Home Blog Page 156

चूडाप्रसादबाट राजिनामा

0

‘नेपालभूमि’ (राष्ट्रिय साप्ताहिक पत्रिका) का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले वृद्धावस्थाको कारण देखाई पदबाट राजिनामा दिनुभएको छ ।
शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठकले हालसम्म गर्नुभएको सेवाप्रति उहाँलाई धन्यवाद व्यक्त गरेको छ ।

हरि मञ्जुश्री सम्मानित

0

कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको संस्था स्थापनाको रजतवर्षको समापन समारोहमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई ‘कुलचन्द्र कोइराला समाजसेवा समन, २०७६’ बाट सम्मानित गरेको छ । गत २०७६ जेठ १४ गते काठमाडौँमा आयोजित विशेष समारोहमा उहाँलाई प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी र सभापति नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले माला, खादा, टोपी, दोसल्ला र अभिनन्दनपत्रसहित संयुक्त रूपमा सम्मान गर्नुभएको थियो ।
उहाँका साथमा समाजसेवी दुर्गा घिमिरे, बालसाहित्यकार गोपाल पराजुली, पत्रकार राजेश्वर नेपाली, भाषाविद् डा. चूडामणि बन्धु पनि सम्मानित हुनुभएको थियो भने प्रा. डा. त्रिरत्न मानन्धर कुलचन्द्र कोइराला पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।
ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाले स्वागत भाषण, प्रा. डा. कृष्णप्रसाद दाहालले सम्मानित व्यक्तित्वहरूको परिचय र प्रा. डा. विष्णु सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा ‘दीपक’ मुखपत्रलाई सार्वजनिक गरिएको थियो ।

२०७६ जेठ २१ को समारोहमा सम्मानित व्यक्तित्वहरू

0

प्रा. डा. श्री सुरेन्द्र केसी

नेपालको राष्ट्रियता सबल बनाउनका लागि जनतामा राष्ट्रिय स्वाभिमान जगाउन र बढाउन, राजनीतिक दलहरूलाई जनतामुखी बनाउन र सबैलाई कर्तव्यपथमा लागिरहनका लागि उत्प्रेरित गराइरहन प्रवचन, लेखन, प्रकाशन आदिका माध्यमबाट अहोरात्र लागिपर्नुभएका प्रा. डा. श्री सुरेन्द्र केसी (ताप्लेजुङ) लाई श्री कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

प्रा. श्री लालानाथ सुवेदी

कवि नन्दिकेश्वर अधिकारीको वंशका वाङ्मयसेवीहरूका साथै प्रथम शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारीका विषयमा विशेष अन्वेषण–अनुसन्धान, प्रचारप्रसार तथा प्रकाशन आदिका लागि सक्रिय रहनुभएकोमा वाङ्मयसेवी प्रा. श्री लालानाथ सुवेदी (भोजपुर) लाई श्रीमती गीता मञ्जुश्री अधिकारीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

डा. श्री हेमराज काफ्ले

शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा प्रकाशित १९ वटा कृतिहरूमध्ये पाठकमतका आधारमा चयन समितिबाट उत्कृष्ट मौलिक सिर्जना ठहर गरिएको ‘अक्षरहरूको बिस्कुन’ नामक कवितासङ्ग्रहका कवि डा. श्री हेमराज काफ्ले (मोरङ) लाई उक्त कृतिका लागि श्री कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा सिर्जना सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

श्री हरिविनोद अधिकारी

लामो समयसम्म शिक्षण सेवा गरी आफूले सेवा गरेका शिक्षालयहरूको स्थायीत्व तथा शैक्षिक गुणस्तर बृद्धिका लागि अनवरत प्रयत्न गर्नुका साथै पत्रकारिताका माध्यमबाट जनचेतना बढाउन अहम् भूमिका पनि निर्वाह गर्नुभएकोमा श्री हरिविनोद अधिकारी (सिन्धुली) लाई सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा शिक्षक सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

श्रीमती नवीना श्रेष्ठ

लामो समयसम्म नेपालको बैङ्किङ क्षेत्रमा प्रबन्धक बनी प्रशासनिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै विभिन्न साहित्यिक कृतिहरूको सिर्जना गरी साहित्यसेवीको समेत परिचय कायम गराएर अनुकरणीय महिला बन्न सफल हुनुभएकोमा श्रीमती नवीना श्रेष्ठ (ललितपुर) लाई श्रीमती उर्मिला श्रेष्ठ ‘भोजपुरे’ द्वारा व्यवस्थापित शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

बाबा विश्वनाथ

नेपालका विभिन्न स्थानहरूमा धार्मिक यज्ञ, सत्सङ्ग शिविर, मन्दिर–निर्माण, आध्यात्मिक प्रवचन, नैतिक शिक्षाको प्रसार आदिका माध्यमबाट नेपाली समाजलाई आत्मिक र बौद्धिक रूपमा सचेत र जाग्रत बनाई सामाजिक जागरण गराउनुभएकोमा बाबा विश्वनाथ (सिन्धुपाल्चोक) लाई श्री आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

 

शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति, २०७६ पाउने छात्रा
रन्जिता उप्रेती, काभ्रे भुम्लुटारकी छात्रा । काभ्रे बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत । छात्रवृत्तिको राशी रु. १०,०००।–

सुदर्शन थापालाई आभारपत्र
शब्दयात्रा प्रकाशनद्वारा बनेपामा स्थापना गरिएका पाँचजना शब्दसाधकहरू नेपालका प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लाकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कारप्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको सालिक कुशलतापूर्वक निर्माण गरिदिनुभएकोमा सालिक–कलाकार श्री सुदर्शन थापालाई आभारपत्र प्रदान गरिएको छ र भविष्यमा पनि उहाँबाट यस्तै सहयोगको अपेक्षा गरिएको छ ।

आजको कार्यक्रमका प्रमुख अतिथि
प्रा. डा. वासुदेव त्रिपाठी ः अग्रज समालोचक ।

आजको कार्यक्रमका विशेष अतिथि
भरत जङ्गम ः भ्रष्टाचारविरोधी अभियन्ता ।

सार्वजनिक हुने कृतिका कृतिकारहरू
सहदीप पलान्चोके ः ‘श्रीस्वस्थानी व्रतकथा’ का सङ्कलक । पदम दाहाल ः ‘बादलका तरेलीहरू’ का कवि । हरि मञ्जुश्री ः ‘डा. इन्दुल केसीको चौथो आयाम’ का सम्पादक । साधुराम गिरी ः ‘मान्छे, प्रकृति र भेगन’ का रचनाकार । दामोदर घिमिरे ः ‘बत्तीस कर्मयोद्धा’ का सहलेखक । श्रीधर प्याकुरेल ः ‘भोजप्रबन्ध’ का अनुवादक । गीता मञ्जुश्री ः ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ की लेखिका

सम्मानका आर्थिक व्यवस्थापकहरू
कृष्णहरि मैनाली ः राष्ट्रझङ्कार सम्मानका लागि । गीता मञ्जुश्री ः नन्दिकेश्वर अधिकारी शोध सम्मानका लागि । कल्याण लम्साल ः सिर्जना सम्मानका लागि । निर्मलाकुमारी यगोल श्रेष्ठ ः शिक्षक सम्मानका लागि । उर्मिला श्रेष्ठ भोजपुरे ः प्रशासनिक महिला प्रतिभा सम्मानका लागि । आनन्दराज श्रेष्ठ ः हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानका लागि ।

चयन समितिका सदस्यहरू
संयोजक सविता अर्याल काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । सदस्य रामप्रसाद तिमल्सिना शैक्षिक अभियन्ता हुनुहुन्छ । सदस्य गोविन्दबहादुर खड्का कवि हुनुहुन्छ ।

टहराकी बाला को ?

0

मनःरञ्जनका लागि भकुन्डेमा गए हुँदी
‘टहरा’ का टाउकामा गर्भाधान भए छँदी
बनेपामा भयो जन्म काख सहरको लिई
जन्मदर्ता भयो पूर्व धुलिखेल खुसी भई
उनै बालाश्रीको फेरि जन्मदर्ता हुँदो भयो
कम्पनीमा नयाँ नाता नाम साविककै रह्यो
चिनियो कि चिनिएन प्यारा सत्पात्र सज्जन ?
नचिनेको भए भन्छु — शब्दयात्रा प्रकाशन ।

टहराबाट जन्मेकी विदुषी

0

सामान्यतः पेटमा गर्भधारण हुन्छ । उडुसले चाहिँ टाउकोमा फुल पार्छ रे । मानिसले टाउकोमा गर्भधारण गरेको मलाई थाहा थिएन । तर अचम्म ! पुरुषको टाउकोमा गर्भाधान भएकी, टहराबाट जन्मिएकी, टाउकोचाहिँ पुरुषको भएर जन्मिएकी एउटी विदुषी । जन्मिएकी पनि अयोनिजा । योनीबाट जन्मिएकी होइन, टहराबाट । काभ्रेको भकुन्डेमा गर्भाधान भएर बनेपामा जन्मिएकी एउटी विदुषीको जन्मदर्ता धुलिखेलमा भएको थियो । तिनै कन्या चार वर्ष नपुग्दै उनको अर्को जन्मदर्ता काठमाडौँमा भयो । कुमारीले विवाहपछि थर फेरेझैँ नयाँ जन्मदर्तासँगै ती कन्याको पनि थर फेरियो । थरहरू विशेषता वा विशेषणका रूपमा पनि चर्चित छन् । यस अर्थमा ती कन्याको विशेषण वा विशेषता फेरिएको हो । म उनका बारेमा अलिकति चर्चा गर्न चाहन्छु ।
तीनजना विशिष्ट शब्दयात्री टङ्कप्रसाद शर्मा तिमल्सिना (टीपी शर्मा), हरिकुमार अधिकारी (हरि मञ्जुश्री) र रामचन्द्र हुमागार्इँ (ट.ह.रा.) भकुन्डेमा भेट हुँदा उनीहरूले वाङ्मयसेवी एउटा संस्था स्थापना गर्ने सङ्कल्प गर्दै दिमागमा खाका तयार पारे । बनेपामा संस्था स्थापना भयो । धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भयो । त्यो संस्थाको नाम भयो शब्दयात्रा प्रकाशन, साझेदारी फर्म । हरि मञ्जुश्री, सकुल थापा र रमेश पौडेल त्यस संस्थाका साझेदार भए । यो घटना थियो २०६८ सालको । यही संस्था २०७० फागुन १३ गते कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडाँैमा दर्ता भयो नाम उही थर बेगल भएर । त्यो हो शब्दयात्रा प्रकाशन, मुनाफा वितरण नगर्ने वाङ्मयसेवी संस्था । साझेदारी संस्थाको सट्टा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा यो खडा भयो । यही शब्दयात्रा प्रकाशनको महाप्रबन्धकका हैसियतमा म यस प्रकाशनको परिचय गराउँदैछु ।
बाबुआमा, अभिभावक, गुरुगुरुमाले पढाइदिए भने हामी गर्वसाथ भन्छौँ मैले पढेको छु । शब्दयात्रा प्रकाशन यस्तै गर्व गर्नेमध्येको एक हो । कृष्णमणि कुइँकेल र गीता कुइँकेलजस्ता दानी दम्पतीबाट बनेपा नगरपालिकाभित्र नगरपालिका भवनबाट दुई किलोमिटर पर पनि नपुग्दै राजमार्गको छेउमा पाँच आनाभन्दा बढी जग्गा निःशुल्क प्राप्त भएकाले हामी सगर्व भन्ने गर्छौं शब्दयात्रा प्रकाशनले आफ्नै जग्गामा शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने दीर्घकालीन गुरुयोजना तयार पारेर काम गरिरहेको छ । जग्गा भए पनि प्रकाशनले आफूले भवन बनाइनसकेको अवस्थामा त्यस्तो भवन नबनेसम्मका लागि स्थानीय समुदायले डोरीको पटुका पानीको सामल गरी बनाएको एउटा सामुदायिक भवन कार्यालय सञ्चालन गर्न भनेर यस प्रकाशनलाई निःशुल्क उपलब्ध गराएको हुनाले हामी सगर्व भन्ने गर्छौं शब्दयात्रा प्रकाशनको कार्यालय बनेपामा सञ्चालित छ । यसै गरी विभिन्न १८ महानुभावहरूमध्ये कसैले एकमुष्ट एक लाख रुपियाँ र कसैले वार्षिक दस–दस हजार रुपियाँ उपलब्ध गराएर शब्दयात्रा सम्मान समर्पण कोष व्यवस्था गरिदिनुभएकाले हामीले सगर्व भन्न पाएका छौँ शब्दयात्रा प्रकाशनले हरेक वर्ष वाङ्मय क्षेत्रका १८ विधाका एक–एकजना गरी १८ जनालाई शब्दयात्रा सम्मान समर्पण गर्ने गर्दछ । यस्ता थुप्रै कार्यक्रमहरू हामीले सञ्चालन गर्न पाएका छौँ ।
शब्दयात्रा प्रकाशन कम्पनी ऐन, २०६३ अनुसार नाफा वितरण नगर्ने प्रतिबद्धतासाथ नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको नितान्त वाङ्मयसेवी संस्था हो । यसले वाङ्मयी व्यवसायका रूपमा सशुल्क एवं निःशुल्क वाङ्मय सेवा गर्छ । वाङ्मय सेवाका लागि आफूले अघि सारेका योजनाका निमित्त दाताले निःसर्त दिन चाहेको सहयोग स्वीकार गर्छ । प्राप्त स्रोत र सुविधाको हिसाब राख्छ । कानुनअनुसार त्यसको अभिलेख राख्ने, लेखापरीक्षण गराउने र विवरणहरू प्रकाशित गर्ने काम गर्छ । सहयोगीहरूबाट जति जुट्न सक्छ, त्यति गर्छ । तर बचत अर्थात नाफा भएको रकम कसैलाई वितरण गर्दैन । प्रकाशनकै खातामा राख्छ र प्रकाशनकै काममा खर्च गर्छ । यस प्रकाशनको आफ्नै प्रबन्धपत्र र नियमावली छ । स्वतन्त्र अस्तित्व रहेको यो कानुनी व्यक्तित्व हो, जो कहिल्यै मर्दैन ।
यस संस्थाको उद्देश्य हो पुस्तक तथा पत्रपत्रिका प्रकाशन र बिक्रीवितरण गर्ने, प्रसारण माध्यमहरूको स्थापना र सञ्चालन गर्ने, सेवाग्राहीका प्रकाशनसम्बन्धी सामग्रीहरू तयार पारिदिने, विभिन्न विधाका सम्मानहरूको स्थापना र समर्पण गर्ने, साहित्य, पत्रकारिता, शिक्षा, कलाकारिता विधाहरूसँग सम्बन्धित गोष्ठी, प्रदर्शनी, सम्मेलन आदि गर्ने, पुस्तक–पत्रिकाको बिक्रीवितरण, प्रकाशन एवं प्रसारण माध्यमसँग सम्बन्धित अत्यावश्यक खरिद बिक्री गर्ने, विशिष्ट प्राज्ञिक व्यक्तित्वहरूको बृद्धावस्था सुखद पार्न काभ्रेमा विशेष केन्द्रको निर्माण र सञ्चालन गर्ने, मुद्रणसम्बन्धी व्यवस्था गर्ने, पुस्तकालय निर्माण गर्ने आदि ।
यिनै उद्देश्य प्राप्तिका लागि यस प्रकाशनले जग्गा, भवन, सवारीसाधन र आवश्यक उपकरण सहयोगस्वरूप प्राप्त गर्ने, भोगाधिकार प्राप्त गर्ने, खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्ने, कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवाका शर्तहरू निर्धारण गर्ने, आफ्नो नाममा बैँक तथा वित्तीय संस्थामा खाता खोल्ने र सञ्चालन गर्ने, बैँक वा कुनै वित्तीय संस्थाबाट धितो राखी वा नराखी कर्जा लिने, इच्छुक व्यक्ति एवं सरकारी तथा गैरसरकारी स्वदेशी एवं विदेशी सङ्घसंस्थाबाट प्राप्त आर्थिक तथा भौतिक सहयोग स्वीकार गर्न सक्ने अधिकार पाएको छ ।
यस प्रकाशनले ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिका प्रकाशन गरिरहेको छ । ‘अक्षरधाम’ साहित्यिक मासिकको व्यवस्थापन गरिरहेको छ । शब्दयात्रा सम्मान कोष स्थापना गरी हरेक वर्ष १८ लब्धप्रतिष्ठित कर्मयोद्धा, सर्जकहरूमा सम्मान समर्पण गर्ने गरेको छ । शिक्षा, साहित्य, पत्रकारिता, आमसञ्चार, विज्ञान–प्रबिधि, सामाजिक–जागरण, शोध–अनुसन्धान, प्रशासनिक महिला आदि विभिन्न विधामा हालसम्म सवा सयभन्दा बढी महामना व्यक्तित्वहरूमा सम्मान समर्पण भइसकेको छ । यो प्रक्रिया निरन्तर रहनेछ । हरेक वर्ष जेठ, असोज र माघमा समर्पण गरिने सम्मानमा रु. ५,०००।– नगदसहित किरीट, अभिवन्दनापत्र र पुस्तक उपहार प्रदान गरिन्छ । यसका लागि कोष स्थापना र खर्च व्यवस्थापनका निमित्त विभिन्न महानुभावहरूबाट रकम प्राप्त हुने गरेको छ । कोष बृद्धि कार्यक्रम निरन्तर छ । सम्मानित व्यक्तित्व चयनका लागि हरेकपटक पत्रिका र रेडियोमार्फत सार्बजनिक सूचना प्रकाशन गरी योगदानको विवरणसहित उपयुक्त नाम प्रस्ताव गर्न आम नागरिक, पाठक, प्रबुद्धवर्गमा आह्वान गरिन्छ । त्यसरी उपलब्ध नामहरूमध्येबाट योगदानका आधारमा उच्चतम व्यक्तित्व चयन गर्न प्रबुद्ध व्यक्तित्वहरू रहेको सम्बन्धित विषय विशेषज्ञ पर्ने गरी चयन समिति गठन गरिएको हुन्छ । सो समितिले सिफारिस गरेका व्यक्तिलाई शब्दयात्रा प्रकाशनको निर्णयले शब्दयात्रा सम्मान समर्पण गर्ने व्यवस्था छ । हरेक पटकको सम्मान समर्पणका अवसरमा ‘नेपालभूमि’ मा विशेषाङ्क प्रकाशन गर्ने गरिएको छ ।
शब्दयात्रा प्रकाशनले कृष्ण–गीता परिसर नाम दिइएको आफ्नै जग्गा बनेपा – ६, नीलकण्ठेश्वरधाम नजिकै नेपालका विशिष्ट व्यक्तित्व गीत रेकर्ड गर्ने प्रथम महिला मेलवादेवी गुरुङ, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, राष्ट्रिय स्तरको पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारती र औपचारिक शिक्षाका लागि निजी स्तरबाट विद्यालय स्थापना गर्ने प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारीको सम्मानमा अर्धकदको सालिक स्थापना गरिएको छ । नेपालभरमै यो एउटा अपूर्व कर्म हो । पाँच मूर्धन्य व्यक्तित्वको सालिक एकै ठाउँमा अन्त कहीँ छैन । त्यसै ठाउँमा शब्दयात्रा शारदा मन्दिर निर्माणको चरणमा छौँ । सरस्वतीको मूर्ति स्थापना र प्राणप्रतिष्ठा भइसकेको छ । मन्दिर बनाउन दाताको प्रतीक्षामा छौँ । दीर्घकालीन गुरुयोजनाअन्तर्गत प्रकाशनले आफ्नै पुस्तकालय पनि स्थापना गरेको छ । यसलाई बहुआयामिक अनुसन्धानको नमुना केन्द्र बनाउन हामी कृत सङ्कल्पित छौँ । अवश्य बन्छ भन्ने विश्वास पनि हामीमा छ । प्रकाशनको प्रशासकीय भवन बन्दैछ । स्थानीय किताबसिंह लामो भवन बनाइदिने हुनुभएको छ । प्रकाशनले हालसम्म सवा सय पुस्तक प्रकाशन गरिसकेको छ । दैवी विपत्तिमा परेका र स्वास्थ्य समस्याले पीडित वाङ्मयसेवीहरूलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोष स्थापना गरिएको छ । यस कोषमा दैनिक रु. १।– देखि जतिसुकै रकम जोसुकैले सहयोग गर्न सक्नेछन् । प्रकाशनले हरेक वर्ष आफ्नो आम्दानीबाट निश्चित रकम यस कोषमा जम्मा गर्ने नीति लिएको छ । यसका लागि दानपात्रमा तीन भिन्न व्यक्तिले छुट्टाछुट्टै एकएकवटा ताल्चा लगाइराख्ने र निश्चित मितिमा सञ्चालक समितिको रोहबरमा अन्य स्वतन्त्र व्यक्तिसमेत साक्षी राखी तीनैजना उपस्थित भई ताल्चा खोली रकम गनी कोषको बैँक खातामा जम्मा गर्ने व्यवस्था छ । बैङ्क खाता प्रकाशनका अध्यक्ष, सदस्य र महाप्रबन्धक गरी तीनजनाको संयुक्त दस्तखतमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ । इच्छुक सहयोगीहरूले बैँक खातामा सिधै रकम जम्मा गर्न पनि सक्नेछन् ।
शब्दयात्रा प्रकाशनले आफ्नै र अरू सङ्घसंस्थाका साहित्यिक कार्यक्रमहरू सञ्चालन गरिदिने गरेको छ । छन्द–प्रशिक्षण, साहित्य–लेखन, व्याकरण अभ्यास, भाषिक क्षमता विकासजस्ता तालिम र गोष्ठीहरू सञ्चालन गर्ने गरेको छ । धुलिखेलमा समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमा जीवित अवस्थामै राखिदिएको छ । साप्ताहिक ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रम प्रसारण गरेको छ । ‘शब्दसौगात’ नामको वृत्तचित्र बनाएको छ । श्रम, सीप र सिर्जनाद्वारा समाजमा उदाहरणीय प्रेरक व्यक्तित्वका रूपमा रहेका कर्मयोद्धाहरूका भोगाइ र प्रयासहरू नयाँ पुस्तामा जानकारी गराई समाजमा सकारात्मक सन्देश पु¥याउने उद्देश्यले हरेक हप्ता ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम गर्ने र संवादमा अभिव्यक्त विचारलाई पुस्तकमा प्रकाशित गर्ने गरेको छ । यस कार्यक्रमको प्रभावकारिता बढ्दै गएकाले अन्य जिल्लामा समेत यसको माग भइरहेको छ । हामी यसलाई इच्छुक जिल्लामा विस्तार गर्ने योजनामा छौँ । हाम्रा कार्यक्रमहरूलाई गति दिन समुदायका सबै वर्गलाई यथोचित परिचालन गर्ने उद्देश्यले शब्दयात्रा नारी स्रष्टा समाज, शब्दयात्रा पत्रकार समाज, शब्दयात्रा लेखक समाज, शब्दयात्रा पाठक समाज, शब्दयात्रा विश्वसम्पर्क समाज, शब्दयात्रा कलाकार समाज, शब्दयात्रा विद्यार्थी समाज, शब्दयात्रा शिक्षक समाज जस्ता विभिन्न विधागत समाज स्थापना गरी प्रकाशनका गतिविधिहरू अघि बढाउने गरिएको छ । संस्थाका हरेक गतिविधिका विषयमा र संस्थासँग सम्बन्धित लेखक–पत्रकारहरूका विषयमा जानकारी गराउन धधध।कथउगदष्अिबतष्यल।अयm।लउ नामक वेभसाइट सञ्चालन गरिएको छ । त्यही वेभसाइटमा ब्लग पनि राख्न थालिएको छ । यसले शब्दयात्रा प्रकाशनलाई संसारभरिको सूचना–सञ्जालसँग जोडेको छ । प्रकाशनले पुस्तक–पत्रिका बिक्री वितरण गर्न विशेष छुटसहितको शब्दयात्रा घुम्ती पुस्तक पसल सञ्चालन गरेको छ । विभिन्न पुस्तकालयहरूलाई पुस्तकहरू निःशुल्क उपलब्ध गराएको छ । कारागारका कैदी–बन्दीहरूमा नैतिक र आध्यात्मिक चेतना जगाउन विभिन्न पुस्तकहरू निःशुल्क वितरण गरेको छ । सहयोगी महानुभावहरूको अभिलेख राख्ने र उहाँहरूलाई आभारपत्र प्रदान गरी सम्मान गर्ने गरिएको छ । कम्तिमा पाँच हजार एक सय रुपियाँ एकमुष्ट सहयोग गर्ने महानुभावको नाम ताम्रपत्रमा राख्ने हाम्रो प्रतिबद्धता छ । संंस्थाका गतिविधिहरू, आर्थिक, प्रशासनिक कामहरूको निर्दिष्ट ढाँचामा अभिलेख राख्ने, लेखापरीक्षण गराउने र सम्बद्ध निकायमा आवश्यकतानुसार प्रस्तुत गर्ने गरिएको छ । हरेक वर्ष शब्दयात्रा दानशीलता सम्मान, शब्दयात्रा कर्मशीलता पुरस्कार र शब्दयात्रा द्रोणपुष्प छात्रवृत्ति पनि अर्पण गर्ने गरेका छौँ ।
प्रकाशनको दर्घिकालीन गुरुयोजनाका रूपमा शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने कार्यक्रम छ । यस योजनाअन्तर्गत जग्गा प्राप्त गर्ने, प्राप्त जग्गामा विभिन्न भौतिक संरचनाहरू निर्माण गर्ने र ती संरचनाहरूमा पुस्तकालय, सङ्ग्रहालय, अभिलेखालय, वाचनालय, अनुसन्धानशाला, वाङ्मयसेवी आश्रम, स्वास्थ्योपचार केन्द्र, साहित्यबाटिका, सहिदबाटिका, अनुसन्धानशाला, प्रयोगशाला आदि स्थापना र सञ्चालन गर्ने हाम्रो लक्ष छ ।
यति हुँदाहुँदै पनि हाम्रो आँट र उत्साहअनुसार कदम चाल्न हामीलाई सदैव आर्थिक अभाव खड्किरहेको छ । कार्यालय सञ्चालनका लागि कर्मचारी व्यवस्था गर्न, भौतिक निर्माणका लागि निर्माण सामग्री खरिद र ज्याला वितरण गर्न हामीलाई आर्थिक अभाव छ । हामीसँग पर्याप्त जग्गा छैन । किन्ने सामथ्र्य छैन । हामीले अहिलेसम्म कुनै पनि तहबाट सरकारी अनुदान पाएका छैनौँ । हाम्रो व्यवहार देखेर केही आश्वासन भने पाउन थालेका छौँ ।
दुःखसाथ भन्नुपर्छ हामीले चाहेर पनि निरन्तरता दिन नसकेर शब्दसञ्चार साप्ताहिक रेडियो कार्यक्रम र घुम्ती पुस्तक पसल स्थगित गरेका छौँ । ‘अक्षरधाम’ साहित्यिक पत्रिकालाई व्यवस्थित र नियमित गर्न सकिएको छैन । ‘विद्यार्थीसँग शब्दयात्रा’ कार्यक्रम पनि निरन्तर छैन । नियमित आर्थिक स्रोत भएमा हामी यस्ता कार्यक्रमलाई कार्यरुपमा परिणत गर्न दृढ छौँ । कोही सक्षम र इच्छुक हुनुहुन्छ भने हामी स्वागत गर्दछौँ ।
नेपालकै नमुना संस्थाका रूपमा परिकल्पना गरिएको शब्दयात्रा प्रकाशन र यसले अघि सारेको दीर्घकालीन गुरुयोजनाले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्वको गौरवयोग्य कार्य गर्न सक्ने विश्वाससाथ लागिपरेका छौँ । हाम्रो साथमा साथ दिन, हातमा हात मिलाउन बढीभन्दा बढीको सहभागिता र सहयोग अपेक्षित छ । धन भएर होइन मन भएर मात्र हामीले यो अजङको पहाड उठाउने प्रयत्न गरेका हौँ । यतिन्जेल जसरी सहयोग पाइरहेका छौँ त्यसैगरी दीर्घकालसम्म सहयोग जुटिरह्यो भने हामी थाक्दैनौँ । हामीप्रति विश्वास भएरै हो व्यक्तिव्यक्तिबाट लाखौँ रुपियाँ बराबरको सहयोग जुटेको । हामी यो विश्वासलाई डगमगाउन दिने छैनौँ । बरु खुला मनले सहयोग गर्न सबैमा अनुरोध गर्दछौँ । हामी सदैव यहाँहरूको सुझाब, सहयोग र सहकार्यको अपेक्षा एवं सम्मान गर्दछौँ ।
नेपालकै नमुना संस्थाका रूपमा निर्माण सम्पन्न गर्ने परिकल्पना गरिएको यस योजनाले मुलुकको बौद्धिक–प्राज्ञिक क्षेत्रमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्न सक्ने हाम्रो विश्वास छ । केही कार्ययोजनाहरू शुरू भइसकेका छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्वको गौरव गर्न लायक यस्ता योजनाहरूमा सकेसम्म सबैको सहभागिता र सहयोग हुनु शोभनीय हुने ठान्दछौँ । त्यसैले यस योजनाको सफलताका लागि जसले जसरी सक्नुहुन्छ, त्यसैगरी सहयोग पु¥याइदिन शब्दयात्रा प्रकाशन सबैमा अनुरोध गर्दछ । हामी सबै शब्दयात्री हाँै । हाम्रो यात्रा अविच्छिन्न चलोस् । हामी सबैको जय होस् ।

सम्पादकीय : शब्दको यात्रामा

0

शब्दयात्रा प्रकाशनले हरेक वर्ष तीनपटक सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गर्दछ । ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिका यसै संस्थाबाट प्रकाशित हुने गरेकाले हरेक समारोहको अवसरमा दुई पृष्ठलाई ‘सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष पृष्ठका रूपमा प्रकाशित गर्ने गरेको छ । यसपटक यो संस्था नवौँ वर्षमा प्रवेश गरेको छ । यसपटक पनि दुई पृष्ठलाई विशेष पृष्ठ बनाइएको छ ।
शब्दयात्रा प्रकाशनले आठ वर्षभित्रमा समाजसेवी कृष्णमणि कुइँकेलबाट बनेपामा पाँच आना जग्गा दानमा प्राप्त गरेको छ । नीलकण्ठेश्वरधाम संरक्षण समितिबाट कार्यालय निःशुल्क पाएको छ । रामचन्द्र हुमागाईंबाट ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाको स्वामित्व निःशुल्क पाएको छ । सम्मानकोषका लागि बाह«जनाले एक–एक लाख रुपियाँ राखिदिनुभएको छ । हरेक वर्ष १८ विधाका सम्मानहरू राष्ट्रिय व्यक्तित्व तथा संस्थाहरूमा समर्पण गरिरहेको छ । विभिन्न लेखकका १२५ वटा पुस्तकको प्रकाशन गरिसकेको छ । सरस्वतीको मूर्ति राखी प्राणप्रतिष्ठा गरिसकेको छ । पुस्तकालयको स्थापना गरेको छ । निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार, भाषा–साहित्य क्षेत्रमा लागेर सहिद बनेका प्रथम साहित्यिक सहिद, पहिलोपटक गीत रेकर्ड गरेकी गायिका र राष्ट्रिय पुरस्कार पाउने पहिलो वैज्ञानिकको अर्धकदको सालिक स्थापना गरेको छ । समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमा जीवित अवस्थामै स्थापना गरेको छ । वेभसाइट सञ्चालन गरेको छ । वृत्तचित्रको निर्माण गरेको छ । यी कार्यहरूले निरन्तरता पाउने कुरामा यो संस्था विश्वस्त छ ।

कर्मचारीको आवश्यकता

0

शब्दयात्रा प्रकाशनका लागि केही कर्मचारीको आवश्यकता परेकाले इच्छुक व्यक्तिहरूले शैक्षिक योग्यता, नागरिकता र छ भने अनुभवको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी निवेदन दिनुहोला । अन्तर्वार्ताका दिन सक्कल प्रमाणपत्र ल्याउनुपर्नेछ ।
पद : कार्यालय सहायक
सङ्ख्या : केही
योग्यता : १० जोड २ उत्तीर्ण
विशेष ग्राह्यता : साइकल वा मोटर साइकल चलाउन जान्ने र कम्प्युटरमा नेपाली टाइप गर्न जान्ने
तलब र अन्य सुविधा : आपसी समझदारीमा
निवेदन दिने अन्तिम मिति : २०७६ जेठ २८ गते मङ्गलबार
अन्तर्वार्ता मिति : २०७६ जेठ ३० गते बिहीबार

शब्दयात्रा प्रकाशन
नीलकण्ठेश्वर, २८ किलो, बनेपा — ६, काभ्रे

रोजगारीका लागि राम्रो मौका

0

— तपाईंले + २ उत्तीर्ण गर्नुभएको छ ?
— तपाईंसँग केही गर्नुपर्छ भन्ने उत्साह र जोसजाँगर छ ?
— तपाईंसँग सामथ्र्य, आत्मविश्वास र इमानदारी छ ?
— तपाईंलाई लेखन, प्रकाशन, लेखाप्रणाली र व्यवस्थापन क्षेत्रमा रुचि छ ?
— तपाईंलाई कम्प्युटरका सामान्य प्रोग्रामहरूका बारेमा थाहा छ ?
— तपाईंले रोजगारीका लागि राम्रो मौका खोज्नुभएको छ ?
छ भने हामीसँग सम्पर्क राख्नुहोस् । तपाईंलाई सहयोग गर्न हामी तयार छौं ।

शब्दयात्रा प्रकाशन
बनेपा, काभ्रे
दूरभाषाङ्क : ०११–४१५२१५, ९७४१०६२१९०

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (पहिलो) का सदस्य तथा शुभेच्छुक सहयात्री जीवनचन्द्र कोइराला दायित्व वाङ्मय प्रतिष्ठानबाट ११ हजार रुपियाँ राशीसहित ‘मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा नेपाल अडिटर्स एसोसिएसन काभ्रेको सल्लाहकार समितिको संयोजक चयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार