म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस्
स्वधर्म–कर्म पालना सदैव गर्न पाइयोस् ।

अनाथको, अशक्तको सुसार गर्न पाइयोस्
कलङ्कबाट मुक्त भै सुकर्म छर्न पाइयोस्
बुढा, युवा र बाल भै सदैव मिल्न पाइयोस्
तितोमिठो, रुखोसुखो मिलेर निल्न पाइयोस्
निरोग भै परिश्रमी बनेर बस्न पाइयोस्
अशान्त, त्रास क्यै नभै निवास पस्न पाइयोस्
म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस् ।

निराशता, कुभावना, विभेद फाल्न पाइयोस्
र सच्चरित्रता र स्वाभिमान पाल्न पाइयोस्
समाजमा र देशमा इमान राख्न पाइयोस्
पवित्रता, विशुद्धता र प्रेम चाख्न पाइयोस्
सदैव ज्ञान–सीपको प्रयोग गर्न पाइयोस्
सुखी, सुसभ्य, स्वच्छ भै सुवास छर्न पाइयोस्
म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस् ।