Home Blog Page 217

दुई पत्रकार र दुई पत्रिकालाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा नेपालभूमि स्तम्भकार सम्मानबाट प्रा. डा. गोपाल शिवाकोटीलाई, शब्दयात्रा साहित्यिक पत्रिका सम्मानबाट ‘गुगुल्डी’ (साहित्यिक पत्रिका) लाई, शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मानबाट ‘गौरी’ (आध्यात्मिक पत्रिका) लाई र शब्दयात्रा फोटो पत्रकारिता सम्मानबाट फोटो पत्रकार मङ्गलमोहन श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।
गत साउन ३० गते आइतबार बसेको सम्मानित व्यक्तित्व चयन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि साप्ताहिक’ र ‘शब्दसञ्चार साप्ताहिक रेडियो कार्यक्रम’ बाट सम्मानयोग्य व्यक्ति तथा संस्थाको नाउँ सिफारिस गर्न सार्वजनिक रूपमा आह्वान गरेको थियो र तीमध्येबाट पनि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ चयन गर्न सम्मानित व्यक्तित्व चयन समिति बनाएको थियो । समितिमा एक्कुमाया पुन संयोजक तथा एकप्रसाद दुवाडी, सम्बोजन लिम्बू र भरतकुमार श्रेष्ठ सदस्य हुनुहुन्छ ।
सम्मानित हुनेहरूमा प्रा. डा. गोपाल शिवाकोटी अग्रज पत्रकारका रूपमा सुपरिचित हुनुहुन्छ । ‘नेपालभूमि साप्ताहिक’ मा उहाँका प्रशस्त लेखहरू प्रकाशित भएका छन् । ‘गुगुल्डी’ विगत १९ वर्षअघिदेखि सुदूरपश्चिम कञ्चनपुर जिल्लाबाट वीरबहादुर चन्द ‘विश्राम’ को सम्पादनमा प्रकाशित डोट्याली भाषाको साहित्यिक पत्रिका हो । ‘गौरी’ आध्यात्मिक मासिक पत्रिका अर्जुन लामिछानेको सम्पादनमा विगत ११ वर्षअघिदेखि काठमाडौँबाट प्रकाशित भइरहेको छ । २०१९ सालदेखि फोटो पत्रकारिता गर्न थाल्नुभएका मङ्गलमोहन श्रेष्ठ भीभीआईपीहरूका अफिसियल फोटोग्राफरका रूपमा पनि चिनिनुहुन्छ ।
शब्दयात्रा प्रकाशनले स्थापना गरेका सोह« विधाका सम्मानहरूमध्ये हरेक वर्षको भदौ महिनामा उल्लिखित चार विधाका सम्मानहरू समर्पण गर्ने गरिएको छ । ‘नेपालभूमि साप्ताहिक’ बाट नेपालभूमि स्तम्भकार सम्मानको, योगेन्द्र खत्रीबाट शब्दयात्रा साहित्यिक पत्रिका सम्मानको, प्रेमबहादुर खड्काबाट शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मानको र हरिगोपाल प्रधानबाट शब्दयात्रा फोटो पत्रकारिता सम्मानको आर्थिक व्यवस्थापन गरिएको छ ।
सम्मान गर्दा नगद पाँच हजार रुपियाँसहित उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गर्ने गरिन्छ । कार्यक्रम शब्दयात्रा प्रकाशनको केन्द्रीय कार्यालय रहेको काभ्रे जिल्लाको बनेपामा गर्ने गरिएको छ ।
भदौ महिनाको दोस्रो मङ्गलबार आयोजना गरिने सम्मान समर्पण समारोहमा ‘नेपालभूमि साप्ताहिक’ ले सम्मानसम्बन्धी विशेष पृष्ठको प्रकाशन गर्ने गरेको छ ।

शब्दयात्रा कदरपत्र रमेशप्रसाद न्यौपाने र नगेन्द्र अधिकारीलाई

0

शब्दयात्रा प्रकाशनले काभ्रेमा क्रियाशील दुईजना पत्रकारलाई हरेक वर्षको भदौ महिनामा प्रदान गर्ने गरेको कदरपत्रमध्ये २०७३ सालका लागि ‘काभ्रे टाइम्स साप्ताहिक’ का कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने र ‘कान्तिपुर’ दैनिकका काभ्रे संवाददाता नगेन्द्र अधिकारीलाई प्रदान गर्ने भएको छ ।
पत्रकारद्वय रमेशप्रसाद न्यौपाने र नगेन्द्र अधिकारीलाई उहाँहरूले शब्दयात्रा प्रकाशनका लागि आ–आफ्नो क्षेत्रबाट गर्नुभएको योगदानको कदरस्वरूप कदरपत्र प्रदान गर्न लागिएको हो ।
दुवैजनाको कदरसम्बन्धी आर्थिक व्यवस्थापन शब्दयात्रा प्रकाशन संरक्षण समितिका सदस्य अग्रज पत्रकार हरिगोपाल प्रधानबाट हुने गरेको छ ।
शब्दयात्रा प्रकाशनको स्थापना भएको पाँचौँ वार्षिक दिवसको अवसर पारी आगामी भदौ महिनाको दोस्रो साता बनेपामा आयोजना गरिने विशेष समारोहमा उहाँहरूलाई कदरपत्र प्रदान गरिनेछ ।
शब्दयात्रा प्रकाशनले यसअघि प्रदीप के. सी, रामकृष्ण चापागाईं, विष्णुप्रसाद चौलागाईं, रमा दाहाल, नवराज बजगाईं र युवराज पाण्डेलाई कदरपत्र प्रदान गरिसकेको छ ।

शब्दयात्राबाट समवेदना

0

शब्दयात्रा प्रकाशनबाट २०७० साल माघमा हरि मञ्जुश्रीको सम्पादनमा प्रकाशित ‘नेपाली पत्रकारितामा निर्भीक’ नामक अभिनन्दनग्रन्थका नायक तथा यस संस्थाका शुभेच्छुक अग्रज पत्रकार डिल्लीराम निर्भीकको निधनप्रति शोकाकुल बन्दै उहाँको आत्मशान्तिको कामना गरेको छ र उहाँका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
डिल्लीराम निर्भीक १९९५ साल माघ २ गते इलाममा जन्मनुभएको थियो भने उहाँको निधन २०७३ साल साउन १९ गते काठमाडौँमा भएको थियो ।

शब्दयात्राबाट प्राविधिज्ञ आह्वान

0

शब्दयात्राबाट प्राविधिज्ञ आह्वान
मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा स्थापना भई राष्ट्रिय स्तरका विभिन्न वाङ्मयिक गतिविधिहरू सञ्चालन गरिरहेको शब्दयात्रा प्रकाशनलाई सूचना–प्रविधिसम्बन्धी सेवा प्रदान गर्न सक्ने एकजना दक्ष प्राविधिज्ञको सेवा आवश्यक भएकाले त्यसका लागि शब्दयात्रा प्रकाशनले एक सूचना प्रकाशित गरेको छ ।
(क) सेवा: सूचना–प्रविधिसम्बन्धी सेवा
(ख) कामको प्रकृति: शब्दयात्रा प्रकाशनका गतिविधिहरू, यस संस्थाद्वारा प्रकाशित पुस्तक–पत्रिकाहरू, यस संस्थासँग सम्बन्धित विभिन्न विधाका प्रतिभाहरूको विज्ञता र सिर्जनाहरू कम्प्युटरमार्फत विद्युतीय माध्यमको प्रयोग गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना–सन्जालसँग आबद्ध गराउने
(ग) खोजिएको दक्षता: सम्बन्धित विधामा स्नातक तह उत्तीर्ण गरी वेभ डिजाइन, वर्ड प्रेस, लेखनकला, नेपाली र अङ्ग्रेजी भाषा तथा अक्षराङ्कनमा दक्ष
(घ) खोजिएको व्यक्तित्व: स्वप्नद्रष्टा, प्रयोगशील, ऊर्जावान् तथा सकारात्मक सोच र आत्मविश्वासले भरिपूर्ण युवा
(ङ) सेवा–सुविधा: द्विपक्षीय समझदारीका आधारमा गरिने करारअनुसार
(च) कार्यावधि: न्यूनतम एक वर्षसम्म, त्यसपछि कार्यसम्पादनका आधारमा थप गर्न सकिने
(छ) चयन–प्रक्रिया: प्रयोगात्मक र अन्तर्वार्ता
(ज) आवश्यक सामग्री: नागरिकता, शैक्षिक योग्यता र तालिमको प्रमाणपत्रका प्रतिलिपिहरू, व्यक्तिगत विवरण र तस्बिरका साथमा निवेदन
इच्छुक युवाहरूलाई २०७३ साल साउन मसान्तभित्र निवेदन दिन आग्रह गरिएको छ र चयन–प्रक्रियामा सामेल हुन फोन गरेर बोलाइने जानकारी पनि गराइएको छ ।

शब्दयात्राको साधारण सभा भदौ १४ गते

0

शब्दयात्रा प्रकाशनको साधारणसभा आगामी भदौ १४ गते मङ्गलबार बिहान १० बजे प्रकाशनको आफ्नै सभाकक्षमा बस्ने भएको छ ।
शब्दयात्रा प्रकाशनका प्रबन्धक शारदाप्रसाद शर्माका अनुसार सभामा विभिन्न विषयहरू छलफल गरी अनुमोदन गरिनेछन् र पारित गर्नका लागि चारवटा प्रस्तावहरू प्रस्तुत हुनेछन् ।

शब्दयात्राबाट उपन्यास छापिँदै

0

शब्दयात्रा प्रकाशनले टेकलाल भारती ‘आदर्श’ द्वारा लिखित उपन्यास ‘भग्नावशेष’ प्रकाशन गर्ने भएको छ । यसअघि उनका दुई पुस्तक ‘हराएको भाले’ (कथासङ्ग्रह) २०७१ सालमा र ‘मिहिनेतको रमझम’ (निबन्धसङ्ग्रह) २०७२ सालमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका थिए ।
शब्दयात्रा लेखक समाजसँग आबद्ध टेकलाल भारती ‘आदर्श’ को यो उपन्यास उनको चौथो पुस्तक हो । उनको पहिलो पुस्तक ‘धर्तीमाताको आँसु’ (कवितासङ्ग्रह) २०७० सालमा प्रकाशित भएको थियो ।

‘गणेशदास’ को दोस्रो संस्करण

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ६६ औँ प्रकाशनपुष्प ‘गणेशदास’ को दोस्रो संस्करण गर्न थालिएको छ । शब्दयात्रा पत्रकार समाजसँग आबद्ध सञ्चारकर्मी शिव बन्जाराको सम्पादन रहेको उक्त पुस्तकलाई गत साउन ५ गते सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गरिएको एक हप्ताभित्रमै उक्त पुस्तक सकिएको र पुस्तकको मागचाहिँ बढिरहेको हुनाले दोस्रो संस्करण गर्नुपरेको हो ।

प्रपन्नाचार्य अङ्क सार्वजनिक

0

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित ‘सेवा नेपाल’ को ‘डा. स्वामी प्रपन्नाचार्य श्रद्धाञ्जली अङ्क’ गत साउन ११ गते सार्वजनिक गरिएको छ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपबाट पूर्वराष्ट्रपति डा. रामवरण यादवले उक्त अङ्कलाई सार्वजनिक गरेका थिए ।
उक्त अवसरमा हरेक दुई वर्षमा प्रदान गरिने ५१ हजार रुपियाँसहितको ‘सेवा पुरस्कार नेपाल’ थाई नेपाली सेवासङ्घलाई र डा. लोकविक्रम थापाद्वारा स्थापित ‘बद्रीविक्रम चरित्र–निर्माण पुरस्कार’ हिन्दू विद्यापीठ नेपालका छात्र निशान ओलीलाई प्रदान गरिएको थियो ।
गुठीका अध्यक्ष डा. सत्यमोहन जोशीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा प्रा. डा. सुरेन्द्र के. सी., डा. चिन्तामणि योगी, सम्पादक हरि मञ्जुश्री र पुरस्कृत संस्थाका उपाध्यक्ष कुमार कार्कीले मन्तव्य व्यक्त गरेका थिए । स्वागत भाषण किरण थापा र कार्यक्रम सञ्चालन सन्ध्या पहाडीले गरेको उक्त समारोहमा शब्दयात्रा प्रकाशनका तर्फबाट सुमन खड्का, सकुल थापा, रमेश पौड्याल, त्रिरत्न रन्जितकार, कविप्रसाद प्याकु¥याल र डा. विष्णु सापकोटा सहभागी भएका थिए ।

शब्दयात्राबाट हृदयतः शब्दश्रद्धा

0

शब्दयात्रा प्रकाशनका सहृदयी मित्र अधिवक्ता तथा पत्रकार हरिप्रसाद ढुङ्गेलका पिता, शैक्षिक–सामाजिक सम्बल एवं शब्दाक्षरका साधक भीमप्रसाद ढुङ्गेल (इहलोकागमन १९९४ साल भदौ ९ गते) ले ७९ वर्षको उमेरमा दृश्यमान् स्वरूपको भौतिक विसर्जन (परलोकप्रस्थान २०७३ साल साउन १ गते) गर्नुभएकोमा त्यसबाट व्यथित बनेर यस संस्थाका सदस्यहरूले उहाँलाई सहस्र अश्रुजलबाट मानसिक तर्पण दिएका छन् । उहाँका शोकापन्न पारिवारिक सम्बन्धीहरूसमान सहवेदना अनुभूत गरिरहेका यस संस्थाका सदस्यहरूले उहाँको अदृष्ट स्वरूप ब्रह्मलीन होस् भन्ने कामनाका साथ उहाँले गर्नुभएको योगदानप्रति हृदयतः भावपूर्ण शब्दश्रद्धा समर्पण गरेका छन् ।

चयन समिति गठन

0

शब्दयात्रा प्रकाशनबाट आगामी भदौ महिनामा समर्पण गरिने चार विधाका सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको चयन गरिदिन चार सदस्यीय चयन समिति निर्माण गरिएको छ ।
समितिमा एकुमाया पुन संयोजक तथा एकप्रसाद दुवाडी, सम्बोजन लिम्बू र भरतकुमार श्रेष्ठ सदस्य रहनुभएको छ । उहाँहरू चारैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
सम्मानका लागि सिफारिस प्राप्त भएका नाउँहरूमध्ये उहाँहरूबाट उपयुक्त ठानी चयन गरिएका व्यक्ति र संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्नेछ ।