शब्दयात्रा प्रकाशनको चौथो वार्षिक साधारण सभा गत २०७४ असोज २७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । दिउँसो साढे एक बजेदेखि प्रारम्भ भएको साधारण सभा साढे तीन बजे समापन भएको थियो । सभाको सञ्चालन ‘शब्दसञ्चार’ कार्यक्रमका प्रस्तोता शिवप्रसाद बन्जाराले गर्नुभएको थियो ।
कार्यक्रमका सभापति संस्थाका अध्यक्ष हरि मञ्जुश्री, प्रमुख अतिथि प्रेरक महिला सरिता कोइराला, सम्मान व्यवस्थापकमध्येका ज्येष्ठ सदस्य निर्मलाकुमारी यगोल श्रेष्ठ, सहयात्री संस्था गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्याय र शब्दयात्रा समाजका संयोजकमध्येका ज्येष्ठ संयोजक ओतबहादुर खड्का मञ्चस्थ हुनुहुन्थ्यो । सञ्चालक समितिका सदस्यहरू, अन्य सदस्यहरू, महाप्रबन्धक, कानुनी सल्लाहकार, शब्दयात्रा समाजका संयोजक तथा सदस्यहरू र पर्यवेक्षकहरू निर्धारित आसनमा बस्नुभएको थियो ।
प्रमुख अतिथिलाई ‘शब्दसंवाद’ कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाले शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभएको थियो भने दीक्षा घिमिरेले माला लगाइदिएर स्वागत गर्नुभएको थियो ।
सभामा स्वागत–मन्तव्य सञ्चालक समितिका सदस्य श्यामकृष्ण लम्सालले र पानसमा बत्ती बालेर सभाको समुद्घाटन सञ्चालक समितिका ज्येष्ठ सदस्य हरिगोपाल प्रधानले गर्नुभएको थियो । त्यसपछि नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूबाट स्वस्तिवाचन गरिएको थियो । संस्थागत गानको प्रस्तुति महाप्रबन्धक शारदाप्रसाद शर्माबाट भएको थियो ।
साधारण सभाको सफलताका लागि ज्येष्ठ संयोजक ओतबहादुर खड्काले शुभकामना मन्तव्य दिएपछि अध्यक्षको प्रतिवेदन सञ्चालक समितिका अध्यक्ष हरि मञ्जुश्रीले, गत वर्षको लेखापरीक्षण प्रतिवेदन सञ्चालक समितिका सदस्य सुमन खड्काले र चालु वर्षको बजेट तथा कार्यक्रम सञ्चालक समितिका सदस्य सकुल थापाले प्रस्तुत गर्नुभएको थियो । त्यसपछि प्रस्तावहरूको प्रस्तुति अध्यक्षबाट र निर्णय–लेखन महाप्रबन्धकबाट भएको थियो ।
सभामा मुकुन्दप्रसाद उपाध्याय र निर्मलाकुमारी यगोलले मन्तव्य व्यक्त गर्नुभएको थियो । रमेश पौड्याल, रामचन्द्र हुमागाई, नीलकण्ठेश्वरधाम संरक्षण समिति, गीता मञ्जुश्री, त्रिरत्न रन्जितकार र डा. भास्कर हुमागाईंलाई मुकुन्दप्रसाद उपाध्यायले आभारपत्र प्रदान गर्नुभयो । आभारपत्र प्राप्त गर्नेहरूलाई फणीन्द्रराज अधिकारी र चन्द्रबहादुर खड्काले माला लगाइदिनुभएको थियो ।
शब्दयात्रा लेखक समाजका सदस्यद्वय रामप्रसाद शर्मा तिमल्सिना र भरतराज महतको देहावसान भएको हुँदा उहाँहरूको आत्माले शान्ति पाओस् भन्ने कामनाका साथ एक मिनेट मौन धारण पनि गरिएको उक्त सभाको विसर्जन मन्तव्यसहित प्रमुख अतिथिका रूपबाट प्रेरक महिला सरिता कोइरालाले गर्नुभएको थियो ।
सभाले अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र बजेट तथा कार्यक्रम पारित गर्दै मुकुन्दप्रसाद दाहाललाई लेखापरीक्षक नियुक्त गरेको छ ।