Nepalbhoomi

२०७६ चैत ११ गते मङ्गलबारको अङ्कका प्रमुख सामग्रीहरू

सम्पादकीय : कोरोनाको सन्देश

कोरोना भाइरस विश्वव्यापी रुढीका रूपमा फैलिरहेको समयमा पश्चिमा वैज्ञानिकहरूले गाईको १० तोला घिउबाट चरु हवन गरियो भने त्यसले १ टन अक्सिजन उत्पादन गर्छ भन्ने कुरा पत्ता लगाएको सूचना सञ्चार माध्यमहरूमा आएका छन् । यसै गरी आरती गर्दा प्रयोग गर्ने कपुर जुन ठाउँमा राखिएको छ, त्यसको ३० मिटर टाढासम्म भाइरसहरू आउन सक्तैनन् भन्ने कुरा पनि आइरहेका छन् । ‘प्रकृतितिर फर्क’ भन्ने सन्देशलाई मानव जातिले बेवास्ता गरेको र प्रकतिको अनावश्यक दोहन गरेको हुनाले यस्तो प्रकोपहरूले मानव जातिमाथि हमला गरेका हुन् भनेर प्रकृतिशास्त्रीहरू पनि भनिरहेका छन् । जसजसले जेजे भने पनि प्रकृतिमाथि विजय प्राप्त गर्ने अभिलाषा भौतिकवादी वैज्ञानिकहरूले नबढाएका भए र मानव जातिलाई प्राकृतिक जीवनशैलीबाट बाहिर निस्कन प्रेरित नगराइएको भए अनेक प्रकारका भाइरसहरूले, अनेक प्रकारका नयाँ–नयाँ रोगहरूले, अनेक प्रकारका रुढी, व्याधि, हैजा, महामारीहरूले मानव जातिलाई सताउने थिएनन् भन्ने कुरामाथि अब अधिकांश मानवहरूले शङ्का गरेका छैनन् । मानवमा उन्माद बढ्दै गयो भने मानवकै कारणले विश्वले यसभन्दा ठूलो विनाशलीला भोग्नुपर्ने स्थिति नआउला भन्न सकिँदैन ।
गल्ती जसले गर्छ, सजाय पनि त्यसैले भोग्नुपर्ने हो । तर अरूको लहैलहैमा कुदेर प्रकृतिको नियम मिच्ने काम धेरथोर सबैले गरेका छन् । त्यसैले कोही पनि मानिस म स्वस्थ भइरहन्छु भनेर ढुक्क भई बस्न मिल्दैन । आफ्नो स्वास्थ्यका लागि आफैँ सतर्क रहनुपर्छ भन्ने सन्देश प्रसारित भइरहनुको कारण पनि यही हो । यसरी सन्देश दिनु राम्रो कुरा हो । मानव जातिलाई यस्ता सकारात्मक सन्देशहरू दिइरहनुपर्छ ।

सम्मान गर्न सरकारको किन कन्जुस्याइँ ?
— मुकुन्दप्रसाद उपाध्याय

देशमा स्रष्टाहरूको यथोचित सम्मान हुनुपर्छ भन्नेमा सायदै कसैको विमति होला । नेपालको आधुनिक इतिहासमा निरङ्कुश कालखण्ड र लोकतान्त्रिक कालखण्डको तुलनात्मक विश्लेषण गर्दा लोकतान्त्रिक कालखण्ड आलोच्य देखिन्छ, जबकि जनप्रतिनिधिहरूले सरकार चलाएको बेला जनताबाट उठेका स्रष्टा, मूद्र्धन्य व्यक्तित्व वा राष्ट्ररत्नहरूको सम्मान बढी हुनुपर्ने थियो ।
हामीले सुनेका सम्मानसूचक विशेषण बोकेका स्रष्टाहरूमा आदिकवि, महाकवि, आशुकवि, कविशिरोमणि, जनकविकेशरी, नाट्यसम्राट, स्वरसम्राट आदिद्वारा सम्मान गरिएकोमा त्यस्तो सम्मान कुन–कुन कालखण्डमा कसको सक्रियतामा भयो होला भन्ने कुरा मननयोग्य छ । झन् द्वितीय जनआन्दोलनपछिको १३ वर्ष भइसक्ता सरकारले राजनीतिक क्षेत्रबाहेक अन्य क्षेत्रका मूद्र्धन्य व्यक्तित्वहरू कस–कसलाई यथोचित सम्मान ग¥यो त ? जनआन्दोलनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रको पालामा कविवर माधवप्रसाद घिमिरेलाई ‘राष्ट्रकवि’ उपाधि दिइँदासमेत तत्काल दलका नेताहरूले सहर्ष स्वीकार गरेका थिएनन् । कतिले त आलोचनासमेत गरेका थिए त्यस निर्णयको ।
गैरराजनीतिक क्षेत्रका मूद्र्धन्य हस्तीहरूलाई यथोचित सम्मान गर्नुको सट्टा त्यस्ता क्षेत्रहरूमा पनि त्यस्ता हस्तीहरूको उत्पादन नै नहुने गरी दलीय भागबन्डाद्वारा दलीय विचारका तावेदार कार्यकर्ता–‘विज्ञ’ हरूलाई मात्र नियुक्त गर्ने गलत संस्कृतिको बीजारोपण गरियो । यो १२–१३ वर्षको सङ्क्रमणकालीन कालखण्डमा त्यस्ता सम्मानलायक व्यक्तित्वहरू नै निस्केनन्, देखिएनन् भन्ने कुरो पनि होइन ।
केही उदाहरण दिनुपर्दा माफियाहरूको बलियो माखेसाङ्लो तोड्दै र लोडसेडिङको अन्धकारलाई चिर्दै देशलाई उज्यालो दिने हस्ती कुलमान घिसिङलाई ‘राष्ट्रज्योति’ भन्न सकिन्थ्यो । नेत्रहीनहरूलाई दृष्टि दिने त्यो पनि नि:शुल्क र सुपथ मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तरले युक्त सेवा दिने अभियन्ता डा. सन्दुक रुइतलाई ‘राष्ट्रचक्षु’ को उपाधि दिन सकिन्थ्यो । एकीकृत नेपालको नक्साको निरन्तर पहरेदारी र खबरदारी गरिरहने सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘राष्ट्रिय सीमा पहरेदार’ भन्न सकिन्थ्यो । चिकित्सा शिक्षा र चिकित्सा सेवाको गुणस्तरीय विस्तार, सुलभ सेवा र लागत मूल्यमा शिक्षा दिनुपर्छ भनी त्यस क्षेत्रका नाफामुखी व्यापारीविरुद्ध जेहाद छेडेर ज्यानको बाजी लगाई पटक–पटक आमरण अनसन बस्ने डा. गोविन्द केसीलाई राष्ट्रिय सम्मान गर्न सकिन्थ्यो । त्यस्तै, नेपालमा प्राविधिक विषयहरूमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा सम्भव छैन, कोलम्बो प्लानमा निजी खर्चमा विद्यार्थीलाई विदेशमा नै पढाउनुपर्छ भन्ने मान्यतालाई तोड्दै गैरसरकारी क्षेत्रमा विश्वविद्यालय खडा गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा नेपालमै सम्भव छ भनेर देखाइदिने काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई जनस्तरबाट दिइएको ‘शैक्षिक शिरोभूषण’ उपाधि सरकारले नै दिन सक्थ्यो । त्यसै गरी महँगिँदै गरेको स्वास्थ्य उपचार खर्च, आम जनताको पहुँचबाहिरका नर्सिङ होम र निजी अस्पतालहरूका बीच सरकारी अस्पतालको शुल्कमा नर्सिङ होम र निजी अस्पतालको भन्दा राम्रो स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने धुलिखेल सामुदायिक अस्पतालका संस्थापक डा. रामकण्ठ माकजू श्रेष्ठलाई त्यस्तै यथोचित सम्मान दिन सकिन्थ्यो । पूर्वीय दर्शनको प्राणवायु संस्कृत भाषा र मेरुदण्ड वैदिक वाङ्मयको विकासका लागि गुरुकुलीय शिक्षापद्धतिको पुनस्र्थापना त्यो पनि नि:शुल्क अनि गुणस्तरीय संस्कृत शिक्षाका प्रणेता वेदान्तशिरोमणि डा. स्वामी रामानन्द गिरिलाई मरणोपरान्त सम्मान गर्न सकिन्थ्यो । यस्ता उदाहरण अरू पनि छन् खोजेर हेर्ने कष्ट गरेमा ।
हाम्रा राजनीतिक दल र तिनका नेतृत्व वर्ग दलीय साँघुरो घेराबाट बाहिर निस्कनै सकेनन् । आआफ्ना दलका दिवङ्गत नेताहरूको नाममा राष्ट्रिय धरोहरहरूको नामकरण गर्नचाहिँ उनीहरू चुकेका छैनन् । त्यतिले मात्र नपुगी दिवङ्गत नेताको नाममा ट्रस्ट र फाउन्डेसनहरू खोली एनजीओ बनाएर राष्ट्रिय अनुदान र विदेशी अनुदान भि†याएर दुहुनो गाई बनाउने, मह चाट्ने आदि कार्यमा काङ्ग्रेस, कम्युनिस्ट र मधेसवादी दलहरूको ठूलो प्रतिस्पद्र्धा नै चलेको देखिन्छ । तर राजनीतिक दलको वृत्तबाहिर पनि राष्ट्रवादी, राष्ट्रसेवक, स्रष्टा, समाजसेवी, मूद्र्धन्य विद्वान्, विज्ञहरू हुन्छन् भन्नेसम्म हेक्का राखेको चाहिँ देखिएन । केही हदसम्म क्षेत्रीय स्तरका केही प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई राष्ट्रिय ढुकुटीबाट जनही दुई–चार लाख रुपियाँ बक्सिस दिएकोसम्मलाई चाहिँ सह«ाहना गर्नुपर्ने हुन्छ ।

कोरोना भाइरस डरलाग्दो !
— सुनील सापकोटा

आजकाल विश्वमा सर्वत्र कोरोना भाइरसको चर्चा छ र यसको प्रकोप पनि छ । अब कति दिनसम्म यसको प्रकोप रहने हो त्यो कसैलाई थाहा छैन । यो लेख लेखेको दिनसम्म विश्वमा एक लाख तीस हजार मानिसलाई यसले जकडिसकेको र करिब बाह« हजार मानिसहरु मरिसकेको अवस्था छ । यो भयावह रुपमा बढ्दो क्रममा छ । विश्वमा दिनहुुँ सयौं मानिसहरु यो रोग लागेर मरिरहेको अवस्था छ । अहिलेसम्म यसको भेक्सिन र औषधि बनिसकेको छैन । चारैतिर मानिसहरू यो रोग लाग्ला कि भनेर भयग्रस्त छन् । हाम्रो सरकार पनि यस विषयमा सतर्क र गम्भीर भएको देखिन्छ । रोग सर्ला भनेर हाम्रो सरकारले विद्यालयहरु, विदेशबाट आउने केही हवाइ उडानहरु, अदालतका साथै सार्बजनिक लामो दूरीका यातायातका साधनहरु केही दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । घरबाट अत्यावश्यक काम नभई बाहिर ननिस्किनु भन्ने अनुरोध पनि गरिरहेको छ ।
आखिर भाइरसहरु वा कोरोना भाइरस के हो त भन्दा मैले बुझेको कुरा संक्षेपमा राख्न चाहन्छु । कोरोना ब्याक्टेरिया नभई यो एक किसिमको भाइरस हो । भाइरस र ब्याक्टेरियामा फरक छ । यो भाइरस परिवारको एक नयाँ सदस्य रहेछ । यो भाइरस पत्ता लागेपछि सिवियर एक्युट रेस्पिरेसी सिन्ड्रोम नाम दिइयो ।
सन् २००२–०३ मा यो सार्स भाइरसबाट करिव एक हजार मानिस मरेका थिए । यो अहिलेको फैलिएको भाइरस त्यही सार्स भाइरसको अनुवंशिक परिवर्तित (म्युटेसन) रुप हो । अहिले यही परिवर्तित भाइरस जिउभित्र प्रवेश गरेर मानिसहरुलाई फोक्सोमा संक्रमण गरी बिरामी पारिरहेको छ । त्यसैले यो भाइरसबाट हुने बिरामीको नाम कोभिड — १९ अर्थात् को या कोरोना, भी या भाइरस, ड या डिसेम्वर १९ राखिएको हो । यसले शरीरभित्र प्रवेश गरेपछि के गर्छ, कसरी बिरामी पार्छ, शरिरमा गएपछि यसको लक्षणहरु केके हुन्छ, यसबाट जोगिन केके उपाय गर्नुपर्छ भनेर लेख्ने मेरो विषय होइन । किनभने विभिन्न किसिमका मिडियाहरुबाट नित्य यससम्बन्धी कुराहरु आइरहेका छन् र धेरैलाई यो बिषयमा थाहा पनि होला ।
कोरोना भाइरसले पनि अरु भाइरसजस्तै काम गर्छ । तर यो कडा खालको भाइरस हो । एउटा बिरुवा वा गाछीको सुरक्षित बीउ जसरी घाम, पानी, माटो र हावा पाएर हजारौं बर्ष जीवित रहन्छ, त्यस्तै यो एक कोशिका भाइरस पनि धेरै दिनसम्म सुषुप्त अवस्थामा रहे पनि उसले आफ्नो अनुकुलको जीवित कोशिका पायो भने आफ्नो बंश बढाउँदै जान्छ । यो एकदम सूक्ष्म हुन्छ । यसका कोशिकाहरु हुँदैनन् । भाइरसलाई आफ्नो आनुवांशिक प्रजाती उत्पादन गर्न वा दोहो¥याउन वा सन्तान फैलाउन अरु जीव कोशिकाको आवश्यकता पर्छ । उ एक्लैले केही गर्न सक्तैन । किनभने भाइरसको आफ्नो मोटालिज्म हुँदैन । त्यो अरुको मोटालिज्ममा हुर्किन्छ । यस अर्थमा यो भाइरस इट्रासेल्यूलर परजीवी हो । यो मानिसको शरीरमा प्रवेश गरेर आफ्नो कोशिकालाई मानिसको कोशिकामा गएर क्लोनिङ गर्छ र फैलिदै जान्छ । यसले गर्दा मानिसको रोग प्रतिरक्षा प्रणाली कमजोर हुँदै जान्छ । जब यो जीवित कुनै कोशिकामा प्रवेश गर्छ तब यसले जेनेरेटिङ संरचनालाई आफ्नो संरचना अनुसार ढाल्दै र संक्रमित गर्दै लान्छ । अनि मानिसको कोशिका मर्दै जान्छ ।

ललितकलाकर्मीसँगको सङ्गत
— डा. भोला थापा

काठमाडौँ विश्वविद्यालय मूलत: प्राविधिक विषयहरू अध्ययन–अध्यापनका लागि स्थापना भएको थियो । तर यसको ऐनमा नै कलासम्बन्धी विषयमा समेत यसको संलग्नता हुने उल्लेख थियो । समाजसँग सम्बन्धित विषयहरूमा अध्ययन–अनुसन्धान गर्न ‘स्कुल अफ आर्टस्’ को स्थापना भएको थियो । तर ठ्याक्कै ‘फाइन आर्टस् तथा डिजाइन’ विषयमा किन र कसरी कार्यक्रम सुरु भयो, मलाई थाहा भएन । म पीएचडी अध्ययन गर्ने सिलसिलामा नर्वेमा भएको समयमा यो केन्द्रको स्थापना भएको थियो । मैले सुनेसम्म काठमाडौँ युनिभर्सिटी हाइस्कुल स्थापना गर्नुभएका निर्देशक बेलायती नागरिक एइडन वार्लो क्याम्ब्रिज विश्वविद्यालयको कला विषयका स्नातक हुनुहुन्थ्यो र उहाँकै प्रयासमा कलानगरी भक्तपुरमा ‘सेन्टर फर आर्टस् एन्ड डिजाइन’ स्थापना भई स्नातक तहको कार्यक्रम सुरु भएको थियो । वार्लोसँगै उक्त सेन्टरमा शिक्षण सुरु गर्नुभएका सुजन चित्रकारका अनुसार पहिलो विद्यार्थीका रूपमा कीर्तिकौशल जोशी र तेजेश शाक्यले भर्ना लिँदा उहाँहरू खुसीले उफ्रनुभएको थियो रे ! उक्त सेन्टरको स्थापना र सुरुवाती कार्यहरूमा मुख्यत: काठमाडौँ विश्वविद्यालयका संस्थापकहरू डा. सुरेशराज शर्मा, डा. सीताराम अधिकारी र डा. भद्रमान तुलाधरहरूले विशेष योगदान दिनुभएको देखेको थिएँ । साथै, सुरुवाती दिनमा कला तथा सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीलाई पनि धुलिखेलमा भेटेको थिएँ । तर मैले कहिल्यै भक्तपुरको उक्त सेन्टरको भ्रमण गरिनँ ।
‘सेन्टर फर आर्टस् एन्ड डिजाइन’ सँगको मेरो सम्पर्क भने मेरा मित्र डा. ज्योति तन्डुकारको अनुरोधले जुराइदियो । डा. ज्योति तन्डुकार ‘इनोभेटिभ टेक्नोलोजी’ भन्ने संस्था सञ्चालन गर्नुहुन्थ्यो । पुलचोक क्याम्पसका शिक्षक डा. ज्योति तन्डुकारले गलैँचा उद्योगका लागि उपयोगी सफ्टवेयरको डिजाइन र निर्माण गर्नुभएको थियो । गलैँचामा प्रयोग हुने विभिन्न बुट्टाहरू र त्यससँग सम्बन्धित रङ्गहरूको संयोजन तथा ऊन रङ्गाउन प्रयोग गर्नुपर्ने विभिन्न रङ्गहरूको अनुपात कम्प्युटरका माध्यमबाट गर्न उहाँकै ‘गलैँचा’ सफ्टवेयर प्रयोग हुने गथ्र्यो ।
सुरुमा डा. ज्योति तन्डुकारले कम्प्युटर विभागसँग सहकार्य गर्न मसँग सम्पर्क गरे पनि मताकाजी महर्जनले ‘सेन्टर फर आर्टस् एन्ड डिजाइन’ मा आगन्तुक शिक्षकका रूपमा काम गरिरहनुभएको र उहाँले ‘गलैँचा’ सफ्टवेयर प्रयोग गरिहनुभएको जानकारी पाएपछि कम्प्युटर विभाग, ‘सेन्टर फर आर्टस् एन्ड डिजाइन’ र ‘इनाभेटिभ टेक्नोलोजी’ को सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बन्यो । उक्त कार्यका लागि मैले मन्डिखाटारको प्राङ्गणमा मेरी श्रमिती समा, छोरा ऋषभ र छोरी ऋतिकासहित भ्रमण गरेको थिएँ । काठमाडौँ विश्वविद्यालय हाइस्कुलमा विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा कलालाई समेत प्राथमिकता दिइने हुँदा मेरी छोरी काठमाडौँ विश्वविद्यालय हाइस्कुल र ‘सेन्टर फर आर्टस् एन्ड डिजाइन’ दुवैमा संलग्न हुनुभएका गोपाल कलाप्रेमीसँग परिचित थिइन् । काठमाडौँ विश्वविद्यालय हाइस्कुलको विद्यार्थीका रूपमा उनीहरूले समेत चित्रकला प्रदर्शनी गरेका थिए ।
यसरी म मन्डिखाटारमा नजिक हुँदै गएको थिएँ । काठमाडौँ विश्वविद्यालय व्यवस्थापनको सिलसिलामा विद्यार्थी आन्दोलन समाधान गर्न धुलिखेलका विद्यार्थीहरूसँग शान्त वातावरणमा वार्ता गर्न र सहमति गर्नसमेत मन्डिखाटार हाताको प्रयोग गरिएको थियो । मन्डिखाटार हाताको व्यापक प्रयोग र ‘सेन्टर फर आर्टस् एन्ड डिजाइन’ को व्यापक जानकारी पाउने कार्य भने शिक्षकहरूको अन्तर्वार्ता मन्डिखाटारमा राखिएपछि भयो । छनोट समितिका सदस्य प्रा. डा. दयानन्द बज्राचार्यको स्वास्थ्यका कारणले गर्दा अन्तर्वार्ता धुलिखेलमा राख्न सकिएको थिएन । त्यसैले अन्तर्वार्ताका लागि उहाँको निवासनजिकै मन्डिखाटारको ‘सेन्टर फर आर्टस् एन्ड डिजाइन’ को भवन प्रयोग गरिए पनि अन्तत: त्यो कार्य साइन्स र इन्जिनियरिङका शिक्षक तथा कर्मचारीहरूलाई ‘सेन्टर फर आर्टस् एन्ड डिजाइन’ सँग नजिक तुल्याउने माध्यम बन्यो र एक–आपसमा सम्बन्ध बलियो हुँदै गयो ।

अरूभन्दा त मुसा नै ठीक
— श्रीधर प्याकुरेल

निरन्तर विषम शिलाखण्ड झरिरहेका थिए । जलप्रवाहद्वारा उत्पन्न उद्घोषले भयभीत माछाहरू उचालिनेपछारिने भइरहेको थियो । विचित्र लाग्ने त्यस तरङ्गयुक्त गङ्गातटमा जप, तप, नियम, स्वाध्याय, उपवास र योग क्रियामा पवित्र जल र कन्दमूल फलले शरीर सुख पूर्ति गर्दै याज्ञवल्क्य नामक ऋषि कुलपति रूपमा कार्यरत थिए ।
गङ्गाको पवित्र जलमा स्नानपछि आचमन गर्न उद्यत महर्षि याज्ञवल्क्यको हातमा अकस्मात् एउटा नवजात शिशु मुसो उछिट्टिएर आइपुग्यो । महर्षिले उक्त मुसालाई एक वटपत्रमा राखे र स्नानसन्ध्या गर्न लागे । त्यसपछि आफ्ना तपोबलले उक्त मुसालाई एक सुन्दरी कन्यामा परिणत गरे र कन्या सहित आश्रम प्रवेश भए । आश्रममा रहेकी आफ्नी धर्मपत्नीलाई भने, “यी शिशुलाई आफ्नै सन्तति सम्झेर पालनपोषण गर ।”
ऋपिपत्नीको पालनपोषणमा ती कन्या बढ्दैबढ्दै गइन् र १२ वर्ष पुगिन् । ऋषिपत्नीलाई अब यी कन्याको विवाह गरिदिनुपर्छजस्तो लाग्यो र आफ्ना पतिलाई भनिन्, “पतिदेव, तपाईँलाई छोरीको विवाहको चिन्ता छैन ?”
याज्ञवल्क्यले भने, “ठिक भन्यौ ।”
सोम गन्धर्व औ अग्नि पूर्वमा नारी भोग्दछन् । पछि मानिसले भोग्दा नारीका दोष टर्दछन् ।।१९६।।
सोमले नारीमा शौच गन्धर्वबाट शिक्षिता । अग्निको सर्वमेधाले सर्वदा नारी शुद्धता ।।१९७।।
रजोवतीपूर्व गौरी, रोहिणीमा रजोवती । अव्यञ्जना तथा कन्या कुचले हीन नग्निका ।।१९८।।
सोमले कन्यका भोग्छन् रोम उत्पन्न कालमा । पयोधर अवस्थामा गन्धर्व रज अग्निका ।।१९९।।
ऋतुमती हुनुपूर्व विवाह अनिवार्य छ । अष्ट वर्ष नलाग्दैमा विवाह गर्नुपर्दछ ।।२००।।
गुप्ताङ्गमा रोम सृष्टिपूर्व औ स्तन उन्नत । पिताको पुण्यको नाश भएर नर्क पर्दछ ।।२०१।।
स्वेच्छा विवाह गर्दामा दोष छैन सगोत्रीमा । ऋतुमती हुनुपूर्व विवाह अति उत्तम ।।२०२।।
पिताकै घरमा कन्या रजोवती भइन् भने । शास्त्रसम्मत विवाह हुन्न भन्दछ शास्त्रले ।।२०३।।
यथायोग्य सर्वश्रेष्ठ वरका साथ कन्याका । अथवा मिल्छ जेजस्तो विवाह गर्नुपर्दछ ।।२०४।।
“अत: यिनको विवाह पनि योग्य र अनुकूल वरका साथ गरिदिन्छु ।”
समानै सम्पदा जस्को कुल जस्को समानता । त्यसैसाथ बिहा हुन्छ हुन्न पुष्टअपुष्टमा ।।२०५।।
कुलादि, शीलादि समानतामा । विद्या तथा वित्त, वपु समान ।।
हेरेर यी सप्तगुणादि सारा । अरू कुनै चिन्तन हो निरर्थ ।।२०६।।
“अत: सूर्यनारायणबाट प्रस्ताव स्वीकार हुन्छ भने यी कन्याको विवाह सूर्यसाथ गरिदिनुपर्छ ।”
प्रस्ताव स्वीकार गर्दै ऋषिपत्नीले भनिन्, “ठिक छ, सूर्यकै आह्वान गरौँ ।”
याज्ञवल्क्यले वेदमन्त्रद्वारा सूर्यको आह्वान गरेकाले त्यसबाट प्रभावित भई सूर्यनारायण तत्कालै त्यहाँ उपस्थित भए र सोधे, “ऋषीश्वरले मलाई केकति कामले निमन्त्रणा गर्नुभो ?”
याज्ञवल्क्यले भने, “यो मेरी कन्यालाई तपाईँसँग विवाह गरिदिऊँ कि भनेर तपाईँको आह्वान गरेको हुँ ।”
त्यसपछि कन्यालाई सम्बोधन गर्दै ऋषिले भने, “पुत्री, के तिमी भगवान् भुवन भास्करसँग विवाह गर्न रुचाउँछ्यौ ?”
पुत्रीले भनिन्, “यस्तो सदासर्वदा प्रज्वलितसँग म एक पल पनि रहन सक्दिनँ । अत: यीभन्दा उत्कृष्ट वर खोजौँ ।”
कन्याको कुरा सुनेपछि मुनिले सूर्यलाई सोधे, “प्रभुभन्दा श्रेष्ठ कोही छ ?”
सूर्यदेवले भने, “मभन्दा श्रेष्ठ मेघ छन् किनकि मेघ आकाशमा आउँदा म अदृश्य हुनुपर्छ ।”
मुनिले तत्कालै मेघलाई उपस्थित गराएर छोरीलाई सोधे, “छोरी, यिनैसँग तिम्रो विवाह गर्न खोज्दै छौँ ।”
छोरीले भनिन्, “यस्तो कालो मुख भएकासँग पनि म विवाह गर्दिनँ ।”
त्यसपछि मुनिले मेघलाई सोधे, “हजुरभन्दा श्रेष्ठ को होला ?”
जवाफमा मेघले भने, “मभन्दा श्रेष्ठ त वायुदेव हुनुहुन्छ । उहाँको आघातले म चूर्णचूर्ण हुन्छु ।”
त्यसपछि मुनिले वायुको आह्वान गरे । वायु पनि तत्कालै उपस्थित भए । त्यसपछि मुनिले छोरीलाई सोधे, “छोरी, तिमी वायुसँग प्रसन्न छौ त ?”
कन्याले भनिन्, “पिताजी, यस्तो फट्फटे हतारेसँग जीवन चल्दैन । यीभन्दा अझ श्रेष्ठ खोजौँ ।”
मुनिले वायुलाई सोधे, “तपाईँभन्दा श्रेष्ठ को छ त ?”
वायुले भने, “मभन्दा श्रेष्ठ त गिरि पर्वत हुनुहुन्छ । उहाँले मेरो गति नै रोकिदिन सक्नुहुन्छ ।”
मुनिले तत्काल पर्वतराजलाई बोलाए र छोरीलाई सोधे, “के तिमी पर्वतराजसँग प्रसन्न छौ त ?”
कन्याले भनिन्, “यिनी ज्यादै कठोर र स्तब्ध छन् ।”
थकित मुनिले पर्वतराजलाई सोधे, “अब तपाईँभन्दा श्रेष्ठ को होला त ?”
पर्वतराजले भने, “मभन्दा श्रेष्ठ त मूषकराज हुनुहुन्छ । उहाँले मेरो शरीर क्षतविक्षत पारिदिन सक्नुहुन्छ ।”
मुनिले मूषकराज (मुसा) लाई तत्काल त्यहाँ उपस्थित गराए । अनि कन्यालाई सोधे, “छोरी, के तिमी उहाँसँग विवाह गर्न तयार छौ ?”
मूषकराजलाई देख्नासाथ कन्याले भनिन्, “पिताजी, मूषकराज स्वजातीय हुनुहुन्छ । अत: मलाई फेरि मूषिका बनाएर उहाँसँग मेरो विवाह गरिदिनुहोस् । त्यसपछि म आफ्नै जातिभित्र गृहिणीको धर्म पालना गर्न सक्छु ।”
कन्याको इच्छामा प्रसन्न भएका ऋषिले आफ्ना तपोबलले उनलाई मूषिका बनाए र मूषकराजसँग विवाह गरिदिए ।
कथा समाप्त गर्दै रक्ताक्षले भन्यो, “अत: मूषिकाले सूर्य, मेघ, वायु र पर्वतराज त्यागेर स्वजातीय मूषकराजलार्ई पति वरण गरिन् ।”
तर रक्ताक्षको प्रस्ताव तिरस्कार गर्दै उलूकराजले स्थिरजीवीलाई आफ्ना दुर्गमा प्रवेश गरायो । त्यसबाट हर्षित स्थिरजीवीले मनमनै सोच्यो :
नीति शास्त्रज्ञ तत्वज्ञ एउटा मात्र चिन्तक । मलाई मार्नका निम्ति दिएथे जसले मत ।।२०७।।
“उलूकराजले त्यो कुरा मानेको भए कुनै विपत्ति थिएन ।”
दुर्गमा प्रवेश भएको अरिमर्दनले सेवक गणलाई भन्यो, “स्थिरजीवी मेरा परम हितकारी मित्र हुनुहुन्छ । अत: अब उप्रान्त उहाँकै इच्छा अनुसार शासन सञ्चालन हुन्छ ।”
अरिमर्दनको आदेशपछि स्थिरजीवी तर्क गर्न लाग्यो, “उल्लुकै दुर्गभित्र बसेर उल्लुकै वधको उपाय गर्न सकिँदैन । मेरो चेष्टा देखेर यिनीहरू सावधान हुन सक्छन् । अत: दुर्गको द्वारबाटै उद्देश्य पूर्ति गर्नुपर्ला ।”
त्यसपछि स्थिरजीवीले उलूकराजलाई भन्यो, “सरकारले दिएको आदेश ठिकै हो । म नीतिज्ञ र तपाईँको शत्रु पनि हुँ । तर म हाल सरकारको विश्वस्त हितैषी भइसकेको भए पनि म भित्रै प्रवेश गर्नु हामी दुबैका निम्ति हानिकारक छ । अत: म द्वारमै रहेर प्रभुको चरणमा सेवा गर्न चाहन्छु ।”
राजाको प्रमुख सेवकका रूपमा सपथ खाएपछि स्थिरजीवीले राजसी भोजन पायो । केही दिनमा ऊ मयूरजस्तै पुष्ट र सशक्त देखियो । स्थिरजीवीको अवस्था देखेर रक्ताक्ष भने चिन्तित भयो । एक दिन मन्त्रीमण्डल बैठककमा क्रममा उसले राजालाई भन्यो, “महाराज, सरकारको नवनियुक्त मन्त्री, परममूर्खको विमर्शमा कुनै दिन सरकारकै पनि बुद्धि नष्ट भयो भने भावी परिणाम कस्तो होला भन्ने विषयमा मैले केही बुझेँ … ।”
पहिलो मूर्ख आफैँ म द्वितीय पाशबन्धक । यो सम्पूर्ण राज्यसभा भएको मूर्खमण्डल ।।२०८।।
उसको कुरा मन्त्रीगणले बुझेछन् । उनीहरूको आश्चर्यमा रक्ताक्षले नयाँ कथा बताउन लाग्यो ।

भाग्य र कर्मबीचको समन्वय
— चूडाप्रसाद चौलागाई

साहित्यका विभिन्न विचारहरूमध्ये वादविवाद वा छलफल पनि एक महत्वपूर्ण पक्ष हो । वादविवाद एवम् छलफलले तार्किक शक्तिको विकास हुन्छ । नयाँ कुराको प्रस्तुति गर्ने शैली एवं विषयवस्तुको ज्ञान हुन्छ । त्यसैले तल्लो कक्षादेखि नै विद्यालयमा यस विषयलाई समावेश गरेको हुन्छ । उदाहरण राखौं – कलम ठूलो कि तरवार ठूलो, बावु ठूलो कि आमा ठूलो जस्ता थुप्रै उदाहरणहरू लिन सकिन्छ । भाग्य ठूलो कि कर्म ठूलो भन्ने विवादयुक्त शीर्षक पनि उत्तिकै महत्वपूर्ण छ । यस विषयमा विद्वान्हरूको तर्क वितर्कले पाठकहरूको बौद्धिकता रुमल्लिन सक्छ । यस विषयले आध्यात्मिक वाद र भौतिकवाद बीचको गहि¥याई बुझ्न सहयोग मिल्दछ ।
भाग्य ठूलो कि कर्म ठूलो भन्ने कुरा यक्ष प्रश्न पनि हो । यसमा धेरै विद्वान्हरूबाट तर्क वितर्क हुन सक्दछ । दुवै पक्षको तुलना गर्दा तौल धेरै फरक हुन.सक्छ । यो निरन्तरताको विषय पनि हो । यहाँ भाग्य र कर्मका बारेमा चर्चा गर्न खोजिएको छ । भाग्यलाई आध्यात्मिक पक्षबाट हेर्ने चलन छ । भाग्यविना कुनै पनि कर्म सफल हुन सक्दैन । भाग्यलाई नसिव पनि भनिएको छ । यसलाई तक्दीर वा प्रारब्ध पनि भन्ने गरिन्छ । भाग्यको पर्यायवाची शब्द थुप्रै छन् । भाग्यको निर्धारण अदृष्य शक्तिबाट हुन्छ भन्ने छ । त्यो अदृष्य शक्ति भनेको परमात्मा सचितानन्द भगवानलाई मान्ने विश्वास छ । जे रोपिन्छ त्यही फल्छ भन्ने भनाइलाई संस्कार एवं सांस्कृतिक रूपमा पनि लिएको देखिन्छ । कार्यको परिणाम सकारात्मक होस् वा नकारात्मक यसलाई भाग्यको रुपमा स्विकार्नेहरूको संख्या उत्तिकै छ ।
पुरुषार्थ भन्ने कुरा ब्यक्तिको वुद्धि विवेक क्षमताले गरिने कार्य हो । कार्यविना केही हुन सक्दैन । आज विश्वमा अनगिन्ती विकास भएको छ । कार्यको परिणाम सकारात्मक होस् या नकारात्मक, यसलाई भाग्यका रूपमा स्वीकार्नेहरूको सङ्ख्या पनि उत्तिकै छ । कार्यको परिणाम भनेको संघर्ष अर्थात निरन्तर मिहनेतको कुरा हो । सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक पक्षमा भएको विकास कर्मको परिणाम हो । भनाई छ — भाग्य छ भनेर डोकोमा दूध अट्दैन । आज कोठामा बसेर संसार देखिन सकिने छ । विश्वभ्रमण गर्न सकिने भएको छ । यत्रो विकास हुनुमा भाग्यको मात्र कारण होइन । सफल कार्यको उदाहरण छ । शिक्षामा देखिएको तीव्र विकासका कारणले यो विकासले फड्को मारेको हो । धर्मशास्त्रका थुप्रै उदाहरण लिने हो भने त्यो जस पुरुषार्थलाई दिनुपर्दछ । शास्त्रले कार्यलाई तीन किसिमबाट वर्गीकरण गरेको पाइन्छ प्रारब्ध, क्रिया र संचित कर्म । वर्तमान समयमा जीवन यापनका लागि गरेको निश्चित मर्मलाई प्रारब्ध भन्ने गरेको पाइन्छ । जीवनलाई मृत्युका सामु सुम्पनका लागि गरिने कार्यलाई क्रिया भनेको छ । वर्तमान अवस्थामा गरिएका सकारात्मक वा नकारात्मक क्रियाकलापलाई क्रियमाण कर्म भनेको पाइन्छ । अतीतको जन्ममा गरिएको कर्मको परिणामले भोग्नु परेको वा वाध्य भएको कर्मलाई संचित कर्म भनेको पाइन्छ । राजा जनकलाई उनका प्रश्नको जवाफ अष्टावक्र ऋषिले यसरी दिएका छन् । राजा जनकले सोधे – संसारका अनगिन्ती मानिसहरूको इच्छा पुरा किन नभएको ? ऋषिको जवाफ आयो – बावु बाजेले गरेको कार्यका आधारमा उनीहरूको इच्छाको निर्धारण हुने गर्दछ, जसलाई संचित कर्मको रुपमा लिन सकिन्छ । जसरी हामीले खेति गर्दा राम्रोसँग मलजल गरेर हावापानी मिलाएर उचित हेरचाह गरेका छौँ भने बाली राम्रो हुन्छ । त्यस्तै हो कार्यको परिणामको कुरा ।
भाग्य पक्षका वकालतहरू थुप्रै छन् । कार्यमा सफल वा असफल हुने कुरामा संयोग वा भाग्यलाई प्राथमिकता दिनुपर्दछ । हुन त कर्मले भाग्यको निर्धारण हुने कुरा सबैमा विश्वास छ । सकारात्मक कर्ममा पुग्नका लागि भाग्यले भूमिका खेलेको छ । शास्त्रमा बताएका पात्र पात्राहरूको जीवनीबाट याद गर्ने हो भने भाग्यलाई महत्व दिइएको छ । चाहे महाभारतका पात्र–पात्राहरूको विश्लेषण गरौंँ वा रामायणमा उल्लेखित पात्रहरूको । उनीहरूको जीवनका विकट प्रस्तुतिका उदाहरणले भाग्यलाई भाग्यलाई कम महत्व दिन मिल्दैन । पाँच पाण्डवहरूले जुवा हार्नुमा भाग्यको खेल होइ न र ? रामायणमा रामकी श्रीमती सीतालाई रावणले हरण गर्न सफल हुनुमा भाग्यले खेलेको भुमिकालाई स्विकार्नु उचित हुँदैन त ? कुनै पनि कार्य उद्योगविना हुन सक्दैन । कल्पनामा सफल हुन भाग्य हो । त्यो कल्पनालाई कार्यरुपमा प्रस्तुत गर्न सफल हुन सक्नु पुरुषार्थ हो । क्षमतावान मानिस पुरुषार्थी हुन्छ । पुरुषार्थ प्राप्त हुने काम भाग्यले गरेको हुन्छ । पुरुषार्थ गर्नेहरूको समय सीमित हुन्छ । उपलब्धीहरू दीर्धकालीन हुन सक्छन् । कर्म गर्ने प्रेरणा संयोग भाग्यको खेलमा रहन्छ । भाग्यकै कारणले मानिस पौरखी, विद्धान्, धनी वा गरीव हुने कुरा संयोगले इङ्गित गर्दछ । एक हातले ताली बज्दैन । रोटी एकहोरो पाक्दैन । ढुङ्गाको भर माटोको माटोको भर ढुङ्गाको । भाग्य र कर्मको संयोगले नै हर कुराको प्रगाति हुन सक्दछ ।
पंक्षी एक पखेटाले उड्दैन । भाग्य र पुरुषार्थ एक सिक्काका दुई पाटा हुन् । एकको अभावमा अर्कोको केही हुँदैन । राम्रो कर्म गर्ने प्रेरणा मिल्नु भाग्यले गर्दा हो । कार्यमा सफलता मिल्न सक्नु पुरुषार्थ हो । भाग्यप्रति विश्वास अनिवार्य हुन्छ । कर्मप्रति क्रियाशील रहनु न्यायिक धर्म हुन्छ । कर्म नगरी परिणाम आउँदैन । परिणणको आशाले कर्म गरिन्छ ।
आशालाई निर्दिष्ट विन्दुमा पु¥याउने काम भाग्यले गर्दछ । जवसम्म भाग्यप्रति प्रतिवद्धता रहँदैन तवसम्म विश्वास रहन्न र श्रद्धा पनि हुन्न । यसैको सन्दर्भमा एउटा रोचक उदाहरण प्रस्तुत गर्न खोजिएको छ ।
एउटा कुनै देशमा एउटा सज्जन व्यक्ति साहुकोमा काम गर्दो रहेछ । ईमान्दारीका साथ काम गर्दा साहु पनि खुसी भएछ । धरै वर्ष काम गरेकाले केही समयपछि साहुकोमा काम गर्न आएनछ । सायद वेतन कम भएकाले नआएको हुन सक्दछ । पछि बोलाउने काम भएछ । तीन दिनपछि नोकर साहुकोमा आएछ । तव साहुले पाँचसय रुपियाँ वेतन बढाउने काम भएछ । नोकरले केही नभनी कार्य गर्न थालेछ । केही दिनपछि पुन: उ काम गर्न आएनछ । साहुलाई टिठ लागेछ । शंका बढेछ । लोभी रहेछ भनेर साहुले पाँचसय रुपियाँ वेतन घटाइदिएछ । वतन घटाए पनि निरन्तर कार्य गर्न आएछ । नोकर न खुसी देखियो न वेखुसी । कुनै शर्तविना कर्म भएछ । तव साहु छक्क परेछ र भनेछ — के तपार्इँ बाबा हुनुहुन्छ ? पाँच सय बढाउँदा पनि खुसी नदेखिएको र पाँच सय घटाउदा पनि दु:खी नदेखिएकोमा सेठलाई आश्चर्य लागेछ । तव नोकरले व्यक्त गरेछ । मेरो एक वालक जन्मेको छ, त्यो कुरा तपाईलाई बताउन समय मिलेन । घरमा नै बस्नुप¥यो । जव तपाईँले रु ५०० दिनुभयो तव मलाई लाग्यो बालकको भाग्यले भगवानले मलाई सहयोग गरेको हो । साहुले सोध्यो — तिमीले यति मीठो खवर मलाई किन नभनेको ? रु ५०० जव वेतन घटाइयो किन शान्त रह्यौ ? तव नोकरले भनेछ — अचानक मेरी हजुरआमाको देहान्त भएछ । संस्कारको कार्यमा लाग्दा यतिका दिन वितेको छ । जव तपाईले रु ५०० कम दिनुभयो तव मैले भगवानलाई सम्झँे, प्रार्थना गरेँ धन्य भनेँ । सेवकको कुराले सेठलाई आश्चर्य भएछ, पाउमा परेछ — तिमी वडा मानिस रहेछौ । तिमी सन्त रहेछौ । म तिमीलाई गुरु मान्दछु ।
भाग्य र पुरुषार्थ सँगै चलेको हुन्छ । एक अर्कासँग सम्वन्धित रहेछ । एकको अभावमा लक्ष्य पुरा हुँदैन त्यसैले भाग्य छ भनेर बसेर खान पाईँदैन । कर्म नगरी हुँदैन जसलाई भाग्यले पनि साथ दिनु पर्दछ । त्यसैले भन्न सकिन्छ भाग्य र पुरुषार्थको सम्वन्ध गहिरो छ देखिने कुरा होइन भोगिने विषय हो ।

सप्तरङ्गी रारा
— पोष चापागाई

मेरा अगाडि ठिङ्ग उभिएको आरूको बोटमा पहेँलपुर फूल फुलेका छन् । फूलतिर हेरिरहन्छु । मात लाग्छ फूलको । आरूका फूल कालिकोटदेखि देख्तै आइरहेको छु । अहिले रारावरपरका आरूका बोटमा शृङ्गार छ । लयात्मकता छ । अनुपम सौन्दर्य छ । म आरूको बोट बनेर राराको सौन्दर्य पिउन खोज्छु । सक्तिनँ । कति भाग्यमानी आरूका फूलहरू ! सधैँ राराको पानी पिउन पाउने ।
हामी उभिएको ठाउँबाट सिधै पर देखिन्छ हिउँ । पहिले त्यसलाई मैले हिमाल ठानेँ । होइन, त्यो त माटाको वा ढुङ्गाको पहाड पो रहेछ ! पहाडमा हिमवर्षा भएर हिउँ जमेको ठाउँ । राराका चुच्चे डाँडाको चीसो हिउँमा मैले न्यानो सौन्दर्य देखेँ । (हिउँ भएका ठाउँको नाम चुच्चेमारा पहाड रहेछ ।)
म झोक्राइरहेको थिएँ । निकै बेर भएछ । साथीहरू आउनुभयो । ‘जाऔँ, खाने बेला भयो, भोक लागेन ?’ ‘हुन्छ, लाग्यो’ भनेँ । होटलको खुड्किलामा टेक्तै माथि जान थाल्यौँ । पुगेर खाने कोठाभित्र पस्यौँ । हात चुठेर कोठातिर लाग्दै थिएँ, भित्तामा पढेँ – ‘राराको अवस्था : उचाइ २९९० मिटर । गहिराइ १६७ मिटर । लम्बाइ ५ कि. मि. । चौडाइ ३ कि. मि. ।’
होटलको आँगनमा दस–बाह«वटा टेन्ट गाडेका थिए । ती अहिले दिउँसो खाली थिए । हामी कोठाबाट निस्किएर तिनै टेन्टभित्र पसेर गफ भकुर्न थाल्यौँ । टेन्टभित्रको अवस्था पढेर मैले भनेँ – ‘घर सधैं अपूर्ण हुन्छ । कहिल्यै पुग्दैन मान्छेलाई । तर टेन्ट पूर्ण हुने रहेछ । सानो टेन्टभित्र सबै छ ठान्यो, सबै हुने । साँच्चै जीवन–दर्शन रहेछ टेन्ट ।’
घाम कम भएपछि फेरि हामी नयनाभिराम राराको रस निचोर्न निस्कियौँ । पानी रस । के रस निचोर्नु ! राराको रस जति निचोरे पनि उस्तै । डेगै चल्दैन त सौन्दर्य ! कसले निचोर्न हिम्मत गर्ने ? म नाथे रस निचोर्न खोज्ने !।
आर्मी बसेको ठाउँदेखि अलि पर घुम्दै थियौँ । उताबाट तीनजना लोग्नेमान्छे आए यता । उनीहरू उता जाँदै थिए । मैले उनीहरूसँग कुरा गरेँ । दौरा–सुरुवाल, कोट लगाएका मलीन ती तीन अनुहारमा अदम्य दमित सौन्दर्य देखेँ । कति नरम बोलाइ ! कति सदाशयता ! मुगुका मान्छे प्रकृतिको वरदान पाएका सभ्य प्रकृतिपुत्र हुन् जस्तो लाग्यो । हिजो सल्लेरीबाट घोडा चढ्दा पनि त्यहाँ देखेभेटेका साना–ठूला मान्छे नरम र मिजासिला लागेका थिए मलाई ।
डुल्दै थियौँ । पानीमा दुई–चार हाँस हामीजस्तै डुल्दै थिए । मैले आर्मी भाइसँग सोधेँ – ‘यहाँ केके चरा पाइन्छन् ?’ ‘चराबारे म केही जान्दिनँ । तर यहाँ धेरैथरि चरा पाइन्छन् । ह्लासादेखि पनि चरा यहाँ आउँछन् रे डुल्न ! बर्खामा त यो रारा तालमा यति धेरै चराचुरुङ्गी हुन्छन्, उड्छन्, भनिसाध्य छैन । छपक्कै ताल ढाकौँला जस्तो गर्छन् नौला चराले । वरपर वनभरि चरा देख्छु । सबै चराका नाम थाहा छैन ।’ उसलाई ‘धन्यवाद’ भनेर फेरि हामी डुल्न थाल्यौँ ।
‘फोटो खिचौँ ।’ ‘हुन्छ ।’ भकाभक हाम्रा अनुहार हाम्रा मोबाइलभित्र पस्न थाले । हाम्रो नजिकै साना भाइहरू घोडा तान्दै आएर भने – ‘हामी घुमाउँछौँ । पचास रु. दिए हुन्छ ।’
चढ्यौँ घोडामा । दुई मिनेटमा ओराले । अरू ओर्लिन थाले । मैले भनंँ – ‘त्यो ढकमक्क फूल फुलेको आरूको बोट घुमाऊ न । मलाई अनि तिमीलाई पनि पुण्य मिल्छ ।’ असजिलो मान्दै घुमायो फुच्चे भाइले ।
अहिले म त्यही आरूको बोटमुनि पल्टिएर पानीतिर हेर्दैछु । नीलनयना मृदु मुस्कानवाली नवनीत सुन्दरी, कोमलाङ्गी राराको लभमा परेर घुटुघुटु थुक निल्दैछु । साँच्चै, यति राम्री तरुनी (ताल) मैले संसार घुम्दा पनि देखेको छैन ।
म तालबाहिरको भूबनोट र प्राकृतिक सौन्दर्य सुँघ्न, हेर्न थाल्छु । पर देखिन्छ सल्लाको हरियो वन । वनमाथि डाँडाभरि हिउँ छ । रारा तालले सेतो टोपी लाएजस्तो लाग्छ हिउँको । हिम शिरोवस्त्र । मेरा अगाडि पोथ्रे घाँसका बिरुवामा राता लालगेडीका दाना देखिन्छन् । अहा, सुन जोख्ने लालगेडी ।
म अहिले तालको किनारमा लहराइरहेका लोङ्ता हेरेर बुद्धदर्शन सम्झिँदैछु । छेवैमा चुत्राको बोट छ । दिङ्लामा आमाले खुवाएको चुत्राको अचार सम्झिन्छु । मेरो अलि पर पानीसँगै चोटेलोको घारी छ । त्यता हेर्दै मनैमन भन्छु – यो रारा ताललाई कसैले चोरेर लान सक्तैन । किन यतिका सल्लाका रूखहरू आर्मीजस्तै काँधमा बन्दुक बोकेर उभिएका होलान् चारैतिर ?
‘उठौँ ।’ ‘हुन्छ ।’ फेरि हामी होटलतिर लाग्यौँ ।
बेलुका होटलतिर फर्किदै थियौँ । बाटोमुनि तालनजिकै ढकमक्क फुलेका फूलहरू देखेँ । त्यतिबेरै एकजना बुढा बा आउनुभयो । सोधेँ – ‘यहाँ फूल कत्तिको फुल्छ ?’
‘हजुरहरू पहिलोपटक हो यहाँ ?’ ‘हो ।’ ‘त्यसैले सोध्नुभो । यहाँ त बर्खा महीनामा यति धेरैथरि फुल फुल्छन् कि फूलको बास्ना आउँदा पनि मान्छे दिक्क मान्छन् ।’
होटलमा पुग्यौँ । रात छिप्पियो । किचेनमा पस्यौँ । खायौँ । ओछ्यानमा गुटमुटियौँ ।
रात बित्यो । बिहान उठेर काउन्टरमा गएँ । त्यहाँ थरिथरि बोतल देखेँ । सोधेँ – ‘केका बोतल हुन् ?’ उनले भने – ‘अल्पाइन, मार्फा, लालीगुराँसको फ्याक्ट्री छ यहाँ । यी बोतल फ्याक्ट्रीबाट ल्याएर बेच्न राखेको हो ।’ ‘ए’ भन्दै फर्किएँ ।
रारासँग बिदा माग्नुप¥यो भनेर बरन्डामा गएँ । हेरेँ । मनभरि खाएँ । होटलतल्तिर रारामाथि हरिया सल्लाका रूख छन् । सल्लाका रूखमुनि राराको सप्तरङ्गी पानी छचल्किँदैछ । रारापारि हरियो ठूलो वन छ । वनमाथिको चुच्चे डाँडाभरि सतै हिउँ छ । चारैतिर वनले घेरेको रारा ताल देखेर म मनैमन औधी रमाएँ ।
समय भयो । होटल भिलेज हेरिटेजबाट निस्कियौँ । झ¥यौँ । तालमा पुग्यौँ । आर्मीको नाउ लियौँ । चढ्यौँ । राष्ट्रिय वाणिज्य बैङ्क क्षेत्रीय कार्यालय नेपालगन्जका उपप्रबन्धक दिनेश ढुङ्गानासमेत पाँचजना पनि त्यही नाउमा हुनुहँुदो रहेछ । गफैगफमा उहाँहरू भिडियो खिच्न थाल्नुभयो । हात हल्लायौँ । मैले पनि गफ छाँटेँ । मनमोहक पानीको अमृत आस्वाद लिँदै, अत्युच्च सौन्दर्य हेर्दै पारि पुग्यौँ ।
पारि रारामाथि ठूलो चउर रहेछ । त्यहाँ एक्लै उभिएको रहेछ पोथ्रे सल्लाको बोट । मुनि ढुङ्गामा लेखेको रहेछ – ‘स्वर्गकी अप्सरा रारा … (स्व. राजा महेन्द्र)’
गाडी त्यहाँसम्म नआउने रहेछ । हिँड्यौँ । चउर सकियो । चउरमाथि वन सुरु भो । वनैवन उकालो हिँड्यौँ । हिँड्दा–हिँड्दा बल्ल गाडी देखियो ।
+ + +
मुगुको सल्लेरीसम्म पीच बाटो छ । जानुस् । आत्तिनुपर्दैन । पुगिन्छ । गाडीबाट ओर्लेर घोडा चढ्नुस् । सल्लाको वन, चउर हँुदै रारा पुग्नुस् । त्यहाँ निकुञ्ज, होटल, सैनिक क्याम्प देख्नुहुनेछ । पानी, हिउँ, वन, वनौषधि । यत्ति त हो रारा !
+ + +
आकाशबाट पृथ्वीमा झर्दा उछिट्टिएर मुगु पुगेकी भागीरथीको अर्को नाम हो रारा । दिव्य सौन्दर्य सुगन्ध रारा ।

महिला सशक्तीकरण र जीवना बादे
— निर्मला श्रेष्ठ

जीवना वादे श्रेष्ठ निडर हक्की स्वभावको व्यक्तित्व । उहाँले महिला सशक्तीकरण अभियानमा काभ्रे जिल्लामा ठूलो भूमिका निर्वाह गर्नुभएको छ । जे देख्यो त्यो दवाएर नराखी भनिहाल्ने हक्की स्वभावको कसले के भन्ला भन्ने डर नलिईकन अगाडि नै साँचो कुरा भन्न सक्ने क्षमता भएको झट्ट सुन्दा उहाँको कुरा सुन्न जोकोहीलाई गाह«ो पर्छ । तर यथार्थमा उहाँको साँचो कुरा नै लागू भई आउँछ । ऐतिहासिक घरमा जन्मेर सुखसयलमा हुर्की–बढी राजनीतिक जागरणबाट मात्र नेपाली जनतामा सुखशान्तिको अनुभूति हुने कुरामा विश्वस्त उहाँ जीवनभर निरन्तर लागे तापनि अवसरबाट वञ्चित व्यक्तित्व हुनुहुन्छ । क्षमता, योग्यता र दक्षता हुँदाहुँदै पनि कहिल्यै अवसर नपाएका कैयौँ व्यक्तिहरूमध्ये एकजना उहाँ पनि पर्नुहुन्छ ।
उहाँ गाउँगाउँमा पढेलेखेका मान्छे महिलाहरू नभएको बेलामा बीएल सकेर नेपाल वार एसोसिएसनसँग आबद्ध हुनुहुन्थ्यो । राजनीतिमा लाग्दै गर्दा न त आफूले सोचेको जस्तो शासन पाउनुभयो, न नगरी बस्न नै सक्नुभयो । त्यसैले कताकता निराश अनि अब केही हुन्छ कि भन्ने झिनो आशा लिएर अगाडि बढ्दै गरेका व्यक्ति हुनुहुन्छ जीवना बादे । बनेपाको नेपाली काङ्ग्रेसका धरोहर गोपालदास बादेकी माइँली छोरी, बनेपा न. पा. का पूर्वउपमेयर तथा पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेकी माइँली दिदी । नेपालमा हरेक पटकको ऐतिहासिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गर्दै प्रजातन्त्रमा त्यस परिवारको ठूलो भूमिका रहेको छ । गाउँगाउँबाट प्रजातन्त्रवादीहरूलाई संरक्षण र प्रवद्र्धन गर्ने मात्र होइन, राष्ट्रिय परिवर्तनका लागि लड्ने व्यक्तिहरू भूमिगत हुँदा लुकेर राजनीतिलाई जोगाएको धरोहर हो त्यो उहाँको घर । त्यसैले राजनीतिक संस्कारको विकास गर्न समूहमा बल हुन्छ । आफूले आफ्नो क्षमता वबृद्धि गरेर बस्नुपर्छ । हामीलाई लिन घरघरमा नै आउँछन् भन्ने उनको सिद्धान्त हो । मलाई जहिले पनि यसरी नै हौसला अनि साथ दिँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ ।
जीवना दिदीले मलाई समूहको बल कति हुन्छ, महिलालाई समूहमा आबद्ध कसरी गर्ने, कस्ता कामहरू गर्दै जानुपर्छ, दिदीबहिनीहरूलाई निरन्तर अगाडि बढाउन कसरी लागि पर्नुपर्छ भन्नेजस्ता कुरा सदैव सिकाइरहनुहुन्छ । आज म जहाँ उभिने कोसिस गरिरहेकी छु, त्यसको हरेक हिस्सा जीवना दिदीलाई श्रेय जान्छ । कहिलेकाहीँ हाम्रो विचार नमिल्दा मुख अँध्यारो नहुने भने होइन । तर उहाँले मलाई र मैले उहाँलाई नियतवश कहिल्यै अँध्यारो मुख लगाउनुपरेको छैन । उहाँले हाम्रो महिला जागरणलाई अगाडि बढाउन दिनुभएको सल्लाह–सुझाव, यो संस्थाको हरेक गतिविधिमा सहभागिता जनाउने, अप्ठ्यारो पर्दा साथ दिने, बेलाबखतमा अन्तरक्रिया चलाउने काम संस्थाको परिकल्पनादेखि आजसम्म पनि कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्दै हुनुहुन्छ । त्यसो त राजनीतिविना केही हुनै सक्दैन । क्षमता भएकाहरू निर्णायक तहमा आउनुपर्छ, तब मात्र देशले निकास पाउँछ भनी राजनीतिक मूलधारमा आउन हरतरहले कोसिस गराउने व्यक्ति पनि हुनुहुन्छ उहाँ ।
उहाँका समकालीन दिदीहरू शीला कतिला पनि राजनीतिबाट मात्र परिवर्तन सम्भव छ त्यसैले सक्रिय महिलाहरू राजनीतिमा आउन सधैँ झकझक्याउने । अर्का व्यक्ति चन्द्रलक्ष्मी ताम्राकार बितिसक्नुभएको छ । अम्बिका थापा पनि बितिसक्नुभयो । डा. अम्बुभवानी कार्की हाल तेजगङ्गा क्याम्पसका प्रमुख हुनुहुन्छ । कृष्णदेवी कायस्थ, माया बादे, राधा नकर्मी, सावित्री लामिछाने, कृष्णप्यारी नकर्मी, बिकुमाया शाक्य, इन्द्रकुमारी खड्का, सन्तकुमारी केसी, लुमडीदेवी सिग्देललगायतको हाम्रो एकीकृत महिला समाजका टीमले काभ्रेका राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय महिला हस्तीहरूको सन्जाल एकीकृत महिला समाज गठन गरी राजनीतिमा फरक धार भए तापनि महिलाहरूको साझा समस्यासँग मिलेर जानुपर्छ भन्ने सोचका साथ सहकार्य गर्दै आएको यो टिमको नेतृत्वमा नै २०६२–६३ को जन आन्दोलनमा नेपालको महिलाहरूलाई एकै ठाउँमा भेला गरी जनआन्दोलनमा थप उत्हास थप्ने कामको सुरुवात गराउन झकझक्याउनेमध्ये जीवना दिदी पनि एक हुनुहुन्छ ।
नेपालीहरू जुनसुकै पार्टी भए पनि साझा समस्यामा हामी नेपाली एकै स्थानमा नउभिए देश धरापमा पर्छ भन्ने सन्देश उहिल्यै अभ्यास भएकै हो । त्यसपश्चात् अन्तरपार्टी महिला सन्जाल भनी राष्ट्रले नै घोषणा ग¥यो । हाम्रो महिला जागरण समूह खोल्न जहिले पनि झकझकाउने र त्यही महिला जागरणबाट आज नारी जागरण र नारी जागरण संस्थाहरू जस्तैको सन्जाल नारी चेतना केन्द्र नेपाल, नेपाल भरका महिला सहकारीहरूको सन्जाल संस्था महिला उद्यमी उपभोक्ता सहकारी जहाँ २०० संस्थाहरूको सन्जालले अब खाली महिलाहरू बचत ऋण मात्र होइन उद्यमी बन्नुपर्छ भन्ने नयाँ आयाम लिएर त्यस महिला उद्दमीको सचिवको हिसावले म नेपालको सातै प्रदेशमा देश डौडाह अभियान सञ्चालन गर्दैछु । अब ‘विदेशी होइन स्वदेशी रोजौँ, विषादी होइन अर्गानिक नै खोजौँ’ भन्ने मूल नाराका साथ आफ्ना देशका युवा विदेशमा होइन, स्वदेशमा नै आफ्नो स्थानीय उपलब्ध स्रोत र साधनको परिचालन गर्न आफ्नो देशमा नै फर्कनुपर्छ । देशमा उद्यम गरेर आफ्ना अर्गानिक सामान विदेश निर्यात गर्नुपर्छ र स्वरोजगारी सिर्जना गरी बिदेशिन बाध्य युवालाई आफ्नै देशमा आकर्षण गर्नुपर्छ भन्दै पछाडि परेका महिला वर्गबाट सहकारीका माध्यमले यस महान् अभियानको सुरुवात गराउनका लागि मेरो अभियान जारी छ । यो अभियानको पहिलो खुड्किलो चढाउने मेरी आदरणीय दिदी जीवना बादे नै हुनुहुन्छ ।
आज जस्तोसुकै कठिन घडीमा नआत्तिन र नमात्तिन सुझाव अनि सल्लाह दिंँदै संस्थागत रूपमा अगाडि बढ्न सुरुदेखि हालसम्म निरन्तर अगाडि बढ्नका लागि साथ सहयोग गर्नुहुने आदरणीय दिदीप्रति सदा–सदा आभार प्रकट गर्दै दिदीले देखाउनुभएको बाटोलाई सधैँ सफा राख्ने कोसिस गर्नेछु भन्दै हार्दिक नमन गर्न चाहन्छु ।

शूद्रबाट ब्राह्मणलाई गीताज्ञान
— मुकुन्दप्रसाद उपाध्याय

‘गीता’ को अर्थ ज्ञान हो । अनेकथरि गीताहरू छन् — शिवगीता, रामगीता, अष्टावक्रगीता, यमगीता र पछिल्लो चर्चित गीता हो श्रीमद्भगवद्गीता । अन्य ज्ञानमा र गीताज्ञानमा केही भिन्नता छ । जीविका निर्वाह हेतु अनेक ज्ञानहरू चाहिन्छ, खेतीपाती र पशुपालनको ज्ञान, क्रय–बिक्रय व्यापारको ज्ञान, उद्यमशीलताको ज्ञान, राजनीति र कूटनीति आदिको ज्ञान, अनेकथरि शिल्पज्ञान, कलाज्ञान, सिर्जनाज्ञान, अनुसन्धानात्मक ज्ञान आदि हुन सक्छन् । तर यहाँ गीताको ज्ञान भन्नेबित्तिकै जीव र जगत्सम्बन्धी रहस्यबोध, आत्माको ज्ञान, चैतन्य ज्ञान अनि समग्रमा भन्नुपर्दा ब्रह्मज्ञान भन्ने बुझिन्छ । हामी जीवात्मालाई परमात्मातिर अभिमुख गराउने, हामी पशुहरूलाई पशुपतितिर डो¥याउने, पुनरपि जननम् पुनरपि मरणम्को पुनर्जन्मको गोलचक्करबाट मुक्त गराउने ज्ञान र सृष्टिको कार्यकारण सिद्धान्त, क्षेत्र र क्षेत्रज्ञ सिद्धान्त आदिको ज्ञान नै गीताज्ञान हो, जसभित्र प्रकृति र पुरुषको ज्ञान, पुरुष र परमपुरुषको ज्ञान, आदिशक्ति महामायाको प्रभावको ज्ञान आदि पर्दछन् ।
चर्चित महाभारत महाकाव्यभित्रको युद्धारम्भमा श्रीकृष्ण र अर्जुनबीचको ७०० श्लोकको संवाद, जसलाई श्रीमद्भगवद्गीता भनिन्छ, यति धेरै लोकप्रिय भयो कि पूर्वगीताहरूलाई नै ओझेलमा पारिदियो । महाभारतभित्र पनि वनपर्वमा कौशिक ब्राह्मणलाई शूद्र कुलमा जन्मेको कसाई पेसा लिने धर्मव्याधले दिएको लामो उपदेश पनि आफैँमा पूर्ण गीताज्ञान प्रतीत हुन्छ । सायद शूद्रको मुखबाट ब्रह्मज्ञान प्रवाह भएकाले महाभारतकालपछिका ब्राह्मणबाट पण्डितवर्गको बोलवालाका कारण प्रचारप्रसार नै गरिएन । वेदको अध्ययनमा जीवन उत्सर्ग गरेका ब्रह्मचारी कौशिक ब्राह्मणलाई एक दिन भिक्षाटन गर्न जाँदा केही विलम्ब हुनासाथ क्रोधित भएको देखी एक सती स्त्रीले यिनी आलाकाँचा रहेछन्, यिनको उद्धार गर्नुप¥यो भनी आफूले सङ्क्षिप्त उपदेश गरी धर्मको मर्म बुझ्न चाहन्छौ भने मिथिला नगरीमा एक धर्मव्याध नामक शूद्र तर महाज्ञानी छन्, तिनीसमक्ष जाऊ भनेपछि कौशिक ब्राह्मण त्यहाँ जान्छन् र धर्मव्याधसँग लामो वार्तालाभ गरेर फर्केको कथा–प्रसङ्ग महाभारत वनपर्वमा मार्कण्डेय मुनिले युधिष्ठिरलाई बताउनुभएको छ । वनपर्वको करिब सात अध्यायमा विस्तारित धर्मव्याधले कौशिक ब्राह्मणलाई दिएको उपदेशमा शिष्टाचारको वर्णन, धर्मको सूक्ष्म गति, फलभोगमा जीवको परतन्त्रता, जीवात्माको नित्यता, कर्मको शुभ–अशुभ परिणाम, इन्द्रियसंयमले हुने लाभ र असंयमले हुने हानि, त्रयगुणको स्वरूप र ब्रह्मसाक्षात्कारको उपाय सरल भाषामा वर्णन गरिएको छ ।
गीताज्ञानको यो सङ्क्षेपीकरणका दुई उद्देश्य हुन सक्छन् । एउटा त भगवान् श्रीकृष्णले कुरुक्षेत्रको युद्धमैदानमा अर्जुनलाई गीताज्ञान दिँदा सो ज्ञान अर्जुनले अनि महर्षि व्यासबाट दिव्यदृष्टि पाएकाले सञ्जयले र सञ्जयको मुखबाट राजा धृतराष्ट्रले मात्र सुन्न पाए । रणभूमिमा एकत्रित अन्य वीर महापुरुषहरू त्यसबाट वञ्चित रहे । पाण्डवहरूमा श्रीकृष्णको अर्जुनप्रति अत्यन्त स्नेहभाव थियो भने महाराज युधिष्ठिरप्रति अत्यन्त आदरभाव । महाराज युधिष्ठिर ज्येष्ठ भ्राता, साक्षात धर्मराज भएकाले गीताज्ञानको सार युधिष्ठिरले पनि प्राप्त गरून् भन्ने श्रीकृष्णको प्रयोजनार्थ महाभारत वनपर्वमा यो कौशिक ब्राह्मण र धर्मव्याधको संवाद आएको हुनुपर्छ ।
यो संवादको अर्को प्रयोजन के हो भने श्रीकृष्णलाई महाभारत युद्ध हुने भएपछि पाण्डवलाई विजयी गराउनुपर्ने थियो । सोका लागि गुरु द्रोणाचार्य बाधक हुन सक्थे । उनका पुत्र अश्वत्थामा अष्टचिरञ्जीवीमध्येका एक थिए अनि अश्वत्थामा मरेको दु:खद समाचार सुनेपछि मात्र द्रोणले देह त्याग गर्ने स्थितिमा द्रोणबधका लागि कहिल्यै झूटो नबोल्ने धर्मराज युधिष्ठिरको मुखबाट ‘नरो वा कुञ्जरो वा अश्वत्थामा हतोहत:’ बोलाउनुपर्ने थियो । त्यसको पूर्वतयारीका लागि कौशिक ब्राह्मण र धर्मव्याधको संवाद भनाइयो अर्का चिरञ्जीवी मार्कण्डेय मुनिको मुखबाट । धर्मव्याधले भनेको छ कि धर्मका विषयमा केवल वेद मात्रै प्रमाण हो तर पनि धर्मको गति अति सूक्ष्म छ, गहन छ । यसका अनेक शाखाहरू हुन्छन् । वेदमा त सत्यधर्म र असत्यधर्मका बारेमा बताइएको छ, परन्तु यदि कसैको प्राण सङ्कटमा परेको छ र त्यहाँ असत्य भाषण गर्दा उसको प्राण बच्तछ भने त्यस्तो परिस्थितिमा असत्य बोल्नु पनि धर्म हो । त्यो असत्य भाषणले सत्यको काम गरिरहेको हुन्छ । समग्र प्राणीहरूको हित हुने यस्तो असत्य बोलीले सत्यकै प्रतिपादन गरेको हुन्छ अरे । धर्मव्याधको यो उपदेश महाराज युधिष्ठिरको मनमस्तिष्कमा गढेर बसेको कारणले नै उनले कुरुक्षेत्रमा लोकहितका लागि, धर्मको विजयका लागि ‘नरो वा कुञ्जरो वा’ अभिव्यक्ति दिन सकेका हुन् । नत्र युधिष्ठिरले भनिदिने थिए कि भीमले अश्वत्थामा नाम गरेको हात्ती मारेका हुन्, गुरुपुत्र अश्वत्थामा होइन भनेर । यति त्यसो भनेका भए सायद महाभारत, जुन धर्मयुद्ध थियो, त्यसमा असत्यले पो जित्ने थियो कि !
धर्मव्याध र कौशिक ब्राह्मण संवादको अनेक प्रयोजन भए तापनि त्यो संवाद पढेपछि गीताज्ञानको सारांशको रसास्वादन गर्न सकिन्छ ।

महर्षि विशुद्धदेव एवं दिव्य साधनासूत्र
— डा. इन्दुल केसी

योगाचार्य उद्धवप्रसाद भट्टराईले लेखक एवं सङ्कलक भई प्रकाशन गर्नुभएको ‘महर्षि विश्ुद्धदेव एवं दिव्य साधनासूत्र’ नामक किताब पढ्ने सुअवसर मैले पाएँ । हृदयस्पर्शी, महानतम अनुभूति, विशिष्टतम साधना, आत्मज्ञानपरक, ज्ञानवद्र्धक आध्यात्मिक विचार, प्रेरक, भक्तिरसपूर्ण एवं रहस्यमय ज्ञानविज्ञानले ओतप्रोत भएको जीवनोपयोगी, नेपाली भाषामा लेखिएको यो पुस्तक पढ्ने र यसमा रहेका अमूल्य ज्ञान र सीप जीवनमा अवलम्बन गर्ने सबैको जीवन धन्य हुनेछ ।
लेखक उद्धवप्रसाद भट्टराईका आर्थिक, सामाजिक, आध्यात्मिक, शैक्षिक, राजनीतिक, प्रसिद्ध महात्माहरूको जीवनी तथा सन्देश र चारित्रिक चेतनासम्बन्धी लेखरचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइरहेको हँुदा धेरै पाठकहरूमा उहाँ परिचित व्यक्ति हुनुहुन्छ ।
भारतको जम्मू–कास्मिरमा जन्मनुभएका स्वामी १००८ सच्चिदानन्द विशुद्धदेव (पूर्णचन्द्र शर्मा) ले दिल्ली विश्वविद्यालयबाट भौतिक शास्त्र, राजनीतिक शास्त्र र दर्शनशास्त्र तीन विषयहरूमा स्नातकोत्तर गर्नुभएको, साथै वेद, वेदान्तशास्त्र, पुराण, योग, मनोविज्ञान र आयुर्वेदशास्त्रको प्रचुर ज्ञान हासिल गर्नुभएको थियो । उहाँले मानसरोवर कैलाश पर्वतनजिकै रहेको गन्धमादन पर्वतमा बीस वर्षसम्म कठोर तपस्या गर्नुभएको थियो । उहाँ चारित्रिक चेतना र आध्यात्मिक ज्ञानप्रसारका सिलसिलामा विश्वका सयौँ मुलुकहरूको यात्रा गरिसकेपछि सन् १९८३ मा नेपाल आउनुभयो । नेपालमा उहाँको बसाइ विगत १८ वर्षमा दाङ जिल्लाको बेलझुन्डी, काठमाडौं स्वयम्भूको गीतामन्दिर, लालदरबार तथा काभ्रे जिल्लाको जनागालस्थित हंसदा आश्रममा रहेको थियो । उहाँले नेपालमा चरित्र निर्माण सङ्घको स्थापना गरी ‘चरित्र विज्ञान’ किताब लेखी प्रकाशित गर्नुभयो । नेपालमा हजाराँै शिष्यहरूलाई योग–ध्यान आदिको शिक्षा दिनुका साथै सयौँजनालाई दीक्षा प्रदान गर्नुभयो । स्वामी विशुद्धदेवका शिष्यहरूमा तत्कालीन दरबारका उच्च पदमा रहेका शाही परिवार, राणा परिवारका व्यक्तिहरू, निजामती, सैनिक, बहालवाला तथा भूतपूर्व कर्मचारीहरू, प्रोफेसर, लेखक, बुद्धिजीवी तथा सयौँ महिला र सज्जनहरू थिए । उनीहरूले उहाँसँग प्रत्यक्ष साक्षात्कार गरी दिव्य चारित्रिक ज्ञान हासिल गरेका थिए । यसै क्रममा उक्त किताबका लेखक उद्धवप्रसाद भट्टराई र यो लेखका लेखकले पनि उहाँबाट शिक्षा प्राप्त गर्नुका साथै दीक्षित हुने सौभाग्य पाएका थियौँ ।
‘महर्षि विशुद्धदेव एवं दिव्य साधनासूत्र’ पुस्तकमा २६८ पृष्ठ छन् । यसको आकर्षक आवरणकला माधवप्रसाद भट्टराईले तयार गरेको स्वामी विशुद्धदेवको रङ्गीन चित्रले सजिएको छ । यो पुस्तक ५ भागमा विभक्त छ । प्रथम भागमा सनातन चारित्रिक पुरुष श्री १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवसँगको साक्षात्कारबाट पाएका स्वर्णिम ज्ञान र अनुभूतिहरू अन्तर्गत विभिन्न ७ वटा लेखहरू छन् । दोस्रो भागमा वैदिक ऋषिहरूको विचरणस्थल हिमालय क्षेत्रको सामान्य परिचय अन्तर्गत ५ वटा लेखहरू छन् । तेस्रो भागमा स्वर्णिम साधना एवं चिन्तनअन्तर्गत २४ वटा लेखहरू छन् । चौथौ भागमा श्रीमद्भागवत महापुराणसँग सम्बन्धित केही दिव्य ज्ञानमय कथाअन्तर्गत ५ वटा लेखहरू छन् । पाँचौँ भागमा केही महापुरुषहरूको सङ्क्षिप्त जीवनकथाअन्तर्गत ५ वटा लेखहरू छन् । यसरी यस किताबमा जम्मा ४३ वटा गहकिला लेखहरू रहेका छन् । यो किताब तयार गर्न लेखकले सन्दर्भसामग्रीका रूपमा ३८ वटा विभिन्न पाठ्यसामग्रीहरूको फेहरिस्त उल्लेख गर्नुभएको छ ।
तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य डा. स्वामी प्रपन्नाचार्यले आफ्नो शुभकामना मन्तव्यमा लेख्नुभएको छ — “मेरा अनन्य मित्र स्वामी विशुद्धदेवजीलाई अँगालेर उद्धवप्रसाद भट्टराईले स्वामीजीका बारेमा एउटा परिच्छेद नै पूरा लेखेर स्वामीजीको धेरै ऐतिहासिक कुरा प्रस्ट पार्नुभएको छ । यो अत्यावश्यक काम थियो, जो उद्धवजीले पूरा गर्नुभएको छ ।”
शङ्कराचार्य मठ देवपत्तन पशुपतिका डा. स्वामी रामानन्द गिरिले शुभ सम्मतिमा लेख्नुभएको छ — “यस ग्रन्थमा योगाचार्यजीले गागरमा सागर भरेझँै जीवनका लागि अत्यन्त उपयोगी अमूल्य रत्नहरूको सङ्ग्रह गर्नुभएको छ । यो ग्रन्थमा के छैन ? सद्गुरुको लक्षण यस ग्रन्थमा छ भने सत्शिष्यको लक्षण पनि यसमा छ ।”
राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो मन्तव्यमा लेख्नुभएको छ — “महर्षि विशुद्धदेव एवं दिव्य साधनासूत्र नामक पुस्तकका प्रणेता योगाचार्य उद्धवप्रसाद भट्टराईले महर्षिको जीवनचरित्रलाई सरल शैलीमा लेखेका छन् र स्थितिगत्यात्मक दर्शनलाई पनि रोचक शैलीमा लेखेका छन् ।
मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमानदारी भन्ने स्वामी विशुद्धदेवको महावाणीलाई आत्मसात गरी लेखकले लेखेको यस किताबमा रहेका सबै लेखहरू रोचक र ज्ञानवद्र्धक छन् । मानव–जीवनमा चरित्रको ठूलो महàव रहन्छ । सबै मानिसहरू चरित्रवान् हुन सके यो धर्ती स्वर्ग हुनेछ । चरित्रवान् हुनुका साथै मानिसहरूलाई सही शिक्षादीक्षा प्राप्त हुनु जरुरी छ । मानिसहरू निरोगी हुनु पनि अत्यावश्यक छ । यसका लागि अति महàवपूर्ण कुराहरू योग संस्कृति, आध्यात्मिक साधना, योगसाधना, अष्टाङ्गयोग (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, निर्वाण वा समाधि) का बारे पनि यस किताबमा विषद् रूपमा चर्चा गरिएको पाइन्छ । यस किताबमा श्रीमद्भागवत् महापुराण महात्म्य, ऋषि गुरु दत्तात्रय, भगवान् श्रीकृष्ण, सन्त तुलसीदास, महात्मा गौतम बुद्ध र शिवपुरी बाबाका बारे पनि समुचित चर्चा गरिएको छ ।

सर्वभक्षी बाहुनलाई ज्यानसजाय दिए हुन्छ
— प्रा. सुरेशराज चालिसे

देशमा प्रजातन्त्र आएपछि सबै राम्रो होला भन्ने आशा गरेकोमा हाम्रो पद्मोदय हाइस्कुललाई भने अकस्मात एउटा आपत आइलाग्यो । म कक्षा ९ मा छँदा नै २००८ को अन्तिमतिर होला हामी पढिरहेको स्कुल भवन संस्कृत स्कुलको हो भनेर हामीलाई त्यो भवन छोड्न बाध्य गरियो । विद्यार्थीहरूले धेरै विरोध गरे पनि केही लागेन । हाम्रा मास्टरसाहेबहरूले पनि आफूले गर्ने ठाउँमा कुरा गर्नुभएकै थियो होला । तर विद्यार्थी र शिक्षकहरूको केही सुनुवाइ भएन र अन्त्यमा हामीले पद्मकन्या विद्याश्रमको भवनमा शरण लिनुप¥यो । त्यहाँ गर्मीमा पद्मकन्याको कक्षा बिहान हुन्थ्यो, हाम्रो दिउँसो । जाडोमा उनीहरूको दिउँसो हुन्थ्यो, हाम्रो बिहान । यस्तो अप्ठ्यारो परिस्थिति पर्न गयो हामीलाई । त्यस बेला माहिँला गुरुज्यूले अड्डी लिएर संस्कृत स्कुललाई नै त्यो भवन चाहिने भनेकाले हामीले त्यो भवन छोड्नुपरेको भनिन्थ्यो । माहिँला गुरुज्यूलाई संस्कृत शिक्षाका पक्षपाती र अङ्ग्रेजी शिक्षाका विरोधी पनि भनिन्थ्यो । उनी राणाशासनका कट्टर समर्थक थिए रे ! मेरा पिताजीलाई इन्द्रजात्रा काण्डमा ज्यानसजाय दिने बारे उनीसँग सल्लाह हुँदा सर्वभक्षी भएकाले बाहुनै भए पनि ज्यानसजाय दिए हुन्छ भनेका थिए रे !
जे होस्, हामीले त्यो भवन छोड्नुपर्दा हामीलाई धेरै समस्या प¥यो । पछि पुतलीसडकमै अलि पर पद्मोदयको आफ्नै भवन बन्यो, तर हामीले एसएलसी परीक्षा दिएको केही वर्षपछि ।
प्रजातन्त्र आएपछि कतिपय राणाहरूले खुलेरै प्रजातन्त्रको स्वागत गरे । त्यसमा अग्रणी प्रसिद्घ नाटककार बालकृष्ण शमशेरले आफ्नो ‘शमशेर जङ्गबहादुर राणा’ भन्ने थर नै बदलेर ‘सम’ अर्थात् अरू जनताजस्तै र उनीहरूको समान नै म पनि हुँ भन्ने भावको थर राखे । उनका परिवारले पनि ‘सम’ थरलाई नै अँगाले । बालकृष्ण समले बीपी कोइरालाको आह्वानमा आफ्नो घर–कम्पाउन्डको पर्खाल होचो बनाई बाहिरबाटै आफ्नो घर देखिने बनाए । बीपी कोइरालाले काठमाडौँका राणाहरूलाई पर्खाल होचो पारी आफ्ना राम्रा दरबारहरू बाहिरबाट पनि देखिने बनाउन आह्वान गरेका थिए । हुन पनि काठमाडौँ त्यस बेला राणाहरूका क्याम्पामा लगाइएका पर्खालहरूले घेरिएको थियो भने पनि हुन्छ ।
बालकृष्ण सम घरबाट रेडियो नेपाल जाँदा साइकलमा पुतलीसडक हुँदै जान्थे । उनलाई हामी विद्यार्थीहरू ‘नमस्ते’ भन्थ्यौँ । उनी पनि सबैको नमस्कार फर्काउँथे । हामी उनको व्यक्तित्वबाट ज्यादै प्रभावित थियौँ र उनलाई बडो आदर गथ्र्यौं ।

धनेश्वरमा गोदार थापाको कुलमन्दिर
— राजाराम थापा

काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ११ र पनौती नगरपालिका वडा नं. ५ मा पर्ने प्रख्यात धनेश्वर गाउँमा सतीदेवीको दाहिने कान पतन भएको रमणीय भूमि छ । सिन्धुली जिल्ला खनियाखर्कबाट बसाइँसराइको क्रममा पलाञ्चोक र ओपी हुँदै यस धनेश्वर गाउँमा गोदार थापाका वंशज २ भाइ कनकसिंह गोदार थापा र कर्मसिंह गोदार थापा वि. सं. १७१६ तिर आई बसोबास गरेका रहेछन् ।
ती गोदार थापाहरूले आफ्नो कुलपूजा बनेपास्थित ओपीमा गर्दै आएकोमा वि. सं. १९७६ तिर उक्त कुलपूजा धनेश्वरको वस्तीमाथि रमणीय जङ्गलको छेउमा गर्न थालेछन् । जनसंख्या बृद्धि भएपछि आपसी मनमुटावका कारणले पछि धनेश्वरमा ४ समूह भएर कुलपूजा धान्यपूर्णिमाका दिन गर्ने चलन चलाइएछ ।
त्यसपछि २०५० सालमा सम्पूर्ण गोदार बन्धु बसी एक समिति गठन गरे । कुलका धामी उतारी सबै बन्धुहरूले मिलेर एकै ठाउँमा कुलपूजा गर्न प्रत्येक घरधुरीका सदस्यबाट १००१ रुपियाँ लिइयो । समिति गठन गरेपछि कुलपूजा परिसरमा मन्दिर स्थापना गरी शौचालय र चौतारी बनाइयो । विश्रामको लागि कुर्सी राखियो । विभिन्न जातका फूलका विरुवा रोपियो । स्वस्थ पिउने पानीको व्यवस्था गरियो । उक्त स्थानमा भैरवभान्जा, बारमस्ट, क्षेत्रपाल, कश्यप ऋषि, भैरव, वीर, सरस्वती, गणेश, भगवती, भीमसेन र संसारीदेवीको मूर्ति स्थापना गरियो ।
त्यसै स्थानमा मङ्सिर पूर्णिमाका दिन पूजासामग्री बोक्ने महिलाको लाम लाग्छ । बाजागाजा बजाइन्छ । डोलीमा कुलदेवदेवीलाई राखी १३ जना धामीद्वारा हातमा घण्ट र चम्बर लिई ती धामि नाच्दै खेल्दै पुजाआजा गर्ने परम्परा छ ।
कुलपूजा गरिने स्थानबाट नाला, बनेपा, धुलिखेल, खड्पु सहर हेर्न सकिन्छ । बिहान हिमाल र हरियो जंगल हेर्नसमेत त्यो ठाउँ उपयुक्त छ । जोकोही पनि त्यहाँको वातावरण हेर्दा लोभिन्छन् । उक्त उल्लेखनीय कार्य सोही गाउँनिवासी राजाराम थापाको पहलमा सम्पन्न भएको हो ।

तपाईंको मित्र कस्तो प¥यो ?
— सहदीप पलान्चोके

चाणक्यका अनुसार —
पछाडि बुराई गर्ने, काम बिगार्ने, अगाडि प्रशंसायुक्त मधुर स्वरमा बोल्ने मित्रलाई त्यागिदिनुपर्छ । यस्तो मित्र विषरुपि घडामाथिको अलिकति दुध हो । प्रत्यक्ष सत्रुभन्दा धेरै खतरनाक हो । प्रत्यक्ष सत्रुलाई देख्नेबित्तिकै सतर्क हुन्छ । तर त्यस्तो मित्रबाट कहाँ, कहिले, कतिखेर प्रहार हुन्छ भन्न सकिन्न ।
कुमित्रलाई भुलेर पनि विश्वास नगर, मित्रमाथि पनि पुरा विश्वास नगर र आफ्नो सबै रहस्य नबताऊ किनकि उ कुनै दिन रिसायो भने तिम्रो सबै पोल खोलिदिन्छ । त्यसैले दुबै प्रकारको मित्रमाथि पुरा विश्वास गर्नु हुँदैन ।
मित्रता सधै आफ्नो समानको ब्यक्तिसँग मात्र गर्नुपर्छ । समान स्तर नहँुदा त्यस प्रकारको मित्रता दु:खदायी हुन सक्छ ।
धनवान्सँग धेरै मित्र हुन्छ । उसको सबै मित्रले आफ्नो काम निकालेर उसलाई मुर्ख बनाउदछ । धनवान् त्यसलाई आफ्नो गौरब मान्दछ ।
प्रत्यक मित्रता स्वार्थमा आधारित हुन्छ । बिनास्वार्थ कसैले कसैलाई मित्रता राख्दैन । यो कटु सत्य हो ।
संकटको समयमा काम आउने सच्चा मित्र हो । सुखमा सबैले साथ दिन्छ । संकटकालमा मित्रता परख हुन्छ ।
मित्रता त्यही हो जसले मित्रको रक्षा गर्दैछ । मित्रता बन्धुत्वभन्दा ठुलो हो ।
सर्पसँग न्याउरी मुसाको, बाख्रीसँग बाघको, हात्तीसँग कमिलाको र शेरनीसँग कुकुरको मित्रता हुन सक्दैन । त्यसै प्रकार दुर्जन र सज्जनको मैत्री हुन सक्दैन । त्यो केवल देखावा मात्र हो ।
जस्तो संगति हुन्छ त्यसै प्रभाव अवश्यक हुन्छ । जस्तो मित्र हुन्छ त्यस्तै ब्यबहार हुन्छ । त्यसैले यस कुरामा ध्यान राखेर राखेर मात्र मित्रता गाँस्नुपर्दछ ।
मित्र त्यही हो जसले गुणको बदला गुण, पसिनाको बदला खुन बगाइदेओस्, तव त सच्चा मित्र ।
मित्र परिवारको युवतीसँग सम्वन्ध बढाउने मनुष्यभन्दा ठुलो पापी अरु हुदैन ।
सुदामा कृष्ण, कृष्ण अर्जुन, विभीषण राम र कर्ण दुर्योधनको मित्रता अनुकरणीय मानिएको छ । त्यसैले त्यस्तो मित्रता निभाउनुपर्छ ।
स्वार्थको धरातलमा गरिएको मित्रता कालान्तरमा शत्रुतामा बदलिन्छ । त्यसैले मैत्री ग्रहण पूर्ब खुव सोचबिचार गर्नुपर्ने साधुजनको काम हो ।
पुत्र लक्का जवान र ठुलो भएपछि उसँग बराबरको मित्रवत ब्यवहार गर्नुपर्दछ ।

कोरोना
— दामोदर घिमिरे

कोरोना यहाँ को हाँस्ना त्यहाँ विश्वजगत हल्लिदैछ
वर्डफ्लु र स्वाइनफ्लुले हजारौंको प्राण लिएको छ ।
भिडभाड छोडी स्वच्छ हावा सफा राखौं घरकोठा
साबन लगाई हातखुट्टा र सरफपानीले लुगाकोठा ।
नखाउँ चीसो बजारी खाना सागसव्जी धोइपाखाली
कोरोनावाट जोगिउ जोगाउ मनको डरत्रास फाली ।

मुक्तक
— पुण्यवती घले

विनाकारण तिमीसँग छुट्टिएर बस्नुपर्दा
जीवनभर यी आँखामा आँसुहरू खस्नुपर्दा
तिम्रो कारण मेरो भाग्य ढुङ्गालाई झैँ तोड्नुप¥यो
के पाएँ र खुसी मैले माया लगाई छोड्नुप¥यो

कोरोना भाइरस
— अनिता भण्डारी (पौडेल)

पासपोर्ट भिसा अनुमती नचाहिने टिकट पनि छैन साथमा
किन यसरी भौतारिरहेका छौ कोरोना शक्ति बोकी हातमा
सुरु गर्यौ चाइनाबाट उदेश्य के बोकी बिश्व भ्रमण गर्दैछौ भन
विश्वयुद्द गर्न सक्ने राष्ट्र पनि झुकिरहेका छन् तिम्रो गाथमा
अरु देशमा तिमी आएको संकेत परिक्षणले पत्ता लगाउछन्
हाम्रो देशमा छैन कुनै परीक्षण जे लेखेको उही हुन्छ रे माथमा
स्कूल कलेज बच्चालाई नपठाउ त बिग्रेलान भन्ने डर उस्तै
दिनभरी मनमा त्रास हुन्छ यस्तै कुराले निन्द्रा छैन रातमा
अफिस नजाउ अनि नपठाउ कति दिन डराउने भन्छौ हामीनै
कोरोना पो लुकेको छ कि भन्दै झस्किरहन्छौ हरेक बातमा
हात नमिलाऊ एक अर्कामा भन्छौ सबै काम गर्ने फेरी हातै हो
न त माक्स छ न त सेनीटाइजर र पनि नेपाली छौ ठुलै आँटमा

केही सहज केही असहज
— पदम दाहाल

हाँस्ने फूल बगैंचामा बोकी शीत रमाउँछ
तन्नेरी वासनादार जुनी जोडी बिलाउँछ ।
अँध्यारो हुन्छ के औँसी उजेलो जून झुल्किए ?
देखिन्न दुस्मनी द्रोही विवेकी मन खुल्दिए ।
पूर्णिमा बन्छ के कालो चन्द्रिका नै खुलेपछि ?
दिन्छ के दीपिका कान्ति साम्ने सूर्य उठेपछि ?
सौन्दर्य गुम्छ मान्छेको गुणी गुण झरेपछि
रम्रेको हुन्छ के धर्ती हरियाली हरेपछि ?
अज्ञेय अग्निको रूप बन्छ झल्मल झल्झल
नियन्ता नहँुदा झिल्को त्यही विस्मय हल्हल ।
छाँगो र बेग पानीको झर्दा शोभन सुन्दर
पानी हो किन्तु त्यै भेल बाढी पैरो भयङ्कर ।
बच्चाको बन्छ स्वादिष्ट तोतेबोली मिठैमिठो
मान्छे छिप्पिन्छ खस्रिन्छ त्यही बोली हुने तितो ।
श्रद्घेय सम्झिए बाबुआमा ईश्वरझंै हुने
जन्जाल जाल सम्झेमा उनै आश्रममा रुने ।