शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ साहित्यकारद्वय कुमार काफ्ले र कमला महतमा संयुक्त रूपमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । ओखलढुङ्गा जिल्लाको यसममा २०४१ सालमा जन्मनुभएका कुमार काफ्लेले उपन्यास, कथा र गीत विधामा तथा नुवाकोट जिल्लाको शिखरबेसीमा २०२५ सालमा जन्मनुभएकी कमला महतले ‘अनन्त’ कृतिमार्फत बाछिटा विधामा योगदान गर्नुभएको छ । दुवैजना शिक्षण पेसामा संलग्न हुनुहुन्छ । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । वाङ्मय क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई हरेक वर्ष समर्पण गर्ने गरी कवि अमर त्यागीले आफ्ना पितामाताको नाउँमा यस पुरस्कारका लागि कोषको व्यवस्था गरिदिनुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन कुमार काफ्ले र कमला महतप्रति हार्दिक आभार व्यक्त गर्दछ ।