Home About Me

About Me

मेरो जीवनकथा

मेरो जन्म वि. सं. २००० साल माघ १० गते आइतबार जन्मनक्षत्रअनुसार मूल नक्षत्रको चौथो पाउ परी बनेपाको वकुटोल हाल बनेपा नगरपालिका वडा नं. १० मा पिता लालदास श्रेष्ठ र माता पद्मकुमारी श्रेष्ठको कोखबाट चार दाजुभाइ र दुई दिदीबहिनीमध्येको कान्छो छोराका रूपमा भएको हो । हामी मध्यमवर्गीय परिवारका भए पनि व्यापार–व्यवसाय सञ्चालन गरी परिवार चलाउने कुलघरानाको भएकाले मेरो बाल्यावस्था सुखसँग बित्यो ।
म पाँच वर्षको हुँदा मेरी आमाले मलाई पढाउन–लेखाउन सिकाउनुपर्छ भन्दै विभिन्न धार्मिक श्लोकहरू, भजनका श्लोकहरू सिकाउँदै जानुभयो । म ६ वर्षको थिएँ, मेरा बुबाआमालाई भेट्न श्रीकृष्णप्रणामी सेवा समितिका संस्थापक परमहंस युगलदास महाराज हाम्रो घरमा आउनुभएको बेला मलाई मेरी आमाले सिकाउनुभएको मन्त्र वाचन गरी गुरुको चरणमा दण्डवत गर्न लगाउनुभयो, जुन मन्त्र आजसम्म मलाई कण्ठ छ ः
पहले दाता हम भए, गुरुको दिन्हो शिष
पिछे दाता सत्गुरु भए सब क¥यो कियो बखशिस
रात्रीको उज्यालो चन्द्रज्योति, दिनको उज्यालो घाम
कुलको उज्यालो सुपुत्र नारी, घटको उज्यालो निजनाम
निजनाम पढा सब पढा, सब मन्त्रणोंका भेद
निजनाम विना खाली भए, पढ पढ चारों वेद
नदीया पारी, कुसुमका झारी, जीरा सरीका पाट
देह हमारा यो यो खण्डा, चित्र धनीजीके पास

यही मन्त्रोच्चारण गरी गुरुका चरणमा दण्डवत गरेँ । गुरुज्यूले पञ्चाक्षरी शब्द निजनाम श्रीकृष्णजीको अ, उ, म, अर्धचन्द्र र विन्दुमात्राको ॐ सुनाउनुभएको थियो ।
२००७ सालमा मेरा जेठा दाजु शिवभक्त श्रेष्ठले मलाई बनेपाको एक मात्र विद्यालय आजाद प्राथमिक विद्यालयमा पढ्न भर्ना गरिदिनुभयो । आजाद प्राथमिक विद्यालयबाट कक्षा ५ पास गरेँ । माध्यमिक विद्यालयमा अध्ययन गर्न अन्य विद्यालय नभएकाले मेरो पढाइ रोकियो । दाजुहरूसँग पसलमा बसेर काम सघाउन थालेँ । त्यस बेला मैले पढेका कविताहरू मलाई याद छ ः ‘बालक बबुरो द्विज शुकनामा, प्रार्थना, अली बाबा र चालीस चोर, सिपीको मोटी पुन्टे, स्वर्ग पुगेको कथा आदि–इत्यादि ।
त्यसपछि श्रीकृष्णप्रणामी धर्मका ग्रन्थहरू विराट, चर्चनी, बीतक र तारतमसागर वाणी अध्ययन गर्न थालेँ । परमहंस युगलदास महाराजले सप्ताहमा तारतमवाणी वाचन गराउनुभई सुन्ने समयमा भजन, कीर्तन र वाणीको चर्चा मबाट गराउनुहुन्थ्यो ।
२०१६ सालमा मैले नालाकी सूर्यकुमारी श्रेष्ठसँग विवाह गरेपछि मेरो जिम्मेवारी बढेको महसुस भई आफैँले व्यवसाय गर्न थालेँ । घरजम चलिरहेको थियो । २०२६ सालमा मेरा बुबा अचानक बिरामी पर्नुभयो । सात वर्ष बिरामी भएर २०३२ सालमा बुबाको देहान्त भएपछि म विचलित भएँ । मलाई धर्मकर्ममा आस्था बढ्न थाल्यो । नेपाली भाषाका धर्मग्रन्थहरू पढ्न थालेँ ।
२०३८ सालतिर आमालाई पनि रोग लाग्यो । १६ महिनापछि २०४० सालमा आमाको मृत्यु भयो । मलाई झनै विरक्त लागेर मैले पेसा बदली बनेपाको चारदोबाटोमा फोटो स्टुडियो सञ्चालन गरेँ । २०४२ सालमा परमहंस युगलदास महाराजज्यूले समाधि लिनुभएपछि मलाई संसार नै शून्यझैँ लाग्न थाल्यो । फोटो स्टुडियोको फोटोग्राफी काम छाडी पुनः नेपाली भाषाका ग्रन्थहरू अध्ययन गर्न थालेँ । सूत्रहरू कण्ठ गर्न थालेँ ।
साहित्यप्रति मेरो मोह बढ्दै गयो । लेख्ने बानी बस्तै गएपछि ‘फोहोरमा मोहर’ भन्ने पुस्तिका निकालेँ । ब्रह्मलीला प्रकाशसम्बन्धी २१ वटा पुस्तक प्रकाशित गरी हृदय नै शून्य पारेर बसिरहेको थिएँ ।
त्यसै शून्य समयमा घुम्दै–फिर्दै काठमाडौँको नारायणगोपाल बचोकमा पुगेँ । मेरा गुरुभाइ सुन्दर पौडेल त्यहीँ बस्नुहुन्थ्यो । मैले उहाँको निवास देखेको थिइनँ । उहाँसँग भेट गर्न त्यहीँ बसोबास गर्ने मेरी माइजूको शरणमा पुगेपछि गुरुभाइले तारतमसागरलाई नेपाली भाषामा अनुवाद गरेको मैले देखेँ । मैले तारतमसागर नेपाली भाषामा अनुवाद भए पछि मलाई अध्ययन गर्न सजिलो हुने भएकाले मैले गुरुभाइलाई गुरुभाइ नभनेर आजदेखि गुरुजी भन्छु भनी प्रतिज्ञा गरेँ र खुसी व्यक्त गरेँ । गुरुभाइले तारतमसागर नेपाली भाषामा अनुवाद भइसकेपछि मेरै घर बनेपामा ल्याइदिनुभयो र मैले अध्ययन गर्न थालेँ ।
२०४७ सालदेखि २०५७ सालसम्म मैले डिल्लीराम निरौलासँग धेरै ज्ञान लिएँ । यसले मलाई साहित्य रचनामा धेरै सहयोग गरेको छ । २०६३ साल कार्तिक १५ गतेसम्म ब्रह्ममुनिको श्री ५ नवतमपुरीधाम, निजानन्द आद्यपीठ, जामनगरका पीठाधीश्वर आचार्य कृष्णमणि महाराजको संयोजकत्वमा मूल ग्रन्थ तारतमसागर १२ दिन पाठपारायण भएको थियो । त्यस्तै श्रीकृष्णप्रणामी महोत्सव र तारतमवाणीको कथा नेपालमा पनि लगाउन पाए हुन्थ्यो भनी विचार गर्दै आज दस वर्ष बित्यो, कार्य गर्न सकिएको छैन ।
शब्दयात्रा प्रकाशनले २०७३ साल कार्तिक १४ गते बनेपामा आयोजना गर्नुभएको देउसी–भैलो कार्यक्रममार्फत म शब्दयात्रा प्रकाशनसँग नजिक भएँ । बालागुरु षडानन्द अधिकारीको जीवनगाथा अध्ययन गरेर प्रभावित भएको म उहाँकै कुलका शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री गुरुलाई १५ वर्षअघिदेखि भेट्न पाउँदा साह«ै खुसी लाग्यो । षडानन्द गुरुसँग भेट भएजस्तै भयो ।
अन्त्यमा मलाई असाध्यै मन पर्ने तारतम वाणीहरू नेपाली भाषाबाट युट्युबमा राखेको छु । सबै आम दाजुभाइ दिदी–बहिनीहरूमा सुन्नका लागि आग्रह गर्दछु ।