अरूसँग जाने मौका मिलेन । एक्लै जाँदैछु फिरफिरे डाँडातिर । बजारको बस, जीप–ट्याक्सी पार्कमा पुगँ । त्यहीबाट माथि जाने ढुङ्गा छापेको, रेलिङ लगाएको खुड्किले बाटो रहेछ । खुड्किलाको सिरानमा मन्दिर । मन्दिरसँगै दोबाटो । म फिरफिरे डाँडातिर जाने तेर्सो बाटैबाटो जाँदैछु ।
म लभपार्कमा पुगेँ । डाँडाको चौतारामा, वरपर पाँच–सातजना मान्छे बसेर, उभिएर हेर्दैछन् । गफ पनि चुट्तैछन् । कति मजाको डाँडो । आफैँ नाच्तैछ । पश्चिम फर्किएर म रामरमिता हेर्दैछु । पूर्वबाट आएको न्यानो घामको मजा लिँदैछ मेरो ढाड । मधुमासको स्वर्णिम बिहानमा मायालु हातले मुसारेजस्तो लाग्छ सूर्यका किरण ।
आकाशबाट झरेको पानी इलामका डाँडापाखा भिजाउँदै सुलुलु बग्दै बगान डुल्दै तलको खोचमा कुद्दै गरेको देखिँदो रहेछ । माथिको अग्लो डाँडो मतिर हेर्दैछ । सिरानबाट सुरु भएको पाखो बारी तल खोचमा पुगेर
थेच्चिन्छ । सर्वत्र हरियो चियाका बोट । ओरालो दम्स्याइलो । पाखैभरि ओछ्याएको हरियो कार्पेट । माटाको डल्लाजस्ता भुन्टे बोट भएको चियाबगानभित्र फाट्टफुट्ट देखिन्छन् सुरिला रूखहरू ।
टुप्पामा चार–पाँच सेता घर । त्यहाँदेखि तल खोचसम्मै देखिन्छ पानीवाला खोल्सो । खोल्सावरपर रूख । फाट्टफुट्ट घर । तल पुछारमा देखिन्छ लहलह धानखेत । अर्कोपट्टिको टुप्पामा रूखहरूको सिरक ओढेर धुमधुम्ती बसेका देखिन्छन् घरहरू । खोल्साबाट टाउको उठाएर मतिर हेर्दैछन् चिलाउनेका रूखहरू । लोभलाग्दो देखिन्छ बाँसझ्याङ । पारिको खेतमा घर बनाएर बसेका घरहरू निन्याउरा लाग्छन् । परालछाने घर मतिर हेर्दैछ । मसँग उभिएका पर्यटकहरू भकाभक फोटो खिच्तैछन् ।
आकाशमुनि खुरुरु कुद्दैछ सेतो बादल । बादलमुनि ठिङ्ग उभिएका देखिन्छन् मौन व्रत लिएका पहाडहरू, शान्तिवाटिका, आँखीझ्यालबाट चियाएर चियाबगानको अद्भुत सौन्दर्य पान गर्दैछन् सूर्यदेव ।
अब म पूर्व । ढाड पश्चिम । मेरो अघिल्तिर छ चियाबारी । बारीमुनि सडक । सडकमुनि काला टिनछाने घर । बजारैबजार । घरअगाडि उभिएर सिउर हल्लाउँदैछ रातो भाले ।
चियाका बुट्टातिर हेर्दैै सोध्छु — ‘सन्चै छ ?’ ‘छ ।’ फेरि बुट्टाहरू मलाई सोध्छन् — ‘किन यता आयौ ?’ भन्छु — ‘तिमीहरूलाई हेर्न ।’ ‘अब के हेर्छौ ? हामीलाई इन्डियाले लिजमा लिइसक्यो । उतैका भयौं । लिज फिर्ता हुँदासम्म हामी मरिसक्छौं होला ।’ उनीहरूको गनगन सुनेर मैले मनैमन भनें — ‘यति सुन्दर, यति धेरै कमाइ हुने चियाबगान किन लिजमा दिएको होला !’
पल्लोपट्टि कुनामा एक्लो पीपल ठिङ्ग उभिएको छ । हल्लिँदैछन् कलिला पात । बाँसझ्याङको नजिकैबाट जाँदैछिन् डोको बोकेकी आमा । डोको काँधमा बोकेका महिलाहरू चियाका पात टिप्तैछन् । तल कोप्चोमा एक्लै ठिङ्ग उभिएको छ एउटा घर । वरपर रूखैरूख । आनन्द होला ? होला र ? न बाटोघाटो, न स्कुल, न हस्पिटल ।
सिधा पारिपट्टि चम्किने ताराजस्ता सेता घर देखिन्छन् । आकाश र डाँडापाखालाई जोड्दै कुद्दैछ बादल । कुद्दै गरेको बादल नौनीघिउको डल्लोजस्तो लाग्छ ।
आजको लभपार्क । हिजोको फिरफिरे डाँडो । यहाँ शान्ति र सन्नाटा
छ । हो यो उहिलेको तपोवन । योगीको योग सिद्ध गर्ने ठाउँ । वासना निस्तेज पार्दै परंश्रेयः प्राप्त गर्ने आश्रम । फिरफिरे डाँडाको सौन्दर्य अनुपम रहेछ । वनको बीचमा खनेको रातो माटो मान्छेको आलो रगतजस्तो लाग्छ । किन गर्छन् मान्छे भूविनाश ? पर, निकै पर जमिन खनेर सम्याउँदैछन् । भुइँमा रातो माटो निकाल्दै पनि छन् । हरियो जङ्गलको नाश र प्रकृतिविनाश देख्ता मुर्मुरिदै भन्छु — ‘बाँदरका सन्तानले चुप लागेर बस्न जानेकै छैन नि !’
चियाबारीभित्र सिनित्त पारेको, ढुङ्गा छापेको बाटोमा उभिएर अनि पोथ्रासँगै लेपासिएर फोटा खिच्तैछन् मान्छेहरू । अलिक पर ढाडमा अडिएको डोकाभित्र चियाका पात टिप्तै फुत्तफुत्त खसाल्दैछन् महिला अनि पुरुष । तन्नेरी–तरुनी देखिनँ त्यहाँ मैले । गीतको भाकामा स्वरहरू सुनेँ । बोली बुझिनँ ।
फर्किएँ । नजिकै बाटैमा रहेछ चिया दोकान । मुढामा बसेँ । चिया
मागेँ । पिउँदै हेर्दैछु । बाटामा हिँड्ने मान्छेमा, चियाका पोथ्रामा, डोकामा, थाप्लामा अडिन्छन् मेरा आँखा । मेरो अगाडिबाट चारवटा रित्ता डोका लुरुलुरु उकालो लागे बगानतिर । माथिबाट चियापत्तीले भरिएका दुई डोका तल झर्दैछन् । मसँगैको अर्को मुढामा ऊ उँघ्दैछ । राता लुगा लगाएका हँसमुख दुई नवयौवना डिलमाथि उक्लिँदैछन् ।
मैले पिएको चियाको गिलासतिर हेर्दै डिलमाथिका चियाका मुनाहरू भन्दा हुन् — ‘भोलि हामीलाई पनि यसरी नै झोल बनाएर पिउँछौ होला । असति मान्छे ! आफैँ रोप्ने । आफैँ मार्ने । पिउने ।’
फिरफिर चल्दैछ बतास । आकाशमा नाच्तैछ सेतो बादल । सूर्य मादल ठटाउँदैछन् । आसव पो पिएछन् कि हाम्रा सूर्यदेवले ! विचराको गाला रनक्कै रन्किएको देखिन्छ । चियाको पैसा तिरेर झर्न थालेँ । डाँफे गेस्टहाउसनिर पुगेर उभिएँ । उभो हेरेँ । चियैचिया ।
के हो यो लभपार्क ? नेपालीलाई चियाका बोट रोप । खेती गर । धमाधम डलर टिप । आफ्नु सावगास बढाऊ भनेर प्रकृतिले दिएको वरदान
हो । इलामे डाँडापाखा नेपाल सरकारलाई भन्दा हुन् — लभपार्कमा अग्लो टावर बनाऊ । जतिसुकै अग्लो बनाए पनि लड्दैन । हामी थेगेर राख्छौं । टावरमाथि चढेर विदेशीहरू नेपालको अलौकिक प्राकृतिक दृश्य हेर्नेछन् । हेर्दाहेर्दै बुरुक–बुरुक उफ्रिन थाल्नेछन् । संसारमै नभएको प्राकृतिक लीला इलाममा हेर्न पाइन्छ भन्ने सुनेर धेरै विदेशीहरू यहाँ थपिनेछन् । यसो गर्न सके इलाम नेपालकै प्रमुख धनी जिल्ला हुनेछ ।
त्यहाँ पुगेपछि यस्तो उच्च प्राकृृतिक स्वर सुनिन्छ — ‘ए दुःखी मनुवा ! सुख खोज्दै कहाँ–कहाँ भौतारिन्छौ ? आऊ हाम्रो फिरफिरे डाँडामा । यहाँको चियाबारीमा, खोल्सामा, धानका गरामा, टुपुक्क सेता घरमा, रूखका पातमा, बादलमा, चिसो हावामा, बगानमा काम गर्ने डोके कामदारको निष्पाप–निर्मल मनमा सधैं भेटिन्छ सुख । सुखको रूप हुँदैन । सुख, दुःख, सौन्दर्य सोच हो । मात्र अनुभूति । सुख र सौन्दर्यको पुष्पवर्षा हो लभपार्क ।