शिव, बुद्ध, क्राइस्ट, मुहम्मद, राम, सबमा सद्मति देऊ भगवान्
हिन्दू, बौद्ध, क्रिस्चियन र मुसलमान, सबमा सद्मति देऊ भगवान् ।
धर्म–धर्मबीच विभेद नहोस्, रङ्ग–रङ्गमा पनि भेद नहोस्
सबको बढोस् यश सबको ज्ञान, सबमा सद्मति देऊ भगवान् ।
मानिस वर्णमा विभक्त नहोस्, न्याय मात्र होस् अन्याय नहोस्
सबको होस् जय सबको मान, सबमा सद्मति देऊ भगवान् ।
जातपातको सब भेद मेटियोस्, छुवाछुत पनि कहीँ नभेटियोस्
उँचनीचको पनि नरहोस् भान, सबमा सद्मति देऊ भगवान् ।
ईष्र्या र द्वेषको भेल हटोस्, रिस र रागको मेल हटोस्
प्रेम सबमा होस् सबमा शान, सबमा सद्मति देऊ भगवान् ।
लिङ्ग–लिङ्गबीच पनि फूट नहोस्, सत्य मात्र होस् कहीँ झूट नहोस्
अनीति हटाउन जाओस् ध्यान, सबमा सद्मति देऊ भगवान् ।
कर्तव्यबोध सबैमा रहोस्, विश्वभर नै अविवेक नहोस्
विश्वशान्तिका निम्ति गरियोस् गान, सबमा सद्मति देऊ भगवान् ।
क्रोध, घमण्ड, अहम् नरहोस्, सबमा आफू रहेसरि होस्
अरूको भलोमा जाओस् प्राण, सबमा सद्मति देऊ भगवान् ।