शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज २०८२ असोज ११ गत शनिबार आयोजित समारोहमा चारवटा पुस्तकलाई सार्वजनिक गरियो । ती चारवटा पुस्तकहरू डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित ‘नेपालमा राजसंस्था किन ?’, कृष्ण कार्कीद्वारा लिखित कवितासङ्ग्रह ‘बसिबियाँलोका क्षणहरू’, डा. इन्दुल केसीद्वारा लिखित समीक्षासङ्ग्रह ‘गगनमण्डलका ताराहरू’ र चन्द्रबहादुर खड्काद्वारा लिखित यात्रासंस्मरण ‘कैलाश मानसरोवर यात्रा’ थिए ।
‘नेपालमा राजसंस्था किन ?’ लाई कृतिकार डा. गोपाल पौड्याल ‘मण्डने’ र गीतिभास्कर मच्छेश्वर सापकोटाले तथा ‘बसिबियाँलोका क्षणहरू’ लाई कृतिकार कृष्ण कार्की र अन्वेषक लालबहादुर भुजेलले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । यसै गरी ‘गगनमण्डलका ताराहरू’ लाई कृतिकार डा. इन्दुल केसी र गायिका सरस्वती सापकोटाले तथा ‘कैलाश मानसरोवर यात्रा’ लाई कृतिकार चन्द्रबहादुर खड्का र काव्यकार दीनानाथ पोखरेलले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।
सार्वजनिक गरिएका चारैवटा पुस्तकको परिचय सञ्चारकर्मी शिव बन्जाराले गराउनुभएको थियो ।