Home Blog Page 221

शब्दयात्राबाट सत्यनारायण व्रतकथा

0

शब्दयात्रा प्रकाशनले ‘सत्यनारायण व्रतकथा’ नामक नेपाली भाषामा अनूदित काव्य प्रकाशन गरेको छ । काव्यमा ‘हरितालिका व्रतकथा’ को काव्यात्मक अनुवाद पनि समावेश गरिएको छ ।
काभ्रे जिल्लाका महाकाव्यकार कविप्रसाद प्याकु¥यालले संस्कृत भाषाबाट नेपाली भाषामा काव्यात्मक अनुवाद गर्नुभएको उक्त पुस्तक काव्यकारकै अर्को नाम श्रीधर उपाध्याय भन्ने नामबाट प्रकाशन गरिएको छ ।
जम्मा ४० पृष्ठको उक्त पुस्तकको मूल्य ७० रुपियाँ राखिएको छ । आगामी जेठ महिनामा शब्दयात्रा प्रकाशनबाट आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा उक्त पुस्तकलाई सार्वजनिक गरिनेछ ।
श्रीधर प्याकु¥यालले यसअघि हेलम्बू (लघुकाव्य), भरतेन्दु (महाकाव्य), बेलप्रसाद (नव्यकाव्य), तिमीलाई नमोनमः (कवितासङ्ग्रह), अपरोक्ष अनुभूति (भावानुवाद), वन्दे नेपाल मातरम् (महाकाव्य) र मधुत्रयी (यात्राकाव्य) गरी सातवटा काव्यकृति लेखी प्रकाशन गराइसक्नुभएको छ । ‘सत्यनारायण व्रतकथा’ उहाँको आठौँ कृति हो । उहाँले लेखेका तर प्रकाशन हुन बाँकी रहेका कृतिहरू पनि प्रशस्तै छन् ।
‘सत्यनारायण व्रतकथा’ समेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या ६४ पुगेको छ ।

रामचन्द्र हुमागाईंलाई मातृशोक

0

नेपालभूमि (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) का संस्थापक प्रधानसम्पादक तथा शब्दयात्रा पत्रकार समाजका सभापति रामचन्द्र हुमागाईंलाई मातृशोक परेको छ । उहाँकी माता खिलकुमारी हुमागाईंको गत वैशाख १७ गते राति १० बजेर २० मिनेट जाँदा देहावसान भएको थियो । उहाँ ९० वर्षकी हुनुहुन्थ्यो ।
खिलकुमारी हुमागाईं विगत केही समयदेखि शारीरिक रूपमा अस्वस्थ हुनुहुन्थ्यो । विभिन्न अस्पतालहरूमा उपचार गराउँदा पनि स्वस्थ हुन नसकेपछि अन्ततः उहाँलाई काठमाडौँको पाशुपत क्षेत्रमा पुयाइएको थियो । त्यहीँ उहाँले आफ्नो देहलाई विसर्जन गर्नुभएकाले नजिकैको आर्यघाटमा उहाँको भौतिक देहलाई दाहसंस्कार गरिएको थियो ।
रामचन्द्र हुमागाईं पूर्वीय सांस्कृतिक विधानअनुरूप बानेश्वर पूजा प्रतिष्ठानको क्रियाभवनमा बस्नुभएको छ ।
खिलकुमारी हुमागाईंको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्ने कामना गर्दै शब्दयात्रा प्रकाशन, शब्दयात्रा पत्रकार समाज तथा नेपालभूमि साप्ताहिक परिवारले रामचन्द्र हुमागाईंलगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

शब्दयात्राबाट ‘भावनाका भुल्का’

0

शब्दयात्रा प्रकाशनले केदारनाथ तिमल्सिनाद्वारा लिखित भजन, कविता र गीतहरूको सङ्ग्रह ‘भावनाका भुल्का’ प्रकाशन गरेको छ । उक्त पुस्तक शब्दयात्रा प्रकाशनको ६३ औँ प्रकाशनपुष्पका रूपमा केही दिनपछि नै बजारमा आउन लागेको छ ।
२००१ साल माघ १३ गते शुक्रबार काभ्रे जिल्लाको रयाले गा. वि. स. वडा नं. १ मा सामान्य किसान परिवारमा जन्मनुभएका केदारनाथ तिमल्सिना सरकारी सेवाबाट निवृत्त भई सामाजिक कार्य र साहित्यिक सिर्जना गर्दै हाल बनेपामा बसोवास गरिरहनुभएको छ । ‘भावनाका भुल्का’ उहाँको पहिलो पुस्तकाकार कृति हो ।

बाबरेको यज्ञमा शब्दयात्रा

0

सिन्धुपाल्चोक जिल्लाको बाबरे — ५ मा अवस्थित जालपेश्वरी देवीस्थान परिसर खिपिङमा शिवशक्ति विराट् महायज्ञअन्तर्गत श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना गरियो । गत वैशाख ४ गतेदेखि प्रारम्भ गरिएको उक्त यज्ञ १२ गते समापन गरियो । भगवान् गौरीशङ्करका उपासक बाबा विश्वनाथ महाराजको समुपस्थितिमा सम्पन्न उक्त यज्ञमा पं. नवराज धितालले भागवतकथा वाचन गर्नुभएको थियो ।
उक्त यज्ञमा शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । उहाँले यज्ञमा उपस्थित भक्तजनका लागि अघिल्लो दिन १ घन्टा प्रवचन गर्नुभएको थियो भने भोलिपल्ट विद्यार्थीहरूलाई नैतिक शिक्षाका विषयमा १५ मिनेटसम्म अध्यापन गराउनुभएको थियो । उहाँले शब्दयात्रा प्रकाशनका तर्फबाट त्यहाँको विद्यालयका लागि एक दर्जन पुस्तक उपहार प्रदान गर्नुभएको थियो । उहाँलाई यज्ञमा सम्मान पनि गरिएको थियो ।
प्रमुख अतिथि हरि मञ्जुश्रीसँग कान्तिपुर एफएमका तर्फबाट जनार्दन घिमिरेले त्यहाँको अनुभवका विषयमा टेलिफोनबाट संवाद गरेर प्रत्यक्ष प्रसारण गर्दा र बाबा विश्वनाथसँग यज्ञका विषयमा जानकारी लिँदा रेडियोबाट संवाद सुनिरहेका उपस्थित भक्तजनमा हाम्रो समाचार राष्ट्रिय रूपमा फैलियो भनेर खुसी छाएको थियो ।
स्थानीय शिक्षासेवी तथा समाजसेवी सुरेन्द्र प्रधानको अध्यक्षतामा गठित आयोजक समितिले उक्त यज्ञका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाएको थियो । उहाँका अनुसार स्थानीय जनतामा नैतिक र आध्यात्मिक जागरण एवं सामाजिक एकताका लागि यस यज्ञले ठूलो सहयोग पु¥याएको छ ।

कवि लम्साललाई पत्नीशोक

0

शब्दयात्रा लेखक समाज तथा शब्दयात्रा सम्मान व्यवस्थापक समाजका सदस्य कवि कल्याण लम्साललाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी श्रीमती सुमना शर्माको गत वैशाख ४ गते शनिबार बेलुका ९ बजे आफ्नै घरको शौचालयमा लडेर निधन भएको हो ।
शब्दयात्रा प्रकाशनबाट कवि लम्सालका दुईवटा कवितासङ्ग्रह प्रकाशित भएका छन् । उहाँले शब्दयात्रा सिर्जना सम्मानका लागि आर्थिक व्यवस्थापन पनि गरिदिनुभएको छ ।
शब्दयात्रा प्रकाशन कविपत्नी सुमना शर्माको गतात्माको चिरशान्तिको कामना गर्दै कवि कल्याण लम्साललगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

शब्दयात्राले बनायो चयन समिति

0

शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक तथा शिक्षासेवी गोविन्दलाल प्रधानाङ्गको संयोजकत्वमा चार सदस्यीय सम्मानित व्यक्तित्व चयन समितिको गठन गरेको छ । समितिका सदस्यहरूमा उपप्राध्यापक तथा कवि खेमराज निरौला, अधिवक्ता तथा मानव–अधिकारकर्मी कृष्णप्यारी नकर्मी र समाजसेवी तथा आध्यात्मिक व्यक्तित्व पदमनाथ ढुङ्गाना रहनुभएको छ ।
आगामी जेठ महिनामा समर्पण गर्नुपर्ने चार विधाका सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको चयन गर्न उक्त समितिको गठन गरिएको हो । पाठकहरूबाट प्राप्त भएका सिफारिसहरूको अध्ययन गरी उक्त समितिले सम्मानयोग्य व्यक्ति वा संस्थाको चयन गर्नेछ । शब्दयात्रा प्रकाशनले तिनैलाई सम्मान गर्नेछ ।
हरेक वर्षको जेठ महिनामा नन्दिकेश्वर अधिकारी शोध सम्मान, प्रशासनिक महिला प्रतिभा सम्मान, राष्ट्रिय गजल सम्मान र शब्दयात्रा सिर्जना सम्मान समर्पण गर्ने गरिएको छ । ती सम्मानहरूका लागि योग्य व्यक्ति वा संस्थाको नाउँ पठाउन शब्दयात्रा प्रकाशनले सार्वजनिक रूपमा आह्वान गरिसकेको छ ।

आत्मा परब्रह्ममा लीन होस्

0

डोटीमा भएको सवारी दुर्घटनामा परी नेपाली वाङ्मयसेवी प्रा. डा. जयराज पन्तको निधन भएको छ । उहाँ शब्दयात्रा प्रकाशनको कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित हुनुभएको थियो र उहाँले ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशनार्थ केही लेखहरू उपलब्ध गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनको हितमा उहाँले थुप्रै सुझावहरू पनि दिनुभएको थियो । उहाँजस्ता शुभचिन्तक गुमाउनु यस संस्थाका लागि ठूलो क्षति हो । उहाँको आत्मा परब्रह्ममा लीन होस् भन्ने कामना गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा — १०, काभ्रे

शब्दयात्रा प्रकाशनका लागि २०७२ र २०७३ साल

0

शब्दयात्रा प्रकाशनले २०७२ सालमा कस्ता–कस्ता कामहरू गर्न सक्यो, कुन–कुन लक्ष्यहरू पूरा गर्न सकेन र २०७३ सालमा के–के गर्ने लक्ष्य राखेको छ, यसलाई बुँदागत रूपमा प्रस्तुत गर्नु सान्दर्भिक नै हुन सक्छ ।
गर्न सफल भएका कामहरू:
योजनाअनुसार गर्न सफल भएका कामहरूलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ —
१. ‘नेपालभूमि साप्ताहिक’ नियमित रूपमा प्रकाशन गरियो । दसैँ–तिहारमा पनि यसको प्रकाशन रोकिएन । २०७२ सालमा ५३ वटा मङ्गलबार परेका थिए, भूकम्पका कारण १ अङ्क रोक्न बाध्य हुनुप¥यो र ५२ अङ्क मात्रै छापियो । हरेक अङ्क ८ पृष्ठ नै छापियो । त्यसबाहेक ९२ पृष्ठको वार्षिक अङ्क पनि छापियो ।
२. हरेक वर्ष १६ विधामा सम्मानित गर्ने क्रममा यस वर्षदेखि हरेक विधाको सम्मानमा नगद ५ हजार रुपियाँ पनि समर्पण गर्ने व्यवस्था मिलाइयो ।
३. सम्मानसम्बन्धी कोषमा २ लाख रुपियाँ थप गरियो र २ लाख रुपियाँ छिटै थप गरिदिने आश्वासन पाइयो ।
४. ‘शब्दसञ्चार’ रेडियो कार्यक्रम भूकम्पका कारण एक शृङ्खला प्रसारण हुन नसके पनि बाँकी शृङ्खला नियमित रूपमा प्रसारण भयो ।
५. जम्मा १८ वटा पुस्तकहरू प्रकाशन गरियो । त्यसमध्ये एउटा पुस्तक अर्को संस्थासँगको सहकार्यमा छापियो । यीसमेत यस संस्थाबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या ६० पुग्यो ।
६. पाठकहरूको सुविधाका लागि घुम्ती पुस्तक पसल सुरु गरियो ।
७. www.sypublication.com.np नामको आफ्नै वेभसाइट सुरु गरियो ।
८. संस्कृतिको जगेर्ना गर्दै विपत्तिपीडित लेखक–पत्रकारहरूको सहयोगार्थ देउसी–भैलो कार्यक्रम गरियो ।
९. पुस्तकको सार्वजनिकीकरण, कवितागोष्ठी, भाषा शिविर, प्रवचन कार्यक्रम, धुलिखेल कारागारलाई पुस्तक हस्तान्तरण कार्यक्रम आदिजस्ता विभिन्न फुटकर कार्यक्रमहरूको आयोजना गरियो । जानकारीमूलक र महàवपूर्ण भिडिओहरू पनि निःशुल्क वितरण गरियो ।

गर्न नसकिएका कामहरू:
लक्ष्यअनुरूप २०७२ सालमा केही कामहरू सफल पार्न सकिएन । ती हुन् —
१. ‘अक्षरधाम’ साहित्यिक पत्रिकालाई नियमित रूपमा प्रकाशन गर्न सकिएन, केवल २ अङ्क मात्रै प्रकाशन भयो ।
२. अक्षरसेवी सहयोग कोषका लागि योजनाअनुरूप रकम जम्मा गर्न सकिएन ।
३. स्वामित्व हस्तान्तरण गर्ने घोषणा भएको दैनिक पत्रिकाको स्वामित्व ग्रहण गर्न भ्याइएन ।

२०७३ सालमा गरिने कामहरू:
पत्रिका प्रकाशन, सम्मान समर्पण, पुस्तक प्रकाशन, रेडियो कार्यक्रम सञ्चालन, पुस्तक पसल सञ्चालन, वेभसाइट परिमार्जन आदि नियमित रूपमा गरिने कार्यक्रमहरूलाई निरन्तरता दिँदै २०७३ सालमा निम्नलिखित कार्यक्रमहरू थप गर्ने लक्ष्य राखिएको छ —
१. ‘शब्दसञ्चार’ रेडियो कार्यक्रम पाक्षिक रूपमा प्रसारण भइरहेकोमा यस वर्ष हरेक बुधबार बेलुका ७ देखि ७ः३० बजेसम्म रेडियो एबीसी ८९.८ मेगाहर्जबाट प्रसारण हुने व्यवस्था मिलाइएको छ ।
२. अक्षरसेवी सहयोग कोषमा ५० हजार रुपियाँ थप गर्ने लक्ष्य राखिएको छ ।
३. शब्दयात्रा प्रकाशनसँग आबद्ध हरेक सर्जकको नाउँमा छुट्टाछुट्टै ब्लगको निर्माण गरी उहाँहरूको सिर्र्जनालाई विश्वव्यापी सन्जालसँग जोडिनेछ ।
४. शब्दयात्रा प्रकाशनद्वारा सञ्चालन गरिने लक्ष्य राखिएको ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ का लागि जग्गा प्राप्त गर्ने लक्ष्य राखिएको छ ।
५. सम्मान कोषका लागि ४ लाख रुपियाँ थप गर्न प्रयत्न गरिनेछ ।
६. भाषा–साहित्य, पत्रकारिता, अध्यात्म, शिक्षा र समाजसेवासँग सम्बन्धित विभिन्न संस्थाहरूसँग सहकार्यका लागि समझदारी गरिनेछ ।

यी सबै विवरणहरूबाट शब्दयात्रा प्रकाशन सक्रिय रूपमा अघि बढिरहेको छ भन्ने देखिन्छ । यो संस्था प्रतिस्पद्र्धी नभई सहयोगी भूमिका खेल्न चाहन्छ र काम गरेका छौँ भनेर बोल्नुको सट्टा काम गरेर देखाउन चाहन्छ । यस संस्थाप्रति समुदायले देखाएको स्नेह र सम्मान तथा समुदायको बढ्दो चासो र आकर्षणले यस संस्थालाई अझ जिम्मेवार हुन उत्प्रेरित गराएको छ ।

– हरि मञ्जुश्री

तीन पुस्तक प्रकाशित

0

शब्दयात्रा प्रकाशनले २०७३ सालको पहिलो महिनामा नै तीनवटा पुस्तक प्रकाशित गरेको छ । त्यसमध्ये गणेशबहादुर खत्रीद्वारा लिखित ‘खुलाल खत्रीको खोज’ नामक अनुसन्धानात्मक पुस्तक भक्तपुरमा अवस्थित बागसिंह प्रतिष्ठानसागको सहकार्यमा प्रकाशन गरिएको हो । अन्य दुई पुस्तकहरूमा नेपालको प्रकाशनमा देखिएका विकृति र विसङ्गतिहरूको भण्डाफोर गरी शिवभक्त शर्माद्वारा लेखिएको उहााका अनुभव र अनुभूतिहरूको सङ्ग्रह ‘प्रशासनिक दाउपेच’ र भारत दार्जिलिङको रामकृष्ण कलेजका प्राचार्य डा. सुरेन्द्र पी. श्रेष्ठद्वारा नेपाली भाषामा लिखित ‘लैनसिंह बाङ्देलको उपन्यासकारिताको विश्लेषण र मूल्याङ्कन’ पुस्तकलाई डा. हेमराज काफ्लेद्वारा अङ्ग्रेजी भाषामा अनुवाद गरिएको कृति ‘नोभेलिस्टिक आर्टिस्ट्री अफ लैनसिंह बाङ्देल’ रहेका छन् ।
यी कृतिहरूसहित शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूको सङ्ख्या ६२ पुगेको छ । पछिल्ला दुई कृतिहरू आगामी जेठमा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रममा सार्वजनिक गरिनेछन् भने अघिल्लो कृतिको सार्वजनिकीकरण बागसिंह प्रतिष्ठानले गर्ने भएको छ ।

‘शब्दसञ्चार’ अब हरेक हप्ता

0

शब्दयात्रा प्रकाशनको रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ २०७३ सालको पहिलो सातादेखि नै हरेक हप्ता प्रसारण गर्न थालिएको छ । शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा सहयोगी मित्रहरूको आग्रहबमोजिम ‘शब्दसञ्चार’ लाई साप्ताहिक कार्यक्रमका रूपमा रूपान्तरण गरिएको हो । अब ‘शब्दसञ्चार’ कार्यक्रम हरेक बुधबार बेलुका ७ देखि साढे ७ बजेसम्म रेडियो एबीसी ८९.८ मेगाहर्जबाट सुन्न सकिनेछ ।
‘शब्दसञ्चार’ कार्यक्रम गत वर्ष प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार प्रसारण हुने गरेको थियो । उक्त कार्यक्रम शब्दयात्रा पत्रकार समाजका सचिव शिव बन्जाराले सञ्चालन गर्ने गर्नुभएको छ ।