फूल हुँ भगवान् तिम्रो चरणको, शिरमा लगाऊ या भुइँमा सडाऊ
याचक हुँ प्रभु तिम्रो शरणको, शरणमा लेऊ या मरण गराऊ ।
पहिले थिएनन् र पछि हुँदैनन्, साथ सधैँ कोही रहँदैनन्
धन, जन, यौवन रहँदासम्म, सबले हेर्छन् पछि हेर्दैनन्
दुःख परेका दिनमा कोही, पनि बन्दैनन् कुनै सहाय
आफ्नो भन्नु यो धरणीमा, को छ र मेरो तिमीसिवाय ।
दुःख हुँदा पनि सुख हुँदा पनि, तिमीमै देख्छु म जीवनसार
सपनाजस्तो लाग्छ मलाई, सारविनाको यो संसार
कष्ट र तृष्णा, मोह हटाउन, छैन अरूमा कुनै उपाय
जे चाहन्छु म त्यो तिमी नै हौ, को छ र अर्को तिमीसिवाय ।