शिव शङ्कर शम्भु महेश विभो
निमुखा सबको हुनुपर्छ भलो
सहयोग दिने अनि सज्जनको
हुनु हुन्न कहीँ कहिल्यै कुभलो ।
जति छन् धरतीभरि दुष्टहरू
तिनबाट नहून् अब त्रस्त अरू
धरतीभरि छन् जति भ्रष्टहरू
तिनबाट नहून् अब कष्टहरू ।
तनले मनले कहिल्यै नमिचून्
जनले धनले कहिल्यै नथिचून्
असमान कुनै पनि जाति नहून्
सब धर्म र वर्ण समान बनून्
अपवित्र विचार कहीँ नउठून्
सब शक्त र कर्मठ हात जुटून्
श्रम, सीप र शक्ति सदैव जुटोस्
पृथिवी पनि स्वर्ग बनेर उठोस् ।