Home Blog Page 8

शब्दयात्रा प्रकाशनका आध्यात्मिक गानहरूमाथि काठमाडौँमा विचारगोष्ठी

0
प्रातःकालीन मैत्री समूहको आयोजनामा आज २०८२ साल फागुन ९ गते शनिबार काठमाडौँको कोटेश्वरमा शब्दयात्रा प्रकाशनका आध्यात्मिक गानहरूमाथिको विचारगोष्ठी सम्पन्न गरियो । उक्त गोष्ठीमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष साहित्यकार तथा सङ्गीतकार हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानहरूको लेखन, सङ्गीत र गायनले भजन सङ्गीतको आधुनिकीकरणमा गरेको योगदानका बारेमा बताउनुभएको थियो । गोष्ठीको सञ्चालन लेखक रत्नकुमार श्रेष्ठले गर्नुभएको थियो भने डा. इन्दुल केसीले हरि मञ्जुश्रीको विशेषताका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको समापन डा. नवराज खतिवडाले गर्नुभएको थियो ।

नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति अन्तर्गत लिखित प्रतिवेदन प्राप्त

0
शब्दयात्रा प्रकाशनबाट २०८२ सालको ‘शब्दयात्रा प्रतापमान–झरना मास्के नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति’ प्राप्त गर्नुभएका अनुसन्धाता प्रकाश उज्ज्वल बनेपा (प्रकाशबहादुर कायस्थ) ले विद्वतवृत्ति ग्रहण गरेर लेख्नुभएको अनुसन्धान प्रतिवेदन शब्दयात्रा प्रकाशनमा बुझाउनुभएको छ । उहाँले प्रतिवेदनको नाउँ ‘नेवाः सभ्यताका केही संस्कार–संस्कृति’ राख्नुभएको छ । उक्त विद्वतवृत्ति शब्दयात्रा प्रकाशनको लघु अनुसन्धान परियोजना अन्तर्गत नेवाः सभ्यताका विषयमा प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्नका लागि गत मङ्सिर २७ गते समर्पण गरिएको थियो । उक्त विद्वतवृत्ति साहित्यकार तथा लेखाविज्ञ लोकमान मास्केको आर्थिक व्यवस्थापनमा स्थापना गरिएको हो । उक्त प्रतिवेदन यही फागुन महिनामा सार्वजनिक गरिनेछ ।

सरस्वती चिमोरियालाई सारस्वत सम्मान समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले कवयित्री सरस्वती चिमोरियालाई ‘शब्दयात्रा विश्वनाथ अधिकारी सारस्वत सम्मान’ समर्पण गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्लामा जन्मेकी सरस्वती चिमोरियाले लामो समयसम्म कविता विधामा सक्रिय रही राष्ट्रिय ख्याति आर्जन गर्नुभएको छ । यस सम्मानको कोष व्यवस्थापन भोजपुर जिल्लामा जन्मेर सुनसरी जिल्लामा बसोवास गरेकी कवयित्री शकुन्तला मञ्जरीले आफ्ना पिता विश्वनाथ अधिकारीको स्मृति र सम्मानमा गर्नुभएको हो । सारस्वत सम्मान अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी यही फागुन २४ गते समर्पण गरिनेछ । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे प्रारम्भ गरिनेछ ।

सम्मानकोषका लागि ओतबहादुर खड्काबाट ५१ हजार रुपियाँ प्रदान

0
शब्दयात्रा प्रकाशनका ज्येष्ठ आजीवन सदस्य आध्यात्मिक लेखक ओतबहादुर खड्का (उमेर ८८ वर्ष, पनौती, काभ्रेपलाञ्चोक) ले आफ्नी धर्मपत्नी मैयादेवी खड्काको स्मृतिमा शब्दयात्रा प्रकाशनको सम्मानकोषका लागि ५१ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । उक्त रकम शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य इ. रोशन मञ्जुश्री अधिकारीले ग्रहण गर्नुभएको छ । यसअघि पनि उहाँले मन्दिर निर्माण, पुस्तक पसल आदिका लागि पटक–पटक आर्थिक सहयोग गर्नुभएको छ । शब्दयात्रा प्रकाशन परिवार यस्तो स्नेह र सद्भावका लागि उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ र उहाँबाट सदैव आशीर्वाद प्राप्त भइरहोस् भन्ने कामना गर्दै उहाँको सक्रिय जीवनका लागि शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित सम्पूर्ण पितृ र देवीदेवतासँग प्रार्थना गर्दछ ।

२६६. शब्दयात्रा प्रकाशनका चौध वर्ष

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा लेखिका गीता मञ्जुश्रीले सम्पादन गर्नुभएको ‘शब्दयात्रा प्रकाशनका चौध वर्ष’ नामक पुस्तक सरकार र विदेशीको आर्थिक सहयोग नलिए पनि समुदायको मन जितेर इमानदारीपूर्वक निःस्वार्थ भावले प्रयास गर्ने हो भने एउटा वाङ्मयिक संस्थाले चौध वर्षको छोटो अवधिमा पनि कति धेरै कामहरू गर्न सक्तो रहेछ भन्ने कुराको जानकारीमूलक उदाहरण बनेको छ । शब्दसारथि हरि मञ्जुश्रीको निरन्तरको तपस्या अनि उहाँलाई साथ दिने सहयात्री समूहको भरथेगका कारण शब्दयात्रा प्रकाशन अहिले माथिल्लो स्तरमा पुगिसकेको छ । शून्यबाट शुरु गरिएको शब्दयात्रा प्रकाशनलाई उहाँको समूहले चौध वर्षभित्र जुन उचाइमा लैजान सकेको छ, यो कार्य प्रेरक, अनुकरणीय र उदाहरणीय छ ।

भजन–गायनका दुई प्रतिभा सम्मानित

0
— स्वयम्भू शाक्य

भजन–गायिका रश्मि अधिकारी हुमागाईं र भजन–गायक इ. रोशन मञ्जुश्री अधिकारी दिदीभाइलाई काठमाडौँ सीतापाइलामा अवस्थित टाइम्स एलिमेन्ट्री स्कुलले आज माघ २४ गते संयुक्त रूपमा सम्मान गरेको छ । उहाँहरूले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानहरूमा स्वर दिनुभएको छ । सम्मानपत्रमा नेपाली भजन–सङ्गीतका क्षेत्रमा आबद्ध रही सामाजिकीकरण गरिएका भजनहरू गाएर भजनको आधुनिकीकरणमा योगदान गर्दै भजन–सङ्गीतमा नवीन मार्गदर्शन गराउनुभएकोमा आधुनिक भजन–गायनका प्रतिभाशाली व्यक्तित्वद्वय दिदीभाइ रश्मि अधिकारी हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारीलाई ‘टाइम्स एलिमेन्ट्री सम्मान’ द्वारा संयुक्त रूपमा सम्मान गरिएको बेहोरा उल्लेख गरिएको छ । सम्मानपत्रमा प्रमुख अतिथि फणीन्द्ररत्न वज्राचार्य, सभापति डा. चुन्दा वज्राचार्य र प्रधानाध्यापक पल्पसा महर्जनले हस्ताक्षर गर्नुभएको छ । रश्मि अधिकारी हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारी शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा त्यस संस्थाबाट उत्पादित गायिका र गायक हुनुहुन्छ । रश्मि हुमागाईं चितवनमा हुनुभएकाले उहाँका तर्फबाट डा. इन्दुल केसीले सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।

दशवटा पुरस्कार समर्पण

0

शब्दयात्रा प्रकाशनले हुतात्मा दिवसको अवसर पारी माघ १६ गते आफ्नै सभाकक्षमा आयोजना गरेको समारोहमा दशवटा पुरस्कार समर्पण गरेको छ ।
समारोहमा शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीमा समर्पण गरियो । उहाँलाई डा. इन्दुल केसीले उपहार तथा हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, रकम र अभिवन्दनापत्र समर्पण गर्नुभयो । शब्दयात्रा सकुल थापा देउडा पुरस्कार देउडा गायक नन्दकृष्ण जोशीमा समर्पण गरियो । उहाँलाई चन्द्रबहादुर खड्काले उपहार, विमला थापाले रकम, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट तथा डा. प्रकाशराज रेग्मीले अभिवन्दनापत्र समर्पण गर्नुभयो । शब्दयात्रा डा. भास्कर–रश्मि चिकित्सा पुरस्कार मधुमेह, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डा. दीपक मल्लमा समर्पण गरियो । उहाँलाई जयनारायण नेपालले उपहार, हरि मञ्जुश्रीले रकम र शब्दयात्रा पट्ट तथा नन्दकृष्ण जोशीले अभिवन्दनापत्र समर्पण गर्नुभयो । शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार नियात्राकार रमेशमोहन अधिकारीमा समर्पण गरियो । उहाँलाई मुकुन्दप्रसाद उपाध्यायले उपहार, सुबोध उपाध्यायले रकम, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट तथा डा. दीपक मल्लले अभिवन्दनापत्र समर्पण गर्नुभयो । शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार साहित्यकार दिल पौडेलमा समर्पण गरियो । उहाँलाई मनिका शर्मा कोइरालाले उपहार र रकम, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट तथा रमेशमोहन अधिकारीले अभिवन्दनापत्र समर्पण गर्नुभयो । उहाँहरू पाँचैजनालाई मच्छेश्वर सापकोटाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।
यसै गरी शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कारबाट योगाचार्य योगिनी सरितानन्दीलाई पुरस्कृत गरियो । उहाँलाई सरस्वती सापकोटाले उपहार, शङ्करप्रसाद मानन्धरले रकम, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट तथा दिल पौडेलले अभिवन्दनापत्र समर्पण गर्नुभयो । शब्दयात्रा सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कारबाट उद्यमी गोविन्द शर्मालाई पुरस्कृत गरियो । उहाँलाई प्रह्लाद प्याकुरेलले रकम, हरि मञ्जुश्रीले उपहार र शब्दयात्रा पट्ट तथा यागिनी सरितानन्दीले अभिवन्दनापत्र समर्पण गर्नुभयो । शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कारबाट पत्रकार ज्ञानेन्द्रनाथ न्यौपानेलाई पुरस्कृत गरियो । उहाँलाई प्रदीप केसीले उपहार, डा. सरस्वती आचार्यले रकम, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट तथा गोविन्द शर्माले अभिवन्दनापत्र समर्पण गर्नुभयो । शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कारबाट राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई पुरस्कृत गरियो । गुरुकुलका प्राचार्य ईश्वरी पौडेललाई उपहार, रकम, शब्दयात्रा पट्ट र अभिवन्दनापत्र नन्दकृष्ण जोशीले हस्तान्तरण गर्नुभयो । शब्दयात्रा हरि मञ्जुश्री दूरदर्शी नेतृत्व पुरस्कारबाट नमुना बालगृह अनाथ आश्रमलाई पुरस्कृत गरियो । संस्थाका प्रतिनिधि जीवन घिमिरेलाई अच्युत अधिकारीले उपहार, रमेश पौड्यालले रकम, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट तथा ज्ञानेन्द्रनाथ न्यौपानेले अभिवन्दनापत्र हस्तान्तरण गर्नुभयो । उहाँहरू पाँचैजनालाई प्रकाशबहादुर कायस्थले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।
पुरस्कार एउटा दश हजार रुपियाँको थियो भने तीनवटा पन्ध्र–पन्ध्र हजार रुपियाँका र छवटा पच्चीस–पच्चीस हजार रुपियाँका थिए ।

एक लाख रुपियाँको चेक हस्तान्तरण

0

शिक्षासेवी शङ्करप्रसाद मानन्धरले शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्दै आएको ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ को अक्षयकोषका लागि एक लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ । शब्दयात्रा प्रकाशनका तर्फबाट सो चेक संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको छ । ‘नारायणी–शङ्कर मानन्धर शिक्षा पुरस्कार कोष’ नामक संस्थाका तर्फबाट उक्त रकम प्रदान गरिएको हो ।

‘शब्दयात्रा प्रकाशनका चौध वर्ष’ सार्वजनिक

0
गीता मञ्जुश्रीद्वारा सम्पादित ‘शब्दयात्रा प्रकाशनका चौध वर्ष’ नामक पुस्तक शब्दयात्रा प्रकाशनको सभाकक्षमा माघ १६ गते आयोजित समारोहमा सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र मोरङस्थित नमुना बालगृहका प्रतिनिधि जीवन घिमिरेले संयुक्त रूपमा उक्त पुस्तकलाई सार्वजनिक गर्नुभएको हो ।

पुरस्कार समर्पण तथा पुस्तक र भजन सार्वजनिकीकरण समारोह सम्पन्न

0
शब्दयात्रा प्रकाशनले पुरस्कार समर्पण तथा पुस्तक र भजन सार्वजनिकीकरण समारोह सम्पन्न गरेको छ । हुतात्मा दिवसको अवसर पारी माघ १६ गते आफ्नै सभाकक्षमा आयोजित समारोहमा दशवटा पुरस्कार समर्पण गरियो भने एउटा पुस्तक र एउटा भजन सार्वजनिक गरियो । समारोहमा डा. प्रकाशराज रेग्मी, नन्दकृष्ण जोशी, डा. दीपक मल्ल, रमेशमोहन अधिकारी, दिल पौडेल, योगिनी सरितानन्दी, गोविन्द शर्मा, ज्ञानेन्द्रनाथ न्यौपाने, राजकीय संस्कृत महाविद्यालय गुरुकुल र नमुना बालगृहलाई पुरस्कार समर्पण गरियो । सोही समारोहमा ‘शब्दयात्रा प्रकाशनका चौध वर्ष’ पुस्तक र ‘देवीप्रार्थना’ भजन पनि सार्वजनिक गरियो । समारोहमा शङ्करप्रसाद मानन्धरले शब्दयात्रा प्रकाशनको योगप्रतिभा पुरस्कारको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभयो । जग्गादाता तथा कार्यवाहक अध्यक्ष कृष्णमणि कुइकेलले पानसमा दीप प्रज्ज्वलन गरी शुभारम्भ गर्नुभएको उक्त समारोहको समापन प्राणीशास्त्री प्रा. डा. मुकेशकुमार चालिसेले गर्नुभएको थियो । सञ्चालन अमृत अधिकारीले र सामग्रीको व्यवस्थापन पुण्यवती घले र शारदाप्रसाद शर्माले गर्नुभएको उक्त समारोहमा केदारनाथ तिमल्सिनाले मालाबाट स्वागत गर्नुका साथै चयन समितिका सदस्यलाई उपहार समर्पण गर्नुभएको थियो भने पुरस्कारहरूसँग सम्बन्धित व्यक्तित्वहरू बद्रीविक्रम थापा, जीवनचन्द्र कोइराला, क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे र टोपकुमारी–तुलसीप्रसाद आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो । वैदिक स्वस्तिवाचन, राष्ट्रिय गान, संस्थागत स्वागतगान र कार्यक्रम समापन गान पनि बजाइएको थियो । कार्यक्रमका सभापतिका रूपबाट हरि मञ्जुश्रीले संस्थाको चिनारी तथा पुरस्कृत व्यक्तित्वहरूको विशेषताबारे जानकारी गराउनुभएको थियो । विविध व्यवस्थापन सङ्गीता केसीले गर्नुभएको थियो ।