष खडा गरिने भएको छ । शब्दयात्रा प्रकाशनबाट २०८० साल वैशाखदेखि मासिक रूपमा ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ प्रदान गरिरहे पनि त्यसका लागि छुट्टै कोषको व्यवस्था गरिएको थिएन । काभ्रेपलान्चोक जिल्लाको विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार छात्रामध्ये एउटी छात्राका लागि यस छात्रवृत्तिको व्यवस्था गरिएको थियो । अहिलेचाहिँ त्यही छात्रवृत्तिलाई दीर्घकालसम्म निरन्तरता दिनका लागि अक्षयकोष खडा गरिने भएको हो । माधवी अधिकारीको नाउँ रहने यो अक्षयकोष हालका लागि २ लाख रुपियाँबाट प्रारम्भ गरिनेछ । माधवी अधिकारी काठमाडौँको टेङ्गलटोलमा इन्द्रमञ्जरी र लक्ष्मीप्रसाद भट्टराईकी सुपुत्री भई २००४ सालमा जन्मनुभएको थियो । उहाँ साहित्यकार तथा शिक्षासेवी हुनुहुन्थ्यो । उहाँका ‘ॐ नमः शिवाय’, ‘महालक्ष्मी तथा रुद्राष्टकम्’, ‘अनुभवको स्पन्दन’, ‘अभिव्यक्ति नै अभिव्यक्ति’ र ‘हाकिमसाहेब’ नामका कृतिहरू प्रकाशित छन् । उहाँले लामो समयसम्म शिक्षिका भई सेवा गर्नुभएको थियो र राष्ट्रिय शिक्षा पुरस्कार पनि प्राप्त गर्नुभएको थियो । उहाँ नारी शिक्षामा जोड दिनुहुन्थ्यो । उहाँको निधन २०६६ सालमा भएको थियो । काभ्रेपलान्चोक जिल्लाको विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार छात्रालाई उहाँको नाउँबाट छात्रवृत्ति दिने यस सत्कर्मले गर्दा उहाँको शिक्षाप्रेमले थप सार्थकता पाउने विश्वास गरिएको छ । यहाँ राखिएको तस्बिर शिक्षासेवी तथा साहित्यकार माधवी अधिकारीको हो ।