Home Blog

सुन्दरताको बीज छर

0

हे सच्चिदानन्द ! हे धनेश्वर !, हे अविनाशी ! हे जगदीश्वर !
मान्छेहरूको संसारमा अब, सुन्दरताको बीज छर ।

मन हो ऐना, मन हो आँखा, मनबाटै प्रिय–अप्रिय बन्छ
आफ्नो मनमा मैलो छ भने, सुकिलोमा पनि मैलो देखिन्छ
जसको मनमा धमिलो हुन्छ, उसको संसार सङ्लो हुँदैन
जसको मनमा अँध्यारो हुन्छ, उसको संसार उज्यालो हुँदैन
मान्छेहरू सब ज्ञानी पार्न, मेरो मन नै ज्ञानी पार
मेरो मन जब ज्ञानी बन्छ, तब नै ज्ञानी बन्छ संसार ।

असल मनले असलै देख्छ, खराब मनले खराबै देख्छ
आफ्नो मनमा कालो छ भने, अरू सेतो पनि कालै देखिन्छ
जो अरूलाई राम्रो भन्दैन, त्यो मान्छे कहिल्यै राम्रो हुँदैन
जो सत्यलाई सत्य भन्दैन, त्यसको बोली सत्य हुँदैन
संसारलाई सुन्दर पार्न, मेरो मन नै सुन्दर पार
मेरो मन जब सुन्दर बन्छ, तब नै सुन्दर बन्छ संसार ।

हे प्रभु ! तिमीमा म के चढाऊँ

0

हे प्रभु ! तिमी छौ सबमा व्याप्त, भन तिमी नै लौ म के चढाऊँ ।

आँसु छ तिम्रै, रोदन तिम्रै, चर्चर चिरिने छाती तिम्रै
छैन कुनै पनि तिमीभन्दा पर, हे प्रभु ! तिमीमा म के चढाऊँ ।

जसले दिन्छन् लात र घात, तिनमा पनि ता बास छ तिम्रै
जे म चढाउँछु त्यो तिमी नै हौ, हे प्रभु ! तिमीमा म के चढाऊँ ।

धोका, कष्ट र पीडा तिम्रै, मुटु दुख्ने सब घटना तिम्रै
तिमीसँग नहुने के छ र अर्को, हे प्रभु ! तिमीमा म के चढाऊँ ।

दिने तिमी नै, लिने तिमी नै, हेला र घृणा, ईष्र्या तिम्रै
जीत र हार दुवै तिमीमा, हे प्रभु ! तिमीमा म के चढाऊँ ।

ममता, स्नेह र माया तिमी नै, व्यथित हृदयको घाउ तिम्रै
देखिनँ मैले भिन्न कुनै पनि, हे प्रभु ! तिमीमा म के चढाऊँ ।

विश्वप्रार्थना

0

शिव, बुद्ध, क्राइस्ट, मुहम्मद, राम, सबमा सद्मति देऊ भगवान्
हिन्दू, बौद्ध, क्रिस्चियन र मुसलमान, सबमा सद्मति देऊ भगवान् ।

धर्म–धर्मबीच विभेद नहोस्, रङ्ग–रङ्गमा पनि भेद नहोस्
सबको बढोस् यश सबको ज्ञान, सबमा सद्मति देऊ भगवान् ।

मानिस वर्णमा विभक्त नहोस्, न्याय मात्र होस् अन्याय नहोस्
सबको होस् जय सबको मान, सबमा सद्मति देऊ भगवान् ।

जातपातको सब भेद मेटियोस्, छुवाछुत पनि कहीँ नभेटियोस्
उँचनीचको पनि नरहोस् भान, सबमा सद्मति देऊ भगवान् ।

ईष्र्या र द्वेषको भेल हटोस्, रिस र रागको मेल हटोस्
प्रेम सबमा होस् सबमा शान, सबमा सद्मति देऊ भगवान् ।

लिङ्ग–लिङ्गबीच पनि फूट नहोस्, सत्य मात्र होस् कहीँ झूट नहोस्
अनीति हटाउन जाओस् ध्यान, सबमा सद्मति देऊ भगवान् ।

कर्तव्यबोध सबैमा रहोस्, विश्वभर नै अविवेक नहोस्
विश्वशान्तिका निम्ति गरियोस् गान, सबमा सद्मति देऊ भगवान् ।

क्रोध, घमण्ड, अहम् नरहोस्, सबमा आफू रहेसरि होस्
अरूको भलोमा जाओस् प्राण, सबमा सद्मति देऊ भगवान् ।

फूल हुँ भगवान् तिम्रो चरणको

0

फूल हुँ भगवान् तिम्रो चरणको, शिरमा लगाऊ या भुइँमा सडाऊ
याचक हुँ प्रभु तिम्रो शरणको, शरणमा लेऊ या मरण गराऊ ।

पहिले थिएनन् र पछि हुँदैनन्, साथ सधैँ कोही रहँदैनन्
धन, जन, यौवन रहँदासम्म, सबले हेर्छन् पछि हेर्दैनन्
दुःख परेका दिनमा कोही, पनि बन्दैनन् कुनै सहाय
आफ्नो भन्नु यो धरणीमा, को छ र मेरो तिमीसिवाय ।

दुःख हुँदा पनि सुख हुँदा पनि, तिमीमै देख्छु म जीवनसार
सपनाजस्तो लाग्छ मलाई, सारविनाको यो संसार
कष्ट र तृष्णा, मोह हटाउन, छैन अरूमा कुनै उपाय
जे चाहन्छु म त्यो तिमी नै हौ, को छ र अर्को तिमीसिवाय ।

म तिम्रै चरणमा आएँ

0

म आएँ हे धनेश्वर ! म तिम्रै चरणमा आएँ
सबैबाट निराश भएर, तिम्रै शरणमा आएँ

मनको द्वेष हटोस् सबको, मनको द्वेष हटोस्
मेरो भन्ने भाव नआओस्, मनको क्लेष हटोस्
सबको मित्र म बन्न सकूँ, आशीष पाउन धाएँ
म आएँ हे धनेश्वर ! म तिम्रै चरणमा आएँ ।

तिमी हौ एक सहारा मेरा, तिमी नै सहारा मेरा
तोड्न सिकाऊ मनमा रहने, मेरा भनिने घेरा
आत्मनियन्त्रण गर्न सकूँ, आशीष पाउन धाएँ
म आएँ हे धनेश्वर ! म तिम्रै शरणमा आएँ ।

म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस्

0

म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस्
स्वधर्म–कर्म पालना सदैव गर्न पाइयोस् ।

अनाथको, अशक्तको सुसार गर्न पाइयोस्
कलङ्कबाट मुक्त भै सुकर्म छर्न पाइयोस्
बुढा, युवा र बाल भै सदैव मिल्न पाइयोस्
तितोमिठो, रुखोसुखो मिलेर निल्न पाइयोस्
निरोग भै परिश्रमी बनेर बस्न पाइयोस्
अशान्त, त्रास क्यै नभै निवास पस्न पाइयोस्
म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस् ।

निराशता, कुभावना, विभेद फाल्न पाइयोस्
र सच्चरित्रता र स्वाभिमान पाल्न पाइयोस्
समाजमा र देशमा इमान राख्न पाइयोस्
पवित्रता, विशुद्धता र प्रेम चाख्न पाइयोस्
सदैव ज्ञान–सीपको प्रयोग गर्न पाइयोस्
सुखी, सुसभ्य, स्वच्छ भै सुवास छर्न पाइयोस्
म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस् ।

आत्मसाक्षात्कार

0

मन्दिर धाएँ, मस्जिद धाएँ, चर्च र गुम्बा धाएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ ।

गएँ हिमालमा, गएँ पहाडमा, गरेँ निकै तपस्या
गएँ तराई भेग, समुद्री क्षेत्र, भयो समस्या
चैत्य र मठमा, गुरुद्वारामा पनि यो शिर निहु¥याएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ ।

डुलेँ स्वदेशमा, घुमेँ विदेशमा, गाउँ–सहर चहारेँ
गुफा–गुफामा, वन–जङ्गलमा चारैतर्फ नियालेँ
मन्त्र पढेँ अनि मूर्ति पुजेँ, पूजा–भजन लगाएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ ।

वेद, त्रिपिटक, मुन्धुम पढ्दै पढेँ कुरान र बाइबल
जति पढ्दा पनि शान्त भएन, मन भो सदैव खल्बल
अल्ला, येशु र बुद्ध, मुहम्मद, तीर्थङ्कर, शिव गाएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ ।

शिवप्रार्थना

0

शिव शङ्कर शम्भु महेश विभो
निमुखा सबको हुनुपर्छ भलो
सहयोग दिने अनि सज्जनको
हुनु हुन्न कहीँ कहिल्यै कुभलो ।

जति छन् धरतीभरि दुष्टहरू
तिनबाट नहून् अब त्रस्त अरू
धरतीभरि छन् जति भ्रष्टहरू
तिनबाट नहून् अब कष्टहरू ।

तनले मनले कहिल्यै नमिचून्
जनले धनले कहिल्यै नथिचून्
असमान कुनै पनि जाति नहून्
सब धर्म र वर्ण समान बनून्

अपवित्र विचार कहीँ नउठून्
सब शक्त र कर्मठ हात जुटून्
श्रम, सीप र शक्ति सदैव जुटोस्
पृथिवी पनि स्वर्ग बनेर उठोस् ।