शब्दयात्रा प्रकाशनले आगामी कार्तिक १४ गते देउसी–भैलो खेल्ने भएको छ । गत वर्षदेखि शब्दयात्रा प्रकाशनले देउसी–भैलो खेल्न थालेको हो ।
नेपालीको सांस्कृतिक परिचय कायम राख्नका लागि देउसी–भैलोलाई पनि जीवन्तता दिनुपर्ने भएको हुँदा
शब्दयात्रा प्रकाशनले देउसी–भैलो खेल्नका लागि आफ्ना शुभेच्छुक सम्पूर्ण मित्रहरूलाई आग्रह गरेको छ ।
कार्तिक १४ गते शब्दयात्राको देउसी–भैलो
शब्दयात्रा प्रकाशनले जगाएछ उत्साह
— हरि मञ्जुश्री
काठमाडौँमा रहेका धेरैजना नेपाली लेखकहरूले यस पटकको दसैँमा काभ्रे जिल्लाको बनेपामा ३–४ घन्टा बिताए । कसैले पलाञ्चोक भगवतीको दर्शन गर्न जाँदा–आउँदा बनेपालाई १–२ घन्टा रोकिने स्थान बनाए भने कसैको चाहिँ गन्तव्य नै बनेपा बन्यो । त्यसको कारण थियो शब्दयात्रा प्रकाशनले प्राप्त गरेको जग्गा हेर्ने रहर ।
दसैँका लागि बिदा भएपछि हरेक दिनजसो नेपाली लेखकहरूमध्ये कोही न कोही बनेपा आइरहे । पहिले शब्दयात्रा प्रकाशनमा फोन आउँथ्यो ‘शब्दयात्रा प्रकाशनले जग्गा लिएको छ रे, त्यहाँ सालिक राखिँदैछ रे, लेखक–साहित्यकारहरूका लागि अतिथिगृह बन्दैछ रे, त्यो जग्गा कहाँनेर छ र कस्तो छ, देखाइदिनुप¥यो, हामी बनेपा आउँदैछौँ ।’ अनि त्यसको केही घन्टा या मिनेटपछि रिजर्भ गरिएको गाडी अथवा मोटरसाइकल ‘अक्षरधाम’ मा आइपुग्थ्यो । त्यसपछि शब्दयात्रा प्रकाशनले प्राप्त गरेको जग्गासम्म पुगिन्थ्यो ।
जग्गामा पुगेपछि हरेक लेखकको प्रतिक्रिया हुन्थ्यो — ‘आहा ! यो जग्गामा बनेको घर जतिसुकै तलाको भए पनि सबभन्दा माथिल्लो तलालाई लेखक–साहित्यकारहरू बस्ने अतिथिकक्ष बनाइयोस्, यहाँ सुत्ने मात्र होइन खाने सुविधा पनि होस् बरू केही पैसा लिइयोस्, यहाँ बसेर बिहान प्राकृतिक दृश्यावली हेर्न र चराचुरुङ्गीको चिरबिर सुन्न अनि साँझ बत्तीको झिलिमिली हेर्न र झ्याउँकीरीको झ्याइँझ्याइँ सुन्न पाइयोस्, त्यस्तो वातावरणमा बसेर आफ्नो किताबलाई अन्तिम रूप दिन पाइयोस्, कल्पना गर्दा मात्रै पनि मन फुरुङ्ग हुन्छ । लेखक–साहित्यकारहरूका लागि योभन्दा स्वर्गीय ठाउँ अन्त कहाँ खोज्नु ! यस्तो ठाउँको त्यस्तै वातावरणमा बसेर तयार पार्ने किताबले हो अन्तर्राष्ट्रिय रूपमा तहल्का मच्चाउने !’
जग्गा हेरेर फर्किंदा हरेक लेखकको अनुहार उज्यालो हुन्थ्यो । ‘शब्दयात्रा प्रकाशनले अझै प्रयास गर्नुपर्छ, क्षमताअनुसार अझै सक्रिय बनौँ, साथ दिने हामी छौँ, केही सहयोग गर्नुपर्छ भन्ने भन्नोस्, काम गरौँ’ भन्ने खालको हौसला प्रदान गर्थे लेखकहरू । शब्दयात्रा प्रकाशनले नेपालका साहित्यिक संस्थाको काम दिगो हुँदैन, त्यहाँको व्यवस्थापन राम्रो हुँदैन, संस्थालाई राजनीतिमा लागेका मान्छेहरूले तहसनहस पार्छन् भन्ने धारणा गलत हो भनेर प्रमाणित गर्न सक्नुपर्छ भन्ने सुझाव दिए उनीहरूले ।
दसैँको अन्तिम दिन अर्थात् पूर्णिमाको दिन शनिबार जग्गा हेरेर फर्कने पछिल्ला व्यक्ति थिए बालसाहित्यकार गोपाल पराजुली । फर्कंदा बाटोमा उनले भनेको कुरो बडो मार्मिक थियो — “म चारवटा सल्लाह दिन चाहन्छु । नेपालमा साहित्यकार धेरै छन्, साहित्यिक संस्था पनि धेरै छन्, तर साहित्यिक संस्थाको ढाँचा एकै प्रकारको छ । साहित्यिक संस्था दीर्घजीवी हुन नसक्नुमा संस्थाको ढाँचा पो दोषी छ कि, त्यसमा तपाईंहरू विचार गर्नुहोला । संस्थागत ढाँचालाई परिमार्जन गरेको नमुना संस्थाका रूपमा पनि शब्दयात्रा प्रकाशनलाई चिनाउन सकिन्छ । यो एउटा सल्लाह हो । मेरो दोस्रो सल्लाह । तपाईंहरू हरेक राजनीतिक विचारका लेखक–साहित्यकारलाई स्थान दिनुहोला । साहित्यिक संस्थाले कसैलाई पनि निषेध गर्नु हुँदैन । तेस्रो सल्लाह हो सञ्चालक समितिले साहित्यिक क्षेत्रका मान्छेलाई संस्थाका हरेक अङ्गहरूमा राखिदेओस् । त्यसो गर्दा साहित्यकारले आफूभित्रको व्यावसायिक क्षमता देखाउन पाउँछ र साहित्यकारहरू व्यवस्थापन पक्षमा कमजोर हुन्छन् भन्ने धारणा पनि मेटिन्छ । चौथो सल्लाह के हो भने आफ्नो अनुपस्थितिमा आफूले गरेको जस्तै काम गर्न सक्ने उत्तराधिकारी तयार पार्न हरेक सञ्चालकले अहिल्यैदेखि विचार गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई त्यो कुरा थाहा नदिईकन तालिमप्राप्त बनाउँदै लैजानुपर्छ ।”
शब्दयात्रा प्रकाशनप्रति नेपाली लेखक–साहित्यकारहरूले देखाएको सदाशयता, राखेको भरोसा र गरेको विश्वास साँच्चै नै हृदयस्पर्शी छन् । यस संस्थाले स्थानीय समुदायबाट पाएको स्नेह पनि त्यत्तिकै स्मरणीय छ । संस्थामा आबद्ध जिम्मेवार व्यक्तिहरूको लगन र मिहिनेतले संस्थालाई ठूलो टेवा पु¥याएको छ । हरेक क्षेत्रबाट यस्तो सहयोग प्राप्त भएपछि अनुसन्धान प्रतिष्ठानको अवधारणा सार्थक हुने कुरामा विश्वस्त हुन सकिन्छ ।
शब्दयात्रा प्रकाशनले सम्मानका लागि नाम माग्यो
हरेक वर्षझैँ आगामी मङ्सिर महिनामा पनि काभ्रे जिल्लामा विशेष समारोहको आयोजना गरी बालसाहित्य, समालोचना, अनुसन्धान र कविता–काव्य गरी चार विधामा सम्मान गरिने भएकाले सम्मान गर्न योग्य व्यक्ति वा संस्थाको नाउँ सिफारिस गरी पठाउन शब्दयात्रा प्रकाशनले सम्पूर्ण वाङ्मयसेवीहरूमा आग्रह गरेको छ ।
उल्लिखित विधाका राष्ट्रिय प्रतिभाहरूमध्ये उपयुक्त व्यक्ति वा संस्थाको नाम र योगदानको विवरण उपलब्ध गराइदिने समयसीमा शब्दयात्रा प्रकाशनले आगामी कार्तिक २५ गतेसम्मका लागि निर्धारण गरेको छ ।
हरेक सम्मानमा नगद रु. ५०००।–, किरीट, उपहार र अभिवन्दनापत्र समर्पण गर्ने गरिएको छ ।
गत वर्ष उल्लिखित सम्मानहरूबाट कृष्णप्रसाद दुवाल, डा. कुमारबहादुर जोशी, रमा शर्मा र कृष्ण जोशी सम्मानित हुनुभएको थियो । शब्दयात्रा प्रकाशनद्वारा संस्थापित यी सम्मानहरूको आर्थिक व्यवस्थापन गोपाल पराजुली, हरिगोपाल प्रधान, सकुल थापा र कविप्रसाद प्याकु¥यालले गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनमा उपकुलपतिको भ्रमण
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले शब्दयात्रा प्रकाशनले थोरै समयमा धेरै काम गरेर भागीरथीको भगीरथ बनेको बताउनुभएको छ । उहाँले काठमाडौँ विश्वविद्यालय, धुलिखेल अस्पताल, शब्दयात्रा प्रकाशन र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति ‘गर्न चाहे सकिन्छ’ भन्ने कुराको उदाहरणका रूपमा प्रस्तुत भएका काभ्रे जिल्लाका गौरव हुन् पनि भन्नुभएको छ ।
डा. कोइराला शब्दयात्रा प्रकाशनको कार्यालय अवलोकन गर्न आउनुभएको थियो र अवलोकनपछि उहाँले उक्त कुरा बताउनुभएको थियो । उहाँका साथमा साझा प्रकाशन सञ्चालक समितिका सदस्य ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला र अन्य व्यक्तिहरू गरी नौजना हुनुहुन्थ्यो ।
डा. कोइरालाको नेतृत्वमा आएको टोलीलाई शब्दयात्रा सम्मान व्यवस्थापक समाजका संयोजक रमेश पौड्यालले शब्दयात्रा प्रकाशनको कार्यालयमा स्वागत गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनबाट हालसम्म भएका गतिविधिहरूका बारेमा टोलीलाई जानकारी गराउनुभएको थियो । उहाँले डा. कोइरालालाई शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित केही पुस्तकहरू उपहारस्वरूप अर्पण गर्नुभएको थियो भने टोलीमा सहभागी अन्यलाई संस्थाका प्रबन्धक शारदाप्रसाद शर्माले पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो ।
शब्दयात्राको अभियानप्रति प्रतिबद्धता
‘नेपाललाई विशिष्ट उपहार दिने हाम्रो अभियान, शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ भन्ने तुल संयुक्त रूपमा बोकेर उक्त नारालाई सार्थकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसरी उक्त अभियानप्रति सयुक्त रूपमा प्रतिबद्धता व्यक्त गर्नेहरूमा शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेल, ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) का सम्पादक सुमन खड्का, ‘अक्षरधाम’ (साहित्यिक मासिक पत्रिका) का कार्यकारी सम्पादक सकुल थापा, ‘शब्दसञ्चार’ (साप्ताहिक रेडियो कार्यक्रम) का प्रस्तोता शिव बन्जारा, शब्दयात्रा प्रकाशनका प्रबन्धक शारदाप्रसाद शर्मा, शब्दयात्रा नारीस्रष्टा समाजका उपसंयोजक पुण्यवती घले, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का, शब्दयात्रा सहयोगी समाजका संयोजक रामप्रसाद अधिकारी र शब्दयात्रा सम्मान व्यवस्थापक समाजका संयोजक रमेश पौड्याल हुनुहुन्थ्यो ।
हरि मञ्जुश्रीबाट शब्दयात्रालाई कम्प्युटर
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले यु–सफ्ट कम्प्युटरले आफूलाई प्रदान गरेको कम्प्युटर सेट शब्दयात्रा प्रकाशनलाई प्रदान गर्नुभएको छ ।
हरि मञ्जुश्रीबाट उक्त कम्प्युटर सेट शब्दयात्रा प्रकाशनका लागि प्रबन्धक शारदाप्रसाद शर्माले ग्रहण गर्नुभएको हो ।
हरि मञ्जुश्रीलाई कम्प्युटर उपहार
शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीलाई यु–सफ्ट कम्प्युटरका तर्फबाट एक थान कम्प्युटर उपहारस्वरूप प्रदान गरिएको छ ।
यु–सफ्ट कम्प्युटरका प्रोप्राइटर बुद्ध मानन्धरले सीपीयू, एलईडी मोनिटर, कीबोर्ड, माउसप्याड र माउससहितको एक सेट कम्प्युटर हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
त्यस अवसरमा बुद्ध मानन्धरले व्यक्त गर्नुभएको मन्तव्य यस्तो रहेको छ —
“आजको यो कार्यक्रममा बौद्धिक व्यक्तिहरूको उपस्थिति छ । म लेखन क्षेत्रको मान्छे होइन, व्यावसायिक क्षेत्रको मान्छे हुँ । मेरो घर बनेपामा भए पनि आफ्नो व्यवसाय काठमाडौँबाट सञ्चालन गरिरहेको छु । म २०६५ सालदेखि हरि मञ्जुश्री सरको निकट सम्पर्कमा छु । उहाँले मलाई सुरुदेखि नै आफ्नो व्यवसायलाई समाजसेवासँग जोड्नुपर्छ, आफ्नो हितलाई समाजको हितसँग जोड्नुपर्छ भनेर सल्लाह दिने गर्नुभएको छ । मैले उहाँकै सल्लाहबमोजिम व्यवसाय सञ्चालन गरिरहेको छु र मेरो व्यवसायलाई सामाजिक कामसँग जोड्न पाइरहेको छु । व्यवसाय ठूलो हुनु मात्रै सफलता होइन, त्यो व्यवसायलाई समाजले कसरी हेर्छ र त्यो व्यवसायबाट समाजले कति फाइदा लिएको छ, त्यो ठूलो कुरा हो भनेर उहाँ मलाई बारम्बार भनिरहनुहुन्छ । म व्यापार–व्यवसायमा संलग्न भए तापनि उहाँकै कारणले समाजसेवा, पत्रकारिता, साहित्य, प्राध्यापन र निजामती प्रशासन क्षेत्रका मानिसहरूसँग मेरो सम्पर्क बढिरहेको छ । विभिन्न संस्थाहरूमा बसेर म पनि सामाजिक काम गरिरहेको छु । यसबाट मलाई आत्मसन्तुष्टि मिलेको छ र व्यवसाय पनि वृद्धि हुँदै गएको छ ।
काभ्रे जिल्लालाई साहित्यिक क्षेत्रमा अग्रणी बनाउनुपर्छ, काभ्रे उपत्यका भन्ने गरिएको बनेपा, धुलिखेल र पनौतीलाई बौद्धिक राजधानी बनाउनुपर्छ, केन्द्रीय राजधानीलाई समेत नेतृत्व गर्ने क्षमता हामीले विकास गर्नुपर्छ भनेर हरि मञ्जुश्री सर बारम्बार मसँग भनिरहनुहुन्छ । अरूसँग पनि यस्तै कुरा गर्नुहुन्छ होला । नभन्दै काभ्रे जिल्लाबाट अहिले मेचीदेखि महाकालीसम्मका लेखकका किताबहरूको भाषा शुद्ध बनाइन्छ, यही जिल्लाबाट धेरै किताबहरू सम्पादन हुन्छन्, यही जिल्लाबाट पनि धेरै लेखक–साहित्यकार जन्मिएका छन्, काठमाडौँमा छापिएजत्तिकै महàवपूर्ण किताबहरू हाम्रै जिल्लामा छापिन्छन्, कागज र छपाइको स्तर पनि काठमाडौँको भन्दा यहाँ कम छैन, बनेपामा देशका ठूला–ठूला मान्छेहरू भाषा, सम्पादन र छपाइका लागि आउँछन्, हरेक तीन–तीन महिनामा यहाँ ठूला–ठूला कार्यक्रमहरू हुन्छन्, राजधानीभन्दा बाहिरको जिल्लाबाट राष्ट्रिय स्तरको साप्ताहिक पत्रिका निस्कने जिल्ला पनि हाम्रै जिल्ला भएको छ, साहित्यिक संस्थाले साप्ताहिक रेडियो कार्यक्रम चलाउने जिल्ला पनि हाम्रै काभ्रे जिल्ला हो । यसरी हाम्रो जिल्लाले साहित्यिक र पत्रकारिता क्षेत्रमा फड्को मार्न सकेको छ ।
हाम्रो जिल्लामा यस्तो प्रगति हुनुको मुख्य कारण शब्दयात्रा प्रकाशन नै हो । यस संस्थालाई कृष्णमणि कुइँकेलले जग्गा दान गर्नुभएको कुरा मलाई हरि मञ्जुश्री सरले सुनाउनुभयो । मलाई खुसी लाग्यो । उहाँले जस्तै गरी हामी सबैले शब्दयात्रा प्रकाशनका लागि केही न केही सहयोग ग¥यौँ भने हरि मञ्जुश्री सरले भनेजस्तै हाम्रो जिल्ला साहित्यिक क्षेत्रमा अग्रणी हुन सक्छ र बनेपा, धुलिखेल र पनौतीलाई बौद्धिक राजधानी बनाउन सकिन्छ ।
शब्दयात्रा प्रकाशनको नेतृत्व अहिले हरि मञ्जुश्री सरले गर्नुभएको छ । मेरो व्यावसायिक संस्था यु–सफ्ट कम्प्युटरको पनि उहाँ सल्लाहकार हुनुहुन्छ । उहाँलाई सघाउनु भनेको हाम्रै जिल्लाको हितका लागि सघाउनु हो । त्यसैले यु–सफ्ट कम्प्युटरले उहाँको व्यक्तिगत प्रयोजनका लागि उहाँलाई एक सेट कम्प्युटर उपलब्ध गराउने भएको छ । आज मैले उहाँलाई उपहार दिन कम्प्युटर सेट नै यहाँ लिएर आएको छु । म उहाँलाई यु–सफ्ट कम्प्युटरका तर्फबाट सीपीयू, मोनिटर, कीबोर्ड र माउस सहितको एक सेट कम्प्युटर उपहार लिइदिन अनुरोध गर्दछु ।”
जग्गादातालाई कृतज्ञतापत्र प्रदान
शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेललाई शब्दयात्रा प्रकाशनले कृतज्ञतापत्र प्रदान गरेको छ । श्री कुइँकेलले शब्दयात्रा प्रकाशनका लागि बनेपा — ११ मा अवस्थित ३ आना जग्गा दान दिनुभएको थियो ।
कृतज्ञतापत्रमा उक्त जग्गामा उपयुक्त समयमा भौतिक संरचनाको निर्माणकार्य प्रारम्भ गरिने र परिसरको नाउँ कृष्णगीता परिसर राख्ने निर्णय गरिएको कुरा उल्लेख गरिएको छ । कृतज्ञतापत्रको बेहोरा यस्तो छ —
दिनाङ्क : ३१ भदौ २०७३
श्रीमान् कृष्णमणि कुइँकेलज्यू
बनेपा, काभ्रे
विषय : कृतज्ञतापत्र
महोदय,
नेपालको वाङ्मयिक क्षेत्रमा नेपालकै लागि नमुना कार्य गर्ने लक्ष्यका साथ मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भई काभ्रे जिल्लालाई केन्द्रस्थल बनाएर विगत ५ वर्षदेखि कार्यरत शब्दयात्रा प्रकाशनको अभियानलाई मूर्त रूप दिन तपाईंले बनेपा नगरपालिका वडा नं. ११ मा रहेको कित्ता नं. ४४८४ को आफ्नो स्वामित्वको ३ आना जग्गा शब्दयात्रा प्रकाशनलाई दानपत्र गरी मालपोत कार्यालयबाट रजिस्ट्रेसन पारित गरिदिनुभएकोमा मिति २०७३ भदौ २९ गते बुधबार बसेको यस संस्थाको सञ्चालक समितिको बैठकले तपाईं र तपाईंको परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
उक्त बैठकले तपाईंबाट प्राप्त भएको जग्गाको परिसरलाई तपाईं र तपाईंकी धर्मपत्नी श्रीमती भोजकुमारी (गीता) कुइँकेलको संयुक्त नामबाट ‘कृष्णगीता परिसर’ राख्ने निर्णय पनि गरेको छ ।
उक्त जग्गामा यस संस्थाले उपयुक्त समय पारी भौतिक संरचनाको निर्माणकार्य प्रारम्भ गर्ने जानकारी पनि गराउन चाहन्छौँ ।
नेपालको नमुना वाङ्मयिक संस्थाका रूपमा शब्दयात्रा प्रकाशनलाई सुपरिचित गराउने यस भूक्षेत्रका कर्मयोगीहरूको आकाङ्क्षाका लागि बलियो आधार बनिदिनुभएकोमा यो संस्था तपाईंहरूप्रति पुन: आभार व्यक्त गर्दछ र यस्तो पुण्यकर्मका कारण नीलकण्ठेश्वर महादेवबाट तपाईं र तपाईंको परिवारलाई लौकिक र पारमार्थिक शान्ति प्राप्त भइरहनेछ भन्ने विश्वास व्यक्त गर्दछ ।
सञ्चालक समितिका पदाधिकारीहरू
हरि मञ्जुश्री, सुमन खड्का, सकुल थापा,
हरिगोपाल प्रधान र श्यामकृष्ण लम्सालका तर्फबाट
हरि मञ्जुश्री
अध्यक्ष : शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा — १०, काभ्रे
शब्दयात्रा प्रकाशनबाट शुभकामना कार्यक्रम
शब्दयात्रा प्रकाशनले दसैँ–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बनेपा बुडोलस्थित नीलकण्ठेश्वर महादेव मन्दिरको परिसरमा उक्त कार्यक्रम गरिएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सभापतित्व रहेको उक्त कार्यक्रममा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्याय, अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठ, सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्का, शिक्षासेवी रामप्रसाद अधिकारी, आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ, अग्रज लोकगायक मच्छेश्वर सापकोटा लगायतका अतिथिहरूको समुपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन ‘नेपालभूमि’ का सम्पादक सुमन खड्काले गर्नुभएको थियो ।
दसैं–तिहारको शुभकामना आदानप्रदान र जलपान कार्यक्रममा निमन्त्रणा
शब्दयात्रा प्रकाशनले बडादसैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । शब्दयात्रा प्रकाशनसँग प्रत्यक्ष–परोक्ष रूपमा आबद्ध तथा शुभेच्छुक सम्पूर्ण महानुभावहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
स्थान : नीलकण्ठेश्वर महादेव मन्दिरको परिसर
बनेपा — ११, काभ्रे
मिति : २०७३ असोज १८ गते मङ्गलबार
समय : दिउँसो ३ बजे
शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा — १०, काभ्रे

